Taja Samachar Nepal

Taja Samachar Nepal
News

Friday, October 2, 2015

नाकाबन्दीको बढी असर भारतीय कम्पनीमा

काठमाडौं: युनिलिभर इन्डियाले गत वर्ष नेपालबाट ६० करोड रुपैयाँ लाभांश लग्यो। सूर्य नेपालले भारतीय कम्पनी इन्डियन टोब्याको (आईसीटी) लाई रोयल्टीबापत वार्षिक २४ करोड रुपैयाँ तिर्छ।
 
संविधान निर्माणपछि असन्तुष्टि जनाएको भारतले नेपालमा नाकाबन्दी गरेका कारण त्यसको असर भारतीय लगानीका कम्पनी र उद्योगमा बढी पर्ने देखिएको छ।
सुर्खेतमा रहेको जीएमआरको कार्यालयमा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन्। माथिल्लो कर्णालीको निर्माण गर्ने जिम्मा जीमएमआरले पाएको छ। 
 
नेपालमा सञ्चालन भएका विदेशी लगानीका उद्योग र प्रष्ठिानमा भारतीय लगानीको हिस्सा बढी छ। नेपालमा आएको कुल वैदेशिक लगानीमा एक तिहाइ हिस्सा भारतको छ।
 
उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७०÷०७१ सम्म दर्ता भएका दुई हजार नौ सय ५९ वटा विदेशी लगानीका उद्योगमध्ये भारतीय लगानीमा पाँच सय ८८ वटा उद्योग छन्। नेपालमा कुल विदेशी लगानी एक खर्ब १५ अर्ब रुपैयाँमध्ये भारतले ४४ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ। 
 
उद्योग विभागको तथ्यांकले पनि अन्य मुलुकको तुलनामा नेपालमा भारतीय लगानी बढी भएको देखाउँछ।लगानीसँगै भारतीय कम्पनीले लग्ने मुनाफा पनि आकर्षक छ। उदाहरणका रूपमा युनिलिभिरमा चुक्ता पुँजी १० करोड रुपैयाँ छ। 
 
यसमा ८० प्रतिशत लगानी युनिलिभिर इन्डियाको रहेको छ। २० प्रतिशत लगानी नेपाली लगानीकर्ताको छ। यसका आधारमा युनिलिभिरले नेपालमा आठ करोड लगानीबाट अघिल्लो वर्ष ६० करोड लगेको थियो। 
 
यो वर्ष युनिलिभर इन्डियाले ७२ करोड लाभांश लैजाने देखिन्छ। अघिल्लो वर्ष युनिलिभरले एक अर्ब मुनाफा कमाएको थियो।नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीमा सबैभन्दा बढी सेयरको मूल्य पनि युनिलिभरको छ। 
नेपालमा सञ्चालन भएका विदेशी लगानीका उद्योग र प्रष्ठिानमा भारतीय लगानीको हिस्सा बढी छ। नेपालमा आएको कुल वैदेशिक लगानीमा एक तिहाइ हिस्सा भारतको छ।
यसको सेयर प्रतिकित्ता ३० हजार पर्छ भने सबैभन्दा बढी लाभांश दिने कम्पनी पनि युनिलिभर नै हो।यस्तै एभरेस्ट बैंकमा भारतीय पन्जाब नेसलन बैंकको २० प्रतिशत लगानी छ । नेपाल एसबीआई बैंकमा ५५ प्रतिशत स्वामित्व स्टेट बैंक अफ इन्डियाको छ।
 
पन्जाब नेसनल बैंकले र स्टेट बैंक अफ इन्डियाले पनि नेपालबाट धेरै लाभांश भारत लगेका छन्। यो वर्ष चुक्ता पुँजी बढाउने राष्ट्रबैंकको नीतिले लाभांश लैजान नपाए पनि अघिल्लो वर्षसम्म आकर्षक मुनाफा भारत लगेका थिए।
 
अर्थविद डा. विश्वम्भर प्याकुरेले भारतले लगाएको नाकाबन्दीको असर दीर्घकालीन रूपमा भारतीय कम्पनीलाई नै पर्ने बताउँछन्। 'नेपालमा भारतीय लगानीको विषयमा जहिले पनि आंशका रहँदै आएको छ,' उनले भने, 'खासगरी जलविद्युत्को भारतीय लगानीमा अहिलेको नाकाबन्दीले ठूलो असर पर्न सक्छ।' 
 
दुईवटा ठूला जलविद्युत् आयोजना माथिल्लो कर्णाली र अरुण तेस्रो निर्माण गर्ने जिम्मा भारतीय कम्पनीले पाएका छन्।नाकाबन्दीले नेपालमा भारतीय लगानीको पक्षधर भनिएकालाई पनि भारत विरोधी बनाएको छ। 
 
यसको असर नेपालमा लगानी गरेका भारतीय लगानीकर्ताले भोग्नुपर्ने हुन्छ। अर्थविद् प्याकुरेल नाकाबन्दीबाट स्वाधिन अर्थतन्त्र निर्माणमा लाग्नेगरी नीति बन्नुपर्ने बताउँछन्। 
 
'२०४५ सालमा नाकाबन्दी लागेपछि स्वाधिन अर्थतन्त्रको बारेमा छलफल भए पनि पछि हरायो' , उनले भने, '२०४५ सालमा पेट्रोलियम पदार्थमा रहेको परनिर्भरता अहिले कृषि तथा खाद्यान्नमा समेत पुगेको छ।'
 
नेपालमा लगानी भएका डाबर नेपाल प्रालि बाहेक अन्य डिस्टिलरी उद्योगले पनि रोयल्टी वापत ठूलो रकम भारत लाने गरेका छन्। हिमालयन डिस्टिलरीले वार्षिक दुई करोड रुपैयाँ रोयल्टी भारतीय कम्पनीलाई तिर्ने गर्छ। 
 
यस्तै नेपाल डिस्टिलरीबाट गत वर्ष एक करोड ६१ लाख रुपैयाँ लाभांश भारत गएको थियो। रोयल्टीवापत दुई करोड जाने गरेको छ। युनाइटेड स्पिरिडले पनि वार्षिक सात करोडभन्दा बढी रकम रोयल्टीमार्फत लैजाने गरेको छ।
 
नाकाबन्दीको असर नेपाली उद्योगले पनि भोगेका छन्। नेपालका उद्योगले तेस्रो मुलुकबाट भित्र्याएको कच्चा पदार्थ पनि अहिले भारतमा रोकिएको छ। नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्मा नाकाबन्दी खुलाउने विषयमा कुटनीतिक माध्यमबाट सरकारले पहल गर्नुपर्ने बताउँछन्। 
 
'यसले नेपालमा लगानीको वातावरण बनाउने होइन बिगार्ने प्रष्ट छ,' उनले भने,'नेपालमा भएका स्वदेशी विदेशी सबै उद्योग प्रतिष्ठान नाकाबन्दीको कारण सञ्चालन हुन सक्दैनन्।'