Taja Samachar Nepal

Taja Samachar Nepal
News

Friday, October 2, 2015

माटोको ढिस्कोमा पुरिएर ६ बालबालिकको मृत्यु

धनगढी : कैलालीको दोदोधरा गाविस–७ कट्टीपुरमा शुक्रबार साँझ माटोको ढिस्कोमा पुरिएर ६ जना बालवालिकाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार दोधरा गाविस–७ कट्टीपुरकी १० वर्षीया सीता प्याकुरेल, सोही गाउँका ६ वर्षीय दीपक प्याकुरेल, ९ वर्षीय मैना सुनार, ६ वर्षीय नतिपा न्यौपाने, ७ वर्षीय किरन सुनार र ७ वर्षकै सुसान्त सुनारको ज्यान गएको छ ।

सीताको ढिस्कोमै पुरिएर ज्यान गएको हो भने बाँकी पाँचजनाको बर्दगोरिया मेडिकलमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दशैंका लागि उनीहरु घर लिपपोत गर्न कट्टीपुरमा रहेको माटो निकाल्ने ठाउँमा गएका थिए ।

एक्साभेटर लगाएर ६ जनालाई निकालिसकिएको छ भने अन्य पनि पुरिएको हुनसक्ने भन्दै प्रहरीले उद्धार जारी राखेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी विश्वराज खड्काले जानकारी दिए ।

घटनामा २ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । कट्टीपुरकै ३० वर्षीया जमुना खतिवडा र सोही ठाउँकी ३५ वर्षीया रतना खतिवडाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

दुबै घाइतेको अवस्था चिन्ताजनक भएकाले थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज रिफर गरिएको छ ।