Taja Samachar Nepal

Taja Samachar Nepal
News

Sunday, October 11, 2015

अझै पनि इन्धन बोकेका गाडी भित्रिएनन्

सोमबार पनि भारतसँग जोडिएका मुख्य नाकाबाट पेट्रोलियम पदार्थ भित्रन सकेको छैन।  हिजोदेखि नै सुचारु रहेको नेपालगञ्जको रुपडिया नाकामा सोमबार बिहान १२ बजेसम्म ४० ओटा गाडी भित्रिएका छन्। तर त्यसमा इन्धन भएका गाडीहरु छैनन्। भन्सार कार्यलयले भारततिर २८ पेट्रोलियम  र छ वटा बुलेट ग्याँस बोकेका गाडी कस्टम क्लियरको प्रक्रियामा रहेकाले साँझसम्म ती गाडी नेपाल भित्रने बताएको छ। 
 
उता पूर्वको काकँडभिट्टा नाकामा पहिलेको भन्दा सोमबार चहलपहल बढेपनि इन्धन बोकेका गाडी धेरै आएका छैनन्।  मेची भन्सार कार्यालयका प्रमुख भीमप्रसाद अधिकारीका अनुसार सोमबार १२ बजेसम्म ५६ वटा मालबाहक गाडी नेपाल प्रवेश गरेका छन्। तिमध्ये २ वटा ग्याँस बुलेट रहेका छन्। 
 
विराटनगरको जोगबनी नाका सामान्य भएपनि इन्धन भित्रन नसकेको  रानी भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले जनाएका छन्। ‘हामीले पनि यताबाट केही खाली गाडी पठाएका छौं, उताबाट पनि खाली गाडी आएका छन्‘ बस्नेतले भने ‘आन्दोलनकारीले भारतीय भूमितिर अवरोध गर्न खोजपछि उतातिर तनाव भइरहेको छ।‘ हिजो नेपाल र भारतका अधिकारीबीच भएको वार्तामा नाकामा धर्ना बसेर अवरोध गर्नेलाई दुवै पक्षले हटाउने सहमति भएको पनि उनले बताए। 
 
सुनौलीको बेहलिया नाकामा सोमबार मधेसी मोर्चाको धर्ना नभएपनि मालबाहक गाडी भने आउन सकेका छैनन्। इलाका प्रहरी कार्यालय बेहलियाका प्रहरी निरीक्षक रविनबाबु रेग्मीका अनुसार हिजोसम्म सर्वसाधारणलाई समेत सुनौली जान रोक लगाएइकोमा आजबाट सर्वसाधारण सुनौली गएर किनमेल गरिरहेका छन्। नेपालबाट केही ट्याक्टरहरु दुर्गाको मुर्ति ल्याउन भारततिर गएका छन्। सो नाकाबाट इन्धन बोकेका गाडी आउने क्रममा पनि छैनन्। 
 
मधेसवादी दलले हिजो प्रधानमन्त्री चुनावमा मतदान गरेको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनिवार्चित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएकाले सोमबारदेखि पेट्रोलियम पदार्थ धेरैमात्रामा भित्रन सक्ने अपेक्षा गरिएको थियो।