Taja Samachar Nepal

Taja Samachar Nepal
News

Wednesday, September 2, 2015

जनकपुर निषेधित घोषणा

जनकपुरधाम : आन्दोलनरत मधेशी मोर्चा तथा प्रहरीबीच झडप बढेपछि जनकपुरमा आज दिउँसो १२ बजे देखि स्थानीय प्रशासनले निषेधित घोषणा गरेको छ ।

धनुषाको सरकारी कार्यालय क्षेत्रलाई सुरक्षित राख्न जनकपुर उपमहानगपालिका–७ पुलचोकदेखि कदमचोकसम्मको बाटो, वडा नं. ४ को मशान घाटदेखि जिल्ला अदालतको बाटो र उत्तीमपुर कोलेनिका कार्यालयदेखि आन्तरिक राजश्व कार्यालय सम्मको क्षेत्रलाई  निषेधित क्षेत्र घोषणा गरिएको हो ।

स्थानीयप्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
यी क्षेत्रहरुमा पाँचजना भन्दा बढीको समूहमा हिँडडुल गर्न, सभा तथा जुलुस र प्रदर्शनमा रोक लगाइएको प्रजिअ पराजुलीले बताए  ।

बुधबार विहानैदेखि प्रर्दशनकारीले मुरली चोकस्थित जनकपुर अञ्चल प्रहरी कार्यालयलाई लक्षित गरी टायर बाली नाराजुलुश गरेपछि सयौंको संख्यामा प्रहरी खटाइएका छन् ।
सो क्षेत्रमा अहिले प्रहरी र प्रर्दशनकारीबीच ढुंगामुढा भइरहेको छ । अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेको छ ।

यता, मोर्चाका कार्यकर्ताहरुले दिउँसो २ बजेदेखि निषेधित क्षेत्रहरुमा प्रर्दशन गर्ने सद्भावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंहले जानकारी दिए । निषेधित क्षेत्रहरुमा प्रहरीको बाक्लो उपस्थिति छ ।