Taja Samachar Nepal

Taja Samachar Nepal
News

Thursday, September 17, 2015

पत्रकार डेकेन्द्र थापाको मुद्दामा पुनरावेदन अदालत सुर्खेतले जिल्ला अदालत दैलेखको फैसलालाई सदर गरेको छ ।

१ असोज, सुर्खेत । एघार वर्षअघि माओवादीबाट हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्र थापाको मुद्दामा पुनरावेदन अदालत सुर्खेतले जिल्ला अदालत दैलेखको फैसलालाई सदर गरेको छ ।यसअघि जिल्ला अदालत दैलेखले अभियुक्तहरुलाई अधिकतम दुई वर्षसम्म कैद सजाय सुनाउने फैसलालाई नै पुनरावेदन अदालतले सदर गरिदिएको छ ।
दुवैपक्षले पुनरावेदन गरेको यो मुद्दामा सुनुवाई गर्दै न्यायाधीशद्वय रमेशराज भण्डारी र राजेन्द्र पोखरेलको संयुक्त इजलासले यसअघि जिल्ला अदालत दैलेखले गरको फैसलालाई सदर गरेको हो ।
गएको वर्ष मंसिर २१ गते जिल्ला अदालत दैलेखले डेकेन्द्रको हत्यामा संलग्न रहेको ठहर गर्दै पाँच जना माओवादी कार्यकर्तालाई कैद सजाय सुनाएको थियो ।जिल्ला अदालतको फैसलामा अभियुक्तहरु हरिलाल पुन, निरकबहादुर घर्ती र जयबहादुर शाहीलाई दुई–दुई वर्ष कैद सजाय तोकिएको थियो ।
यस्तै माओवादी कार्यकर्ताहरु लक्षिराम घर्तीलाई एक वर्ष ६ महिना र वीरबहादुर केसीलाई एक वर्षको कैद सजाय हुने जिल्ला अदालतले फैसला गरेको थियो । सोही फैसलालाई पुनरावेदन अदालतले समेत सदर गरेको छ । उनीहरु सबैलाई सर्वश्वसहित जन्मकैदको माग गरिएको थियो ।


Wednesday, September 16, 2015

८ दशमलव ३ म्याग्नेच्युडको भूकम्पका

सान्टियागो, भदौ ३१ । दक्षिण अमेरिकी देश चिलीमा ठूलो भूकम्प गएको छ । ८ दशमलव ३ म्याग्नेच्युडको भूकम्पका कारण राजधानी सान्टियागोमा भवनहरुमा क्षति पुगेको छ ।सान्टियागोदेखि करिब २ सय ४६ किलोमिटर उत्तर–पश्चिमको तटीय क्षेत्रमा भूकम्प गएकाले सुनामी आउने चेतावनी दिइएको छ । प्यासेफिक सुनामी वार्निङ सेन्टरले सूनामीको
चेतावनी दिएको हो ।अहिलेसम्म मानवीय क्षतिको खबर आएको छैन । भूकम्पको केन्द्र पृथ्वीको सतहदेखि पाँच किलोमिटरमात्र तल रहेको बताइएको छ ।अमेरिकी अधिकारीहरुका अनुसार बुधबार स्थानीय समय अनुसार साँझ ७ः५४ मा भूकम्प गएको हो

अब संविधान जारी गर्न विश्वका कुनै पनि शक्तिले रोक्न नसक्ने

काठमाडौं, भदौ ३० । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अब संविधान जारी गर्न विश्वका कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन् ।
एमाओवादी नेता पोष्टबहादुर बोगटीको प्रथम वार्षिकीका अवसरमा बुधबार पार्टी मूख्यालयमा आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधानसभाबाट संविधान बनाउने विषय सामान्य प्रक्रियामात्र नभई पार्टीकै मिसन भएको बताए । उनले पार्टीले भनेजस्तो संविधान नआए पनि यो मिसन सफल पार्न सबैसँग आग्रहसमेत गरे ।
दाहालले पहिलो संविधानसभाभन्दा दोस्रो संविधानसभामा पार्टीको हैसियत कम रहे पनि धेरै माग राख्न खोज्दा प्राप्त उपलब्धि पनि गुम्न सक्ने खतरा देखिएकाले आफूहरु सहमतिमा आएको बताए । उनले एकीकृत माओवादीभित्र धेरै समस्या रहेको भन्दै संविधान जारी भएपछि पार्टी एकीकरण र सुदृढ पार्ने अभियान सञ्चालन गर्ने जानकारी दिए ।

Tuesday, September 15, 2015

संघीयतामा मुलुक गएपछि अनेक खालका आशंका

काठमाडौं, भदौ ३० । संघीयतामा मुलुक गएपछि अनेक खालका आशंका पनि गरिएको छ । एउटा प्रदेशको नागरिक अर्को प्रदेशमा जादा के हुन्छ ? उसले के कस्ता नियम पालना गर्नुपर्छ ? कतै पासपोर्ट पो बनाउन पर्ने होकी ? भन्ने खालका समेत आशंकहरु प्रशस्त मात्रामा उव्जीएका छन । तर नया बन्ने संविधानमा ती सबैआशंकाहरुलाई प्रष्टसंग हटाइएको छ ।
एउटा प्रदेशको नागरिक आफ्नो देशको जुनसुकै प्रदेशमा गएपनि उसले सो प्रदेशका नागरिकले पाउने सबैखाले सुविधा पाउने व्यवस्था संविधानमा गरिएको छ ।
संविधानको परिमार्जित बिद्येयकको धारा २३३को उपधारा उपधारा ३ मा एक प्रदेशले अर्को प्रदेशको बासिन्दालाई आफ्नो प्रदेशको कानुन बमोजिम समान सुरक्षा व्यववहार र सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । संविधानको धारा २३३ मा यस्तो व्यवस्था गरिएको छ ।
प्रदेश–प्रदेश बीचको सम्बन्ध:
(१) एक प्रदेशले अर्को प्रदेशको कानूनी व्यवस्था वा न्यायिक एवं प्रशासकीय निर्णय वा आदेशको कार्यान्वयनमा सहयोग गर्नु पर्नेछ ।
(२) एक प्रदेशले अर्को प्रदेशसँग साझा चासो, सरोकार र हितको विषयमा सूचना आदान प्रदान गर्न, परामर्श गर्न, आफ्नो कार्य र विधायनका बारेमा आपसमा समन्वय गर्न र आपसी सहयोग विस्तार गर्न सक्नेछ ।
(३) एक प्रदेशले अर्को प्रदेशको बासिन्दालाई आफ्नो प्रदेशको कानून बमोजिम समान सुरक्षा, व्यवहार र सुविधा उपलब्ध गराउनु पर्नेछ ।

आङकाजी शेर्पाले मानसिक सन्तुलन गुमाएको उनका समर्थकले आरोप लगाए

काठमाडौं, ३० भदौ । सामाजिक सदभाव विगार्ने गरी अभिव्यक्ति दिएको भन्दै दुई हप्ता प्रहरी हिरासतमा बसेका जनजाति नेता आङकाजी शेर्पाले मानसिक सन्तुलन गुमाएको उनका समर्थकले आरोप लगाएका छन् ।
यसअघि सामाजिक सञ्जालमार्फत जथाभावी लेखेर सद्भाव भड्काउन खोजेको भन्दै जनजाति महासंघका पूर्व महासचिव समेत रहेका शेर्पालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको थियो ।
प्रहरी हिरासतमा धरौटीमा छुटे लगत्तै सामाजिक फेसबुकमा अर्काे वितण्डा मच्चाएपछि समथर्कले उनलाई मानसिक सन्तुलन गुमाएको आरोप लगाएका हुन् ।
उनले आज बुधबारमात्रै आफ्नो फेसबुकबाट गुगल ब्वाई आदित्य दाहाल र आन्दोलनमा प्रहरीको गोली लागेर मारिएका ४ वर्षीय बालक कुन्दनको फोटो राखेर राज्यले विभेद गरेको सन्देश दिएका छन् ।
उनले लेखेका छन् :
बाहुन वालक र मधेसी वालक बीचको विभेद ।
(१) यो बाहुन बालक आधित्यको शैसवकाल नेपालमा वित्यो ।
हाँसी खेली सरकारको सहयोगमा अमेरिकामा उपचार अवसर मिल्यो ।
(२) यो मधेसी बालक कुन्दनको शैसवकाल नेपालमा वित्यो ।
आफनै घर आँगनमा खेल्दा प्रहरीले गोली हानी हत्या गर्यो
(३) एकल बाहुन जातिय राज्य नेपालमा भएको यो निर्मम जातिय विभेद ।
शान्तिपूर्ण आन्दोलनमाथीको वर्वरतापूर्ण दमनप्रति व्यक्त गरौ सबैले खेद ।
उनले यस्तो लेखेपछि समर्थकहरुले कडा शब्दमा आलोचना गरेका छन् । केहीले भने उनको यो सन्देशमा समर्थन समेत जनाएका छन् । तर, अधिकांशले आलोचना गरिरहेका छन् ।
आङकाजीका समर्थक उमेश भट्टराई लेख्छन्-‘आङकाजी शेर्पालाई साच्चिकै मानसिक रोग लागेको छ सरकारले केही गर्नुपर्यो । बीस हजार धरौटीमा रिहाई हैन देशबाट आङकाजी जस्तो ‘देशद्रोही’लाई बिदाई हुनुपर्यो नेपालमा एउटा यस्तो कानुन चाहियो कि यो आङकाजी जस्तो व्यक्तिलाई सिधै फाँसीको सजाय हुनुपर्यो आज मधेसीबाट मधेस लुटिएको छ पहाडीबाट पहाड लुटिएको छ । आज एउटा नेपालीले अर्को नेपालीलाई बाहुन शेर्पा मगर राई लिम्बू नेवार कामी दमाई सार्की सुनुवार गुरुङ तामाङ सबै जातिगत जालोमा हाल्दै छ्न । यो सबै साधरण जनताबाट छुट्टिएको भने हैन यो सबै आङकाजी जस्तो जनतालाई लडाएर खान पलकेका ले खोजेको राज्य हो आज तिमीलाई जाति छुट्टाउनु सजिलो छ । आङकाजी सेर्पा जी तर आज बिदेशमा भएका नेपाली जनतालाई हेर त्यहा एउटा रुममा हिमाली पहाडी तराई मधेसी कामी दमाई सार्की सेर्पा बाहुन तामाङ नेवार मगर सबै हुन्छन अब सोच तिमी के यहाँ सबैले तिमीले जस्तै जातीय छुट्याउनु थाले भने एउटा रुम भित्र कतिलाई राज्य र जाति मा बिभाजन गर्नु सकनु हुन्छ आङ काजी सर ?
राजेन्द्र रेग्मी लेख्छन्–‘यो फेरि भुक्न थाल्यो, भदौमा आँखा फुटेको गोरु जस्तो अस्ति टिकापुरमा २ बर्षीय बालक मरेको पनि देख्न सक्नुपर्छ समानता बादी नेताले ।’  अर्का समर्थक समिर अर्याल लेख्छन्-‘यो फेरि ‘बौलाहा’ भयो । लाज सरम नभएको ? यस्तोलाई सरकारमा राखनु कति सम्म गल्ती होला ।’
सागर गौतम लेख्छन्-‘देशमा बिध्वंश मच्चाउन खोज्दैछौ केही नेताहरू, नेपालको सरकारमा ब्राह्मण मात्र छैनन्, ब्राह्मण भन्दा ज्यादा अरु जाति र बर्गका को शंख्या ज्यादा छ । किन ब्राह्मणवाद भनी राको छौ ? देशमा हिंसा मच्चाउन किन खोज्दै छौ, देशद्रोहीहरु ? ब्राह्मण÷क्षेत्रीको त्यतिकै डाहा लाग्छ भने आँफूमा त्यो नेतृत्वको बिकास गर, न कि अरुको सामर्थ्यको बिरोध । जहाँसम्म यी दुई बालकका कुरा छ, देशमा अशान्ति मच्चाउदै आफ्ना सन्तानलाई गोलीको अगाडी ठेल्नेको कसरी सहयोग गर्नु ? सरकारसंग सहयोग माग्नेलाई न सहयोग गरिन्छ ।’
उनका समर्थकका यस्ता आलोचना र उनको यस्तो सन्देशले नेपाली समाजको सदभावलाई खलल पु¥याउने सामाजिक अगुवाहरुको ठहर छ । यस्तै, सन्देशहरु लेख्दै गए प्रहरीले फेरि उनलाई गिरफ्तार गर्न सक्ने अगुवाहरु बताउँछन् ।
यस्तो छ सामाजिक सञ्जाल फेसबुकमा लेखिएको सन्देश:
ang-kaji-statush

भतिजी पर्ने खोटाङकी एक युवतीसँंग शारीरिक सम्पर्क भएपछि हत्या

काठमाडौं: नाताले भतिजी पर्ने खोटाङकी एक युवतीसँंग शारीरिक सम्पर्क भएपछि जन्मिएको बच्चा मारेको अभियोगमा प्रहरीले कोटेश्वर बस्ने हीराधन राईलाई पक्राउ गरेको छ। 
 
खोटाङबाट पढ्न आएकी ती युवती र राई एउटै कोठामा बस्दै आएका थिए। उनीहरूबीच कोठामा सँगै बसेपछि शारीरिक सम्पर्कसमेत भयो। गर्भवती युवतीलाई छाडेर राई वैदेशिक रोजगारका लागि कतार गए।
 
युवतीले बच्चा जन्म दिइन्। दुई वर्षको छोरालाई पालनपोषण गर्दै आएकी ती युवती काममा जान्थिन्। आइतबार पनि बच्चा राईको जिम्मा लगाएर युवती काममा गईन्। साँझ घर फर्कंदा छोरा घाइते अवस्थामा देखेर राईलाई सोध्दा सुटकेसबाट लडेर घाइते भएको जबाफ दिए। उपचारका लागि दुईवर्षे बालकलाई मीनभवनस्थित सिभिल अस्पताल लगिए पनि सिभिलले वीर अस्पतालमा उपचारका लागि रिफर गर्‍यो। 
 
उपचारकै क्रममा बालकको मृत्यु भयो। युवतीले बालकको अस्वभाविक मृत्यु नभएर हत्या भएको किटानी जाहेरी दिइन्।महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डीएसपी दानबहादुर कार्कीका अनुसार अनुसन्धानका क्रममा बालकको सुटकेसबाट खसेर घाइते नभएर राईले कुटपिट गरेको पत्ता लाग्यो। 
 
'बालकको मृत्यु हुनेबित्तिकै फरार राई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याउँदा त्यहाँ आएका उनलाई पक्राउ गरियो', डीएसपी कार्कीले भने। राईले बच्चालाई कुटपिट गरेको स्वीकार गरे। राईविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको जानकारी कार्कीले दिए।



शिवको आराधनासहित हिन्दु नारीहरुले महान चाड तीज आज

काठमाडौं, भदौ ३० । बुधबार ब्रत बसेर भगवान शिवको आराधनासहित हिन्दु नारीहरुले महान चाड तीज मनाइरहेका छन् ।
सखीहरुद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास ब्रतलाई हरितालिका तीज भनिएको हिन्दू धर्ममा पाइन्छ ।हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि
श्री महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरुले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले महादेव स्वामी पाऊँ भनी निर्जल ब्रत बसेको हुनाले यसलाई हरितालिका ब्रत भन्ने गरिएको पुराणमा वर्णन गरिएको छ ।हिन्दू नारीहरुको महान् धार्मिक पर्वका रुपमा लिइने हरितालिका ब्रतमा पतिको लामो आयुको कामना गरी निराहार बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरुप दीप, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर ब्रत तोड्ने परम्परा छ ।परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दू नारीहरु निराहार र निर्जल बसी यस दिन भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको ब्रत बस्ने गर्दछन् ।भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।
                 दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने ब्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रुपमा मीठामीठा परिकार खाने चलन छ ।तीजको दर खान विशेष गरी माइतीले छोरी–चेलीलाई बोलाउने र विवाहित महिलाले आफ्नो अटल सौभाग्यका लागि छोरीचेलीलाई चुरापोते प्रदान गर्नेजस्ता चलन पनि यस पर्वमा गरिन्छ । यस चाडलाई नारी स्वतन्त्रताको प्रतीकका रुपमा पनि लिने गरिन्छ ।सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको काठमाडौंको पशुपति, दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका शिव मन्दिरहरुमा बिहानैदेखि घुँइचो लागेको छ ।शिवको आराधनासहित महिलाहरुले तीज गीतको भाकामा आफ्ना वर्र्षभरिका पीडा पोख्दै गीत गाउने र नाच्ने गर्दछन् । यस अवसरमा सरकारले महिलाका लागि बिदा पनि दिने गरेको छ ।