Taja Samachar Nepal

Taja Samachar Nepal
News

Tuesday, September 1, 2015

वीरगन्जमा आन्दोलनकारीले दुइ वटा सवारी साधनमा आगजनी

पर्सा: पर्साको वीरगन्जमा आन्दोलनकारीले दुइ वटा सवारी साधनमा आगजनी गरेका छन्। उनीहरुले आन्तरिक राजस्व कार्यालयमा राखिएको बा १ झ २७ २५ नम्बरको सेन्ट्रो कार ना १झ ७९१ नम्बरको बलेरो जीपमाथि आगजनी गरेका हुन्। 
आन्दोलनकारीले बिहानैदेखि कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन गरिरहेका छन्। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले वीरगञ्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा सोमबार दिउँसो ४ बजेबाट नै अनिश्‍चितकालिन लगाएको कर्फ्यु लगाए पनि आन्दोलनकारीले भने कर्फ्युको उल्लंघन गर्दै पर्साको लक्ष्मणवा चोक, गण्डक, मुर्ली, छपकैंयालगायतका स्थानमा प्रदर्शन गरिरहरेका छन्।
प्रहरी र आन्दोलनकारीबीचको झडपमा परी मंगलबार १५ जना आन्दोलनकारी घाइते भएका छन्। यसअघि सोमबार भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको थियो भने ३५ जना घाइते भएका थिए। 


नयाँ संविधानमा हिन्दु राष्ट्र कायम गर्न माग गर्दै राप्रपा नेपालले संविधानसभा घेराउ

काठमाडौं, भदौ १५ । राप्रपा नेपालले संविधानसभा घेराउ गर्दैछ । मध्यान्ह दशरथ रंगशालाबाट निस्किएको जुलुस माइतीघर हुँदै नयाँ बानेश्वरमा पुगेर संविधानसभा घेराउ गरेको हो ।
नयाँ संविधानमा हिन्दु राष्ट्र कायम गर्न माग गर्दै राप्रपा नेपालले संविधानसभा घेराउ कार्यक्रम आयोजना गरेको हो । हिन्दु राष्ट्र कायम नभएसम्म संघर्ष जारी राख्ने सो पार्टीले जनाएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाको नेतृत्वमा कार्यकर्ताहरु संविधानसभा घेराउमा सहभागी भएका छन् ।
संविधानसभा आसपास सुरक्षाकर्मीको बाक्लो उपस्थिती छ । प्रहरीले नयाँ बानेश्वर चोक आसपास जुलुस प्रदर्शनमा रोक लगाएको छ ।

Monday, August 31, 2015

राजेन्द्र महत्तोले आन्दोलन झन् चर्काउने चेतावनी दिए



वीरगन्ज, भदौ १५ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले सरकारले तराईको आन्दोलनमा दमन जारी राखे आन्दोलन झन् चर्काउने चेतावनी दिएका छन  ।
मंगलबार नारायणी उपक्षेत्रीय अस्पताल बीरगञ्जमा सोमबार प्रहरीको गोली लागेर मृत्यु भएका दीलिप चौरसियाको परिवारलाई भेट गर्दै महतोले सरकारले तत्काल आफ्नो व्यवहार नधुसारे वार्ता समेत नहुने बताएका छन् ।
उनले मधेशका सबै जनता सडकमा ओर्लने र त्यसलाई सरकारले रोक्न नसक्ने समेत चेतावनी दिए ।
उनीसंगै रहेका उपाध्यक्ष लक्ष्मणलाल कर्णले मृतक चौरसियालाई शहीद घोषणा र क्षतिपूर्तिको पहल भईसकेको जानकारी दिए ।

संयुक्त मधेशी मोर्चाले आह्वान गरेको तराई बन्द आज १८ औं दिन

बारा, भदौ १५ । बाराको कलैयामा पनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि तनाव भने कायमै छ|कलैयामा अहिले बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ अवस्थामा रहेका छन् । आन्दोलनकारीहरुले बिहानैदेखि कलैयाका चोकमा बसेर प्रदर्शन सुरु गरेका छन् । बाराको भरतचोकमा पनि आन्दोलनकारी लाठीसहित बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् । उता, संयुक्त मधेशी मोर्चाले आह्वान गरेको तराई बन्द आज १८ औं दिनमा पुगेको छ । बन्दका कारण सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको जनजीवन प्रभावित बन्दै आएको छ । आन्दोलनका क्रममा दिनहुँ हुने प्रदर्शन र बन्दले गर्दा यि जिल्लामा यातायातको साथै कलकारखाना, बजार, शैक्षिक संस्थाहरु समेत ठप्प बनेका छन् ।



Saturday, August 29, 2015

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सबै यात्रु भन्सार जाँचपास नगराई बाहिरिए ।

काठमाडौं : भन्सारमा कर्मचारी नै नभएका कारण टर्किस एयरको विमानबाट आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सबै यात्रु भन्सार जाँचपास नगराई बाहिरिए । सुरक्षा सम्बद्ध स्रोतका अनुसार इस्तानबुलबाट आएको टिके ७२६ उडानबाट एक सय ४४ जना उत्रिएका थिए । विमान बिहान ६ बजेर २० मिनेट जा“दा विमानस्थलमा अवतरण गरेको थियो ।
यात्रुहरू अध्यागमनको क्लियरेन्स लिएर भन्सार क्षेत्रमा पुग्दा त्यहाँ कर्मचारी थिएनन् । वाक थ्रु, एक्सरे मेसिन पनि चलेका थिएनन् । ‘सबै यात्रु भन्सार जाँचपास नगराई विमानस्थलबाट निस्केका थिए,’ सुरक्षा सम्बद्ध अधिकारीले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा साढे ७ बजेसम्म एकजनामात्र कर्मचारी थिए ।’ सुरक्षा निकायले कर्मचारी नभएको जानकारी दिएपछि ८ बजे विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक भूपाल बराल हस्याङ्फस्याङ गर्दै पुगेका थिए ।वाकथु्र, एक्सरेमार्फत राजस्वको मात्र हैन सुरक्षाका दृष्टिकोणले समेत चेकजाँच गर्ने काम विमानस्थल भन्सारको हुन्छ । कसैले हतियार, विस्फोटक पदार्थ ल्याउन खोजेको रहेछ भने पनि पत्ता लगाउने भन्सारले हो । ‘यस्तो संवेदनशील कुरामा भन्सार कर्मचारी संवेदना शून्य देखिए,’ सुरक्षा अधिकारीले भने ।भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले कर्मचारीको चरम हेलचेक्र्याइँ देखिएको स्वीकार्दै सम्बद्ध सबै कर्मचारीलाई सचेत गराउनुका साथै स्पष्टीकरण सोधिएको बताए । भन्सार अधिकृतद्वय परशुराम दाहाल र राजनबाबु काफ्लेसहित ३० जनालाई स्पष्टीकरण सोधिएको छ ।
विमानस्थलमा प्रमुख भन्सार अधिकृत (उपसचिव) नेतृत्वमा भन्सारको टोली परिचालित हुन्छ । यात्रुको बढी चाप हुने बेलामा २५–३० जना कर्मचारी परिचालित हुन्छन् ।प्रमुख भन्सार अधिकृतले ढिलो आउने पूर्वसूचना गरी अरूलाई समयमा पुग्न अराएकाले उनको गल्ती नदेखिएको महानिर्देशक ढुंगानाले बताए । ‘सर्सती बुझ्दा कुनै षड्यन्त्रभन्दा पनि रक्षाबन्धन गरेर घरबाट हिँडेका कारण अफिस ढिलो पुगेको देखियो,’ उनले भने । यसबारे भोलि नै छानबिन समिति पनि गठन गरिने उनले जनाए ।
राजस्व सचिव राजन खनालले गल्तीलाई गम्भीरतापूर्वक लिएर कारबाहीको प्रक्रिया तुरुन्त सुरु गरिएको बताए । बिदा र पर्वको दिन भए पनि बिहान ९ बजे नै मन्त्रालयमा बैठक गरेर कारबाहीको प्रक्रिया सुरु गरिएको थियो । छानबिनपछि गल्ती देखिएका माथि हदैसम्मको कारबाही हुने उनको भनाइ थियो ।‘निलम्बन गरेर छानबिन अघि बढाउने कि भनेर छलफल गर्दा कानुनअनुसार निलम्बन गर्न नसकिने देखियो,’ उनले भने । सुरक्षा निकायले कर्मचारीशून्य भने पनि केही कर्मचारी पुगेको देखिएको उनले बताए । ‘वाकथु्र र एक्सरेमा चाहिँ कर्मचारी अनुपस्थित भएका हुन सक्छन्,’ उनले भने ।


नेपाली विद्यार्थी विदेश जाँदा वार्षिक करिब १२ अर्ब रुपैयाँ बाहिरिएको

१३ भदौ, काठमाडौं । अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जाँदा वार्षिक करिब १२ अर्ब रुपैयाँ बाहिरिएको छ । विदेश अध्ययनमा जाने विद्यार्थी संख्या गत आर्थिक वर्षमा हालसम्मकै धेरै छ । शिक्षा मन्त्रालयका अनुसार गत आव ०७१/७२ मा ३० हजार ६ सय ९६ विद्यार्थीले विदेश अध्ययनका लागि नो अब्जेक्सन लेटर लगेका छन् ।विदेश जाने विद्यार्थीले करिब १२ अर्ब रुपैयाँ सटही गरेर विदेशी मुद्रा बाहिर लगेका छन् । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्था विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले पछिल्लो समयमा विदेश अध्ययनमा जान विदेशी मुद्रा सटही गर्नेको संख्या निकै बढेको बताए । ढुंगानाका अनुसार विदेश अध्ययनमा जान ०७१/७२ मा ११ अर्ब ८० करोड ९८ लाख रुपैयाँबराबरको विदेशी मुद्रा सटही भएको छ । शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएपछि मात्र विद्यार्थीले विदेश अध्ययनमा जान विदेशी मुद्रा सटही सुविधा पाउने व्यवस्था रहेको  छ ।राष्ट्र बैंकको पाँच वर्षयताको तथ्यांकमा सबैभन्दा बढी आव ०७१/७२ मै सर्वाधिक धेरै रकम सटही भएको उल्लेख छ । राष्ट्र बैंकका अनुसार ०७०/७१ मा नौ अर्ब ६९ करोड ६४ लाख रुपैयाँ, ०६९/७० मा ६ अर्ब ३४ करोड २३ लाख रुपैयाँको विदेशी मुद्रा सटही भएको छ । त्यस्तै, ०६८/७९ तीन अर्ब ८८ करोड ८९ लाख र ०६७/६८ मा तीन अर्ब ६२ करोड ५६ लाख रुपैयाँको विदेशी मुद्रा सटही भएको तथ्यांक छ । तीन वर्षयता विदेश अध्ययनमा जाने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ ।
             पछिल्ला वर्षमा जापानमा भाषा अध्ययन गर्न सहज रूपमा जान पाउने भएपछि विदेश जानेको संख्या बढेको हो । गत आवमा सबैभन्दा बढी आकर्षण जापान र अस्ट्रेलियामा देखिएको छ । जापानका लागि नौ हजार चार सय ५७ र अस्ट्रेलियाका लागि आठ हजार आठ सय ४४ जनाले नो अब्जेक्सन लेटर लगेको शिक्षा मन्त्रालयले जनाएको छ । नेपाली विद्यार्थीको तेस्रो रोजाइमा अमेरिका परेको छ ।अमेरिकाका लागि तीन हजार एक सय पाँचजनाले नो अब्जेक्सन लेटर लगेका छन् । भारतका लागि एक हजार ६ सय ४२ ले नो अब्जेक्सन लेटर लगेका छन् । तर, भारतमा अध्ययन गर्न जाने धेरै विद्यार्थीले नो अब्जेक्सन लेटर लिने गरेका छैनन् । यसैगरी, मलेसियामा एक हजार १२, बंगलादेश आठ सय ६५, चीनमा सात सय ५२, डेनमार्कमा सात सय ४२, जर्मनीमा चार सय ३१ र पोल्यान्डका लागि चार सय ३० जनाले नो अब्जेक्सन लेटर लगेको मन्त्रालयको तथ्यांक छ । अध्ययनका लागि नेपाली विद्यार्थी ७६ वटा देशमा पुगेको मन्त्रालयको रेकर्ड छ ।



छ महिनाकै अवधिमा २०८ चेलीलाई उद्धार

भद्रपुर, १३ भदौ । माइती नेपाल कांकरभिट्टा झापाले सन् २०१५ को छ महिनाकै अवधिमा २०८ चेलीलाई उद्धार गरेको छ ।
शनिबार सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणअनुसार सन् २०१४ मा एक वर्षको अवधिमा कांकरभिट्टा नाकाबाट २५० चेलीलाई उद्धार गरी १५ हजार ६५० लाई जांँच गरिएको थियो ।  माइती नेपाल कांकरभिट्टाका प्रमुख गोविन्द घिमिरेले चालु आवमा ७८ चेली हराएको निवेदन आएकामा ४० जना फेला परिसकेको जानकारी दिंँदै तीन जना बलात्कारका कारण पीडित बनेकामध्ये एक चेलीका पीडकलाई १६ वर्ष कैद र रुतीन लाख क्षतिपूर्ति ब्यहोर्ने फैसला जिल्ला अदालत झापाले गरेको जानकारी दिनुभयो ।
माइती नेपाल कांकरभिट्टाको पुनःस्थापना केन्द्रमा ४० जनाको क्षमता रहेकामा हाल पाँच चेली मात्र रहेको बताइएको छ ।
असहाय बालबालिका र विदेशमा बेचिएका चेलीलाई उद्धार गरी पुनःस्थापना गर्ने उद्देश्यले २०५३ सालमा झापाको कांकरभिट्टामा शाखा स्थापना गरी सो क्षेत्रमा काम गर्दै आएको सो संस्थाले भारतको सिलोङ, सिलिगुडी, जलपाईगुडी, मुम्बइलगायत अन्य सहर र बंगलादेशबाट पनि नेपाली चेलीलाई उद्धार गरिसकेको छ ।
सो अवसरमा प्रजिअ तेजप्रसाद पौडेलले अत्यन्त जोखिम र संवेदनशील रहेको यो क्षेत्रमा माइती नेपालले गर्दै आएको योगदान अतुलनीय छ भन्नुभयो । स्थानीय विकास अधिकारी फणीन्द्र दाहालले चेलीबेटी ओसारपसार हुने क्षेत्रमा सचेतनाको कार्यलाई तीव्रता दिनुपर्ने औँल्याउँदै पूर्वी नेपालको प्रवेशद्वार कांकरभिट्टामा निगरानी बढाउन सुझाव दिनुभयो ।