Taja Samachar Nepal

Taja Samachar Nepal
News

Saturday, August 29, 2015

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सबै यात्रु भन्सार जाँचपास नगराई बाहिरिए ।

काठमाडौं : भन्सारमा कर्मचारी नै नभएका कारण टर्किस एयरको विमानबाट आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सबै यात्रु भन्सार जाँचपास नगराई बाहिरिए । सुरक्षा सम्बद्ध स्रोतका अनुसार इस्तानबुलबाट आएको टिके ७२६ उडानबाट एक सय ४४ जना उत्रिएका थिए । विमान बिहान ६ बजेर २० मिनेट जा“दा विमानस्थलमा अवतरण गरेको थियो ।
यात्रुहरू अध्यागमनको क्लियरेन्स लिएर भन्सार क्षेत्रमा पुग्दा त्यहाँ कर्मचारी थिएनन् । वाक थ्रु, एक्सरे मेसिन पनि चलेका थिएनन् । ‘सबै यात्रु भन्सार जाँचपास नगराई विमानस्थलबाट निस्केका थिए,’ सुरक्षा सम्बद्ध अधिकारीले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा साढे ७ बजेसम्म एकजनामात्र कर्मचारी थिए ।’ सुरक्षा निकायले कर्मचारी नभएको जानकारी दिएपछि ८ बजे विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक भूपाल बराल हस्याङ्फस्याङ गर्दै पुगेका थिए ।वाकथु्र, एक्सरेमार्फत राजस्वको मात्र हैन सुरक्षाका दृष्टिकोणले समेत चेकजाँच गर्ने काम विमानस्थल भन्सारको हुन्छ । कसैले हतियार, विस्फोटक पदार्थ ल्याउन खोजेको रहेछ भने पनि पत्ता लगाउने भन्सारले हो । ‘यस्तो संवेदनशील कुरामा भन्सार कर्मचारी संवेदना शून्य देखिए,’ सुरक्षा अधिकारीले भने ।भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले कर्मचारीको चरम हेलचेक्र्याइँ देखिएको स्वीकार्दै सम्बद्ध सबै कर्मचारीलाई सचेत गराउनुका साथै स्पष्टीकरण सोधिएको बताए । भन्सार अधिकृतद्वय परशुराम दाहाल र राजनबाबु काफ्लेसहित ३० जनालाई स्पष्टीकरण सोधिएको छ ।
विमानस्थलमा प्रमुख भन्सार अधिकृत (उपसचिव) नेतृत्वमा भन्सारको टोली परिचालित हुन्छ । यात्रुको बढी चाप हुने बेलामा २५–३० जना कर्मचारी परिचालित हुन्छन् ।प्रमुख भन्सार अधिकृतले ढिलो आउने पूर्वसूचना गरी अरूलाई समयमा पुग्न अराएकाले उनको गल्ती नदेखिएको महानिर्देशक ढुंगानाले बताए । ‘सर्सती बुझ्दा कुनै षड्यन्त्रभन्दा पनि रक्षाबन्धन गरेर घरबाट हिँडेका कारण अफिस ढिलो पुगेको देखियो,’ उनले भने । यसबारे भोलि नै छानबिन समिति पनि गठन गरिने उनले जनाए ।
राजस्व सचिव राजन खनालले गल्तीलाई गम्भीरतापूर्वक लिएर कारबाहीको प्रक्रिया तुरुन्त सुरु गरिएको बताए । बिदा र पर्वको दिन भए पनि बिहान ९ बजे नै मन्त्रालयमा बैठक गरेर कारबाहीको प्रक्रिया सुरु गरिएको थियो । छानबिनपछि गल्ती देखिएका माथि हदैसम्मको कारबाही हुने उनको भनाइ थियो ।‘निलम्बन गरेर छानबिन अघि बढाउने कि भनेर छलफल गर्दा कानुनअनुसार निलम्बन गर्न नसकिने देखियो,’ उनले भने । सुरक्षा निकायले कर्मचारीशून्य भने पनि केही कर्मचारी पुगेको देखिएको उनले बताए । ‘वाकथु्र र एक्सरेमा चाहिँ कर्मचारी अनुपस्थित भएका हुन सक्छन्,’ उनले भने ।


नेपाली विद्यार्थी विदेश जाँदा वार्षिक करिब १२ अर्ब रुपैयाँ बाहिरिएको

१३ भदौ, काठमाडौं । अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जाँदा वार्षिक करिब १२ अर्ब रुपैयाँ बाहिरिएको छ । विदेश अध्ययनमा जाने विद्यार्थी संख्या गत आर्थिक वर्षमा हालसम्मकै धेरै छ । शिक्षा मन्त्रालयका अनुसार गत आव ०७१/७२ मा ३० हजार ६ सय ९६ विद्यार्थीले विदेश अध्ययनका लागि नो अब्जेक्सन लेटर लगेका छन् ।विदेश जाने विद्यार्थीले करिब १२ अर्ब रुपैयाँ सटही गरेर विदेशी मुद्रा बाहिर लगेका छन् । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्था विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले पछिल्लो समयमा विदेश अध्ययनमा जान विदेशी मुद्रा सटही गर्नेको संख्या निकै बढेको बताए । ढुंगानाका अनुसार विदेश अध्ययनमा जान ०७१/७२ मा ११ अर्ब ८० करोड ९८ लाख रुपैयाँबराबरको विदेशी मुद्रा सटही भएको छ । शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएपछि मात्र विद्यार्थीले विदेश अध्ययनमा जान विदेशी मुद्रा सटही सुविधा पाउने व्यवस्था रहेको  छ ।राष्ट्र बैंकको पाँच वर्षयताको तथ्यांकमा सबैभन्दा बढी आव ०७१/७२ मै सर्वाधिक धेरै रकम सटही भएको उल्लेख छ । राष्ट्र बैंकका अनुसार ०७०/७१ मा नौ अर्ब ६९ करोड ६४ लाख रुपैयाँ, ०६९/७० मा ६ अर्ब ३४ करोड २३ लाख रुपैयाँको विदेशी मुद्रा सटही भएको छ । त्यस्तै, ०६८/७९ तीन अर्ब ८८ करोड ८९ लाख र ०६७/६८ मा तीन अर्ब ६२ करोड ५६ लाख रुपैयाँको विदेशी मुद्रा सटही भएको तथ्यांक छ । तीन वर्षयता विदेश अध्ययनमा जाने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ ।
             पछिल्ला वर्षमा जापानमा भाषा अध्ययन गर्न सहज रूपमा जान पाउने भएपछि विदेश जानेको संख्या बढेको हो । गत आवमा सबैभन्दा बढी आकर्षण जापान र अस्ट्रेलियामा देखिएको छ । जापानका लागि नौ हजार चार सय ५७ र अस्ट्रेलियाका लागि आठ हजार आठ सय ४४ जनाले नो अब्जेक्सन लेटर लगेको शिक्षा मन्त्रालयले जनाएको छ । नेपाली विद्यार्थीको तेस्रो रोजाइमा अमेरिका परेको छ ।अमेरिकाका लागि तीन हजार एक सय पाँचजनाले नो अब्जेक्सन लेटर लगेका छन् । भारतका लागि एक हजार ६ सय ४२ ले नो अब्जेक्सन लेटर लगेका छन् । तर, भारतमा अध्ययन गर्न जाने धेरै विद्यार्थीले नो अब्जेक्सन लेटर लिने गरेका छैनन् । यसैगरी, मलेसियामा एक हजार १२, बंगलादेश आठ सय ६५, चीनमा सात सय ५२, डेनमार्कमा सात सय ४२, जर्मनीमा चार सय ३१ र पोल्यान्डका लागि चार सय ३० जनाले नो अब्जेक्सन लेटर लगेको मन्त्रालयको तथ्यांक छ । अध्ययनका लागि नेपाली विद्यार्थी ७६ वटा देशमा पुगेको मन्त्रालयको रेकर्ड छ ।



छ महिनाकै अवधिमा २०८ चेलीलाई उद्धार

भद्रपुर, १३ भदौ । माइती नेपाल कांकरभिट्टा झापाले सन् २०१५ को छ महिनाकै अवधिमा २०८ चेलीलाई उद्धार गरेको छ ।
शनिबार सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणअनुसार सन् २०१४ मा एक वर्षको अवधिमा कांकरभिट्टा नाकाबाट २५० चेलीलाई उद्धार गरी १५ हजार ६५० लाई जांँच गरिएको थियो ।  माइती नेपाल कांकरभिट्टाका प्रमुख गोविन्द घिमिरेले चालु आवमा ७८ चेली हराएको निवेदन आएकामा ४० जना फेला परिसकेको जानकारी दिंँदै तीन जना बलात्कारका कारण पीडित बनेकामध्ये एक चेलीका पीडकलाई १६ वर्ष कैद र रुतीन लाख क्षतिपूर्ति ब्यहोर्ने फैसला जिल्ला अदालत झापाले गरेको जानकारी दिनुभयो ।
माइती नेपाल कांकरभिट्टाको पुनःस्थापना केन्द्रमा ४० जनाको क्षमता रहेकामा हाल पाँच चेली मात्र रहेको बताइएको छ ।
असहाय बालबालिका र विदेशमा बेचिएका चेलीलाई उद्धार गरी पुनःस्थापना गर्ने उद्देश्यले २०५३ सालमा झापाको कांकरभिट्टामा शाखा स्थापना गरी सो क्षेत्रमा काम गर्दै आएको सो संस्थाले भारतको सिलोङ, सिलिगुडी, जलपाईगुडी, मुम्बइलगायत अन्य सहर र बंगलादेशबाट पनि नेपाली चेलीलाई उद्धार गरिसकेको छ ।
सो अवसरमा प्रजिअ तेजप्रसाद पौडेलले अत्यन्त जोखिम र संवेदनशील रहेको यो क्षेत्रमा माइती नेपालले गर्दै आएको योगदान अतुलनीय छ भन्नुभयो । स्थानीय विकास अधिकारी फणीन्द्र दाहालले चेलीबेटी ओसारपसार हुने क्षेत्रमा सचेतनाको कार्यलाई तीव्रता दिनुपर्ने औँल्याउँदै पूर्वी नेपालको प्रवेशद्वार कांकरभिट्टामा निगरानी बढाउन सुझाव दिनुभयो ।



आज गाईजात्रा पर्व मुलुकका विभिन्न शहरमा मनाईदै

काठमाडौं, भदौ १३ । आइतबार(आज) भाद्र कृष्ण प्रतिपदा, काठमाडांै उपत्यकालगायत मुलुकका विभिन्न शहरमा गाईजात्रा पर्व मनाईदै छ ।
गाईजात्रा नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व हो । यस पर्वमा वर्र्षभरी दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ ।
justify;">यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।
शहरमा गाई पाल्नेहरुले भने साच्चिकै गाईलाई सिंगारेर नगर परिक्रमा गर्छन् भने केहीले जोगीको भेष धारण गरि रंगी बिरंगी कपडा, मुखुण्डो, पेरुङाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ ।
नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन गराइन्छ भने पछिल्लो समयमा मुलुकको राजनीति तथा सामाजिक विसंगतीप्रति व्यंग्य गरेर पनि यस पर्व मनाउन थालिएको छ ।
काठमाडौ उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुबेपछि, रानीलाई सान्त्वना दिन प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक पर्‍यो भनेर देखाउन यो जात्रा निकाल्न थालेको विश्वास छ ।
काठमाडौं उपत्यकालगायत मूख्य रुपमा नेवार समुदायको बाक्लो वस्ती रहेका शहरहरु बनेपा, धुलिखेल, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौंडा र पोखरा, तानसेनमा पनि यो पर्व मनाइन्छ ।
उता, भक्तपुरमा निकालिने गाईजात्राको भने छुट्टै रौनक र आकर्षण छ । त्यहाँ आइतबारदेखि आठ दिनसम्म यो पर्व चल्दछ ।
भक्तपुरमा गाईजात्राका दिन वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाहरुको ‘साँचा’ अर्थात डोकोलाई गाईको रुपमा सिंगारेर नगर परिक्रमा गर्ने गरिन्छ भने उमेर पुगेका व्यक्तिहरुको ‘ताहामच्चा’ अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतिक बनाइ नगर परिक्रमा गर्ने चलन छ ।
त्यहाँको घिन्ताङकिसी र माँक प्याखँ अर्थात् बाँदर नाच अर्को विशेषता हो । 

Friday, August 28, 2015

सचिव, सहसचिवलाई सुविधैसुविधा, तलब ८० हजारदेखि १ लाखसम्म

सरकारले सवारीसाधन सञ्चालन तथा मर्मतको नाममा सचिव र सहसचिवलाई अथाह सुविधा दिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सवारीसाधन (सञ्चालन तथा मर्मत) निर्देशिका, ०७२ जारी गरेको हो । निर्देशिका राजपत्रमा समेत प्रकाशित गरी कार्यान्वयनमा ल्याइएको खबर आजको नयाँ पत्रिकामा सागर पण्डितले लेखेका छन्।
निर्देशिकाअनुसार अब आफैँ सवारीसाधन चलाउने सचिव–सहसचिवले चालकले पाउने १८ हजार पाँच सय रुपैयाँ तलबसँगै पाउने भएका छन् । निर्देशिकामा सचिव–सहसचिवलाई सुरुमा नयाँ गाडी दिने, सो गाडी जहाँसुकै सरुवा भए पनि लिएर जान पाउने सुविधा थप गरिएको छ।
आफ्नो तलब तथा चालकलाई दिने तलब र अन्य सवारी सुविधासहित अब सचिव तथा सहसचिवले मासिक ८० हजारदेखि एक लाख रुपैयाँसम्म बुझ्ने भएका छन्। हाल सचिव र सहसचिवको तलब ३५ देखि ४० हजार रुपैयाँसम्म छ । निर्देशिकाअनुसार नयाँ गाडी पाउने सचिव तथा सहसचिवलाई गाडी नै नबिग्रिए पनि मर्मत खर्चका नाममा मासिक पाँच हजार रुपैयाँ दिइने भएको छ।
कसैले तीन वर्षसम्म पुरानो गाडी प्रयोग गरेको भएमा मासिक मर्मत खर्च १० हजार रुपैयाँ दिइनेछ । सचिवलाई मासिक एक सय २५ लिटर पेट्रोल र सहसचिवलाई मासिक सय लिटर पेट्रोलबराबरको रकम पनि तलबसँगै भुक्तानी दिइने भएको छ । सचिव र सहसचिवले आवश्यकताअनुसार थप पेट्रोल आफ्नै कार्यालयबाट समेत पाउनेछन् । सचिव र सहसचिवले गाडीमा डिजेल, पेट्रोल, लुब्रिकेट्स, चालक खर्च, मर्मत खर्चलगायतका कुनै पनि बिल पेस गर्नुनपर्ने निर्देशिकामा उल्लेख छ ।
निर्देशिकाअनुसार सचिवलाई कार भएमा कम्तीमा १३ सय सिसी वा जिप भएमा कम्तीमा दुई हजार सिसी क्षमताको सवारीसाधन उपलब्ध गराइनेछ । सहसचिवलाई कार भएमा एक हजार सिसी र जिप भएमा दुई हजार सिसी क्षमताको उपलब्ध गराइने निर्देशिकामा छ । निर्देशिकामा सचिव–सहसचिवहरूले आफैँ गाडी चलाएमा सुविधा दिने उल्लेख छ । तर, उनीहरूले चाहेमा आंशिक रूपमा चालक राख्न पाउने व्यवस्थासमेत गरिएको छ।
स्थायी चालक दरबन्दी रिक्त भएमा सो पद स्वत: खारेज हुने व्यवस्था गरिएको छ । सचिव र सहसचिवलाई आफैँ गाडी चलाउन आवश्यक पर्ने तालिम शुल्क पनि सरकार आफैँले व्यहोर्ने निर्देशिकामा उल्लेख छ । गाडीको ब्लुबुक नवीकरणलगायतका सबै खर्च सम्बन्धित कार्यालयले नै व्यहोर्नेछन् । विभिन्न काम लिएर जिल्लामा जानुपर्ने अवस्थामा आवश्यक सबै खर्च सरकारले नै व्यहोर्ने निर्देशिकामा उल्लेख छ। 

वार्ताका लागि मधेसी मोर्चाका ९ 'सर्त'

भाद्र ११, २०७२- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ताका लागि ४ दलका केही नेताले ल्याएको संविधानको विधेयक तत्काल फिर्ता लिनुपर्नेलगायत ९ बुँदे सर्त अघि सार्ने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले बुधबार मोर्चामा आबद्ध दलका नेतालाई वार्ताका लागि समय निर्धारण गरेर पठाएको पत्रको जवाफमा मोर्चाले सर्त अघि सार्ने तयारी गरेको हो । पत्रमा प्रधानमन्त्रीले शनिबारसम्म वार्तामा आउन आग्रह गरेका छन् ।
मलंगवामा शुक्रबार मोर्चामा आबद्ध संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवको अनौपचारिक बैठकले वार्ताका सर्त तयार गरेको हो । औपचारिक बैठक बस्ने भनिए पनि साँझसम्म विरोधसभा चलेकाले हुन नसकेको हो । संविधानको मस्यौदामा रहेको संघीय संरचना, सीमांकन, नागरिकता, प्रादेशिक अधिकार, समानुपातिक समावेशी अधिकार, जनसंख्याका आधारमा निर्वाचन क्षेत्रजस्ता महत्त्वपूर्ण मुद्दा जनताको भावनाअनुरूप पुनर्लेखन गर्नुपर्ने सर्तमा रहेको स्रोतले बतायो ।

बैठकले मधेसको जिल्लामा सेना परिचालनको निर्णय तत्काल फिर्ता लिनुपर्ने, मधेस थरुहटमा आन्दोलनकारीमाथि जारी दमन तत्काल बन्द गर्नुपर्ने, कैलाली घटनापछि त्यहाँका जनतामाथि गरेको दुव्र्यवहार र दमनको छानबिन गर्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायत माग पनि राखेको छ । मोर्चाले कैलालीबाट विस्थापित स्थानीयको सकुशल फिर्ता र उनीहरूको पुनर्बासको व्यवस्था सरकारले गर्नुपर्ने, कैलालीमा राज्य संयन्त्रद्वारा बेपत्ता पारिएका स्थानीयको अवस्था तत्काल सार्वजनिक गर्नुपर्ने माग सर्तमा उल्लेख छ ।
सप्तरी, रौतहट, नवलपरासी र कैलालीमा प्रहरीको गोलीले मारिएका आन्दोलनकारीलाई सहिद घोषणा गर्नुपर्ने र मधेस आन्दोलनमा घाइते परिवारलाई तत्काल आर्थिक राहत प्रदान दिनुपर्ने माग छ । मोर्चा र तत्कालीन सरकारबीच २०६४ फागुन १६ गते गरिएको ८ बुँदे सम्झौताको कार्यान्वयनका लागि ठोस प्रतिबद्धता आउनुपर्ने अडान मोर्चाले नछाड्ने भएको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वार्ता नहुने बताए । 'निर्णय गर्न बाँकी छ,' उनले भने, 'तर वार्ता हुँदैन । राति नभए भोलि बैठक बस्छ ।' उनले वार्ता नहुनुको कारण बैठक निर्णयपछि स्पष्ट हुने उल्लेख गरे । तमसपाका अध्यक्ष महेन्द्र राय यादवले पनि वार्ता सजिलै नहुने स्पष्ट पारे । 'सजिलै वार्ता हुँदैन,' उनले भने, 'बैठकले वार्तामा जाने निर्णय गर्न गाह्रो छ ।'
प्रधानमन्त्रीले आन्दोलनरत मोर्चाका अध्यक्षलाई पठाएको पत्रमा ठूलो प्रयत्न र प्रतीक्षाप्रति संविधान निर्माणको अन्तिम चरणमा आइपुगेको अवस्थामा आन्दोलनले हत्या, हिंसा निम्त्याउनु कसैका लागि पनि स्वीकार्य र उचित नहुने उल्लेख छ । संविधान निर्माणको क्रममा छलफल र बहसलाई नै महत्त्व दिनुपर्ने कोइरालाले पठाएको पत्रमा लेखिएको छ ।

आज देशभर जनै पूर्णिमा मनाउँदै

काठमाडौं, भदौ १२ । शनिबार (आज) हिन्दू धर्मावलम्बीहरुले देशभर जनै पूर्णिमा अर्थात ऋषि तर्पणी पर्व मनाउँदैछन् ।
जनै लगाउनेहरुले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी, अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको जनै लगाउने गर्छन् ।
यस्तै सुरक्षाको लागिभन्दै नाडीमा मन्त्रिएको डोरो बाँधी रक्षाबन्धन पनि गरिन्छ । आज बाँधिएको डोरो गाई तिहारका दिन गाईका पुच्छरमा बाँधेमा मृत्युपछिको वैतरणी पार भइन्छ भन्ने जनविश्वास छ ।
यस्तै वर्षाभरको हिलोपानीमा चलेर गर्मीसर्दीले प्रभावित असरमा फेरि ऊर्जा ल्याउन भन्दै आज नौ जातका अंकुरित गेडागुडी मिसाएर पकाएको पौष्टिकतत्वयुक्त क्वाँटी खाने गरिन्छ ।
उता, रसुवाको धार्मिक तथा पबित्र तिर्थस्थल गोसाईकुण्डमा जनै पूर्णिमाको अवसरमा मेला लागेको छ ।
भगवान् शिवको वासस्थानको रूपमा हिमालयको काखमा रहेको यस गोसाइँकुण्डमा स्नान गर्नाले गरेका पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पूरा हुने जनविश्वास रही आएको छ ।
मेला भर्न देशका बिभिन्न स्थानको साथै बिदेशबाट समेत भक्तजनहरु गोसाईकुण्ड पुगेका छन् । अघिल्लो बर्षहरुको तुलनामा यस बर्ष यहाँ पुग्ने भक्तजनको संख्या भने निकै कम रहेको छ ।
भाद्र शुक्ल एकादशीदेखि सुरु भएको जनै पूर्णिमा मेला आजसम्म लाग्दछ । यस बर्ष गएको भूकम्पका कारण भक्तजनको उपस्थिति न्युन देखिएको हो । मेलाको व्यवस्थापनमा नेपाली सेना, नेपाल रेडक्रस सोसाईटी, नेपाल प्रहरी र स्काउट खटिएका छन् ।
गोसाईकुण्ड समुन्द्रीसतहदेखि चार हजार तीन सय ८० मिटरको उचाईमा रहेको छ भने यसको लम्बाई ६ सय मिटर छ भने चौडाई ३ सय ७० मिटर रहेको छ ।
त्यस्तै भाइ र बहिनीको प्रेम प्रतीकको रुपमा मनाइने रक्षा बन्धन पर्व र र जनै पूर्णिमा आज मिथिलाअञ्चल क्षेत्रमा पनि धूमधामका साथ मनाइंदै छ ।
जनकपुरको जानकी मन्दिर, राममन्दिरमा पूजापाठ गर्न श्रद्धालु भक्तजनको भीड लागेको छ । रक्षा बन्धनको अवसरमा दिदी बहिनहरुले आफ्ना दाजु भाइहरुलाई राखी बानी रक्षा बन्धन पर्व मनाइंदैछ ।
उता, पुर्बको गोसाईकुण्ड भनेर चिनिने संखुवासभाको प्रसिद्ध धार्मिक तिर्थस्थल सभापोखरीमा पनि भक्तजनको घुईचो लागेको छ ।
म्याग्दीको नागी वाराही र शिखको खयरवाराही मन्दिरमा पनि जनैपूर्णिमाको अवसरमा मेला लागेको छ ।