Taja Samachar Nepal

Taja Samachar Nepal
News

Wednesday, August 19, 2015

सुर्खेतमा फेरि चर्कियो आन्दोलन


सुर्खेत, भदौ ३ । अखण्ड मध्यपश्चिम र प्रान्तीय राज्यको राजधानी सुर्खेत हुनुपर्ने माग गर्दै आएका सुर्खेतका आन्दोलनकारीहरुले शान्त भएको प्रदर्शन फेरी चर्काउन थालेका छन् ।उनीहरुले स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शन सुरु गरेका हुन् । आन्दोलनकारीहरुले निषेधाज्ञा अवज्ञाको आन्दोलन सुरु गरेसंगै फेरि प्रदर्शन उग्र हुने देखिएको छ ।वुधबार मात्रै उनीहरुले सरकारी कार्यालय क्षेत्रमा लाग्दै आएको निषेधाज्ञा तोडेर प्रदर्शन गरेका छन् । अव देखिको आन्दोलन निषेधाज्ञा तोडेर सरकारी कार्यालय कब्जा गर्नमा केन्द्रीत रहने नागरिक संघर्ष समितिले जनाएको छ ।
समितिले सम्पूर्ण राजनीतिक दलहरुलाई पार्टीगत झण्डा त्यागेर आन्दोलनमा सहभागी हुन समेत आग्रह गरेको छ ।नागरिक संघर्ष समितिले वीरेन्द्रनगर बजारको मूख्य प्रवेशद्वार मंगलगढीचोक र वीरेन्द्रचोकमा अखण्ड मध्यपश्चिम प्रदेश लेखिएको साइन बोर्डसमेत राखेको छ ।आन्दोलनकारीले अखण्ड मध्यपश्चिम माग्दै भएको आन्दोलनका क्रममा मृत्यु भएका टिकाराम गौतम, यामबहादुर विसी र गोपालसिंह रजवारको नाममा विभिन्न चौकको नामाकरण समेत गरेका छन् ।सुर्खेतमा भएको आन्दोलन बिहीबार ११ औं दिनमा प्रवेश गरेको छ । एघार दिनदेखिको बन्दका कारण यस भेगका सर्वसाधारणको दैनिकी नराम्ररी प्रभावित बनेको छ ।सुर्खेतका शैक्षिक संस्था, कलकारखाना, बजार र यातायात समेत पूर्णरुपमा ठप्प छन् । बैंक तथा सरकारी कार्यालयसमेत नखुल्दा अत्यावश्यक काम समेत ठप्प बनेका छन् ।
यसैगरी सिंगो रुकुमलाई प्रदेश पाँचमा राख्नुपर्ने माग गर्दै आमहड्तालमा उत्रिएका रुकुमेलीहरुको आन्दोलन पनि बिहीबार एघारौं दिन प्रवेश गरेको छ ।  

Tuesday, August 18, 2015

जुम्लामा कर्फ्यु हटाइयो



जुम्ला, भदौ २ । जुम्ला सदरमुकाम खलंगामा स्थानीय प्रशासनले लगाएको  कर्फ्यु  हटाएको छ ।गत आइतबार साँझदेखि लगातार लगाईंदै आएको कर्फ्यु मंगलबार राती आठ बजेबाट स्थानीय प्रशासनले हटाएको हो ।बडिमालिका मेला र नागपञ्चमीलाई मध्यनजर गर्दै कर्फ्यु हटाइएको प्रशासनले जनाएकोछ ।स्वायत्त कर्णाली प्रदेशको माग गर्दै जुम्लामा भइरहेको प्रदर्शनले उग्र रुप लिएसँगै कर्फ्यु लगाइएको थियो ।लगातारको कफ्र्यु हटाएसँगै सर्वसाधारणलाई केही राहत भएको छ भने आन्दोलनकारी चोक चोकमा निस्केर नारा जुलुस सुरु गरेका छन् ।जुम्लाको स्थिती अझै सामान्य हुन सकेको छैन । बाक्लो संख्यामा सदरमुकामभर प्रहरी परिचालन गरिएको छ ।लगातारको बन्दले बिद्यार्थीको पढाई चौपट बनेको छ भने यातायात र विमान नचल्दा जिल्लामा खाद्यान्न अभाव भएको छ 

नौ दिनदेखिको बन्दले पश्चिमी जिल्लाहरु समेत प्रभावित :सर्वसाधारणको दैनिकी ठप्प



नवलपरासी/कपिलबस्तु भदौ २ । चितवनदेखि कञ्चनपुरसम्मको भू–भाग थरुहट प्रदेश हुनुपर्नेे माग गर्दै थरुहट संघर्ष समितिले गरेको बन्द नवौं दिनमा प्रवेश गरेको छ बनेका छन् । सबैभन्दा बढी सर्वसाधारणको दैनिकी चौपट बनेको छ ।बन्दकोकारण चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दियालगायतका जिल्लाको जनजीवन नराम्ररी प्रभावित बनेको हो ।बन्दका कारण यि जिल्लाहरुमा सवारी साधन सञ्चालन हुन सकेका छैनन् भने विद्यालय, उद्योग धन्दा, कलकारखाना, बजार ठप्प छन् ।हिमाल, पहाड, तराईको भूगोल समेटेर बनाइएको प्रदेश कुनै पनि हालतमा थारुवानका मूल आदीवासीलाई स्वीकार्य नहुने भन्दै बन्द आह्वान गरिएको हो ।
पश्चिम तराईकै केही जिल्लामा भने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बन्द पनि जोडिएको छ । दोहोरो बन्दको प्रभाव सबैभन्दा बढी कपिलवस्तु जिल्लामा देखिएको छ ।दोहोरो तर्फबाट हुने प्रदर्शनले सदरमुकाम तौलिहवा तनावग्रस्त बन्दै गएको छ । कपिलवस्तु भएर भारतबाट आउने यात्रु अहिले कृष्णनगरमै अलपत्र परेका छन् ।उता, १४ दिनदेखिको बन्दका कारण सुदूर पश्चिमको जनजीवन नराम्ररी प्रभावित बनेको छ । अखण्ड सुदुरपश्चिम पक्षधर र थारु कल्याणकारी सभाले गरेको दोहोरो बन्दको कारण यस भेगकै जनजीवन चौपट बनेको हो ।कैलाली–कञ्चनपुरलाई थारुवान राज्य बनाउनुपर्ने माग गर्दै थारु कल्याणकारी सभाले बन्दको आह्वान गरेको हो भने सुदुरपश्चिमका सात पहाडी जिल्ला अखण्ड राखिनुपर्ने माग गर्दै अखण्ड सुदुरपश्चिम पक्षधरले बन्दको आह्वान गरेका हुन् ।बन्दका कारण सुदूरपश्चिमकै ९ जिल्लामा यातायात, शैक्षिकसंस्था र बजार ठप्प बनेको छ ।

सप्तरीमा प्रहरीको गोली लागि राउतको मृत्यु

प्रहरीबिट तोडफोड र आगजनी




संयुक्त मधेसी मोर्चाले आव्हान गरेको मधेस बन्दको क्रममा मंगलबार बिहान सप्तरीको भारदहमा प्रहरी र आन्दोलकारीबीच झडपमा प्रहरीले गोली चलाउँदा एक जनाको ज्यान गएको छ। प्रहरीको गोलीबाट भारदह-१ का ३५ वर्षीय राजीव राउतको मृत्यु भएको छ। 
प्रहरीको गोली लागि दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन्। बिहानदेखि तनावपूर्ण रहेको भारदहमा प्रदर्शनकारी र प्रहरीबीचको झडपले उग्र रूप लिएपछि प्रहरीले गोली चलाएको स्थानीय प्रशासनले जनाएको छ।
प्रहरीको गोली लागि स्थानीय दीपक साह, देवनारायण विश्वासलगायत घाइते भएका छन्। अत्यन्तै चिन्ताजनक स्थिति रहेको उनीहरूलाई उपचारका लागि विराटनगर लगिएको स्थानीयबासीले जनाएका छन्।
यसैबीच प्रदर्शकारीले भारदहमा रहेको ट्राफिक प्रहरीको बिट तोडफोड र आगजनी गरेका छन्। झडपमा प्रहरीले २ दर्जन राउन्ड हवाई फायर गर्नुका साथै ३५ सेल अश्रुग्याँस प्रहार गरेको छ

Monday, August 17, 2015

अब हरेक दूतावासले कम्तीमा तीन मुलुक हेर्ने

काठमाडौ, भाद्र १ - सरकारले दूतावासको सहप्रमाणीकरण (एक्रिडियसन) हेरफेर गर्ने भएको छ । दूतावासको एक्रिडियसन व्यावहारिक नदेखिएपछि हेरफेर गर्न परराष्ट्रले सम्बन्धित दूतावासबाट राय मागेको थियो । उपलब्ध राय र मन्त्रालयको अध्ययनपछि नयाँ सहप्रमाणीकरण तयार पारिएको एक अधिकारीले बताए ।
परराष्ट्रका एक अधिकारीका अनुसार अब हरेक दूतावासले कम्तीमा तीन मुलुक हेर्ने जिम्मेवारी दिने तयारी छ । शीतयुद्धकालीन परराष्ट्र नीति तथा तत्कालीन कूटनीतिक सोचबाट सञ्चालित नीतिलाई परिवर्तन गर्दै यसको सुधारमा परराष्ट्र मन्त्रालय लागिपरेको हो ।
लामो समयदेखि बहसमा रहेको भए पनि विभिन्न राजनीतिक चासो र दल निकट राजदूतहरूको चाहनाका कारण सरकारले सहप्रमाणीकरण नीति परिवर्तन गर्न सकेको थिएन । मन्त्रालयबाट गएका राजदूतहरूले पनि सकेसम्म आफूअन्तर्गतको मुलुक छाड्न नचाहँदा र साथीभाइ रिसाउँछन् कि भन्ने मानसिकताले परिवर्तन हुन समस्या भएको थियो । मन्त्रालयले नियोगहरूलाई सम्बन्धित मुलुकमा गर्न सक्ने कामको योजनासहित खाका पठाउन निर्देशन दिएको थियो । त्यसपछि राजदूतहरूले आफू कार्यरत मुलुकको मात्र खाका पठाउँदै सहप्रमाणीकरणमा देखिएका सम्भावना पठाउँदै टाढा मुलुकमा जान असहज हुनेलगायत उल्लेख गरेपछि निर्णय गर्न सजिलो भएको हो ।
कूटनीतिक सम्बन्ध कायम भएका सबै मुलुकमा सबै देशले दूतावास खोल्दैनन् र मिलाएर सहप्रमाणीकरण गरिन्छ । नेपालले पनि यही अभ्यास गर्दै आएको छ । तर, थोरै दूतावास भएको विगतको अवस्था र अहिलेको अवस्था फरक भएकाले परिवर्तन गर्न खोजिएको परराष्ट्र अधिकारीहरूले बताए । सहप्रमाणीकरण तोकिएको मुलुक र दूतावास भएको मुलुकको द्विपक्षीय सम्बन्धका आधारमा तय गरिन्छ ।
२९ मुलुकमा नेपालका दूतावास छन् भने दुई सहर न्युयोर्क र जेनेभामा राजदूतस्तरीय नियोग छन् । यो दुवै नियोग र २९ दूतावासबाट विश्वका १ सय ३९ मुलुक हेर्ने गरिएको छ । कुनै स्थानमा एकै दूतावासले नौ मुलुकसमेत हेर्ने गरेको छ भने कुनैले दूतावास भएको मुलुक मात्र हेर्छन् । 'शीतयुद्धकालीन अवस्था र अत्यन्त कम दूतावास रहेको समयमा तोेकिएको सहप्रमाणीकरणलाई परिवर्तन गर्न लागिएको छ, यसमा सुझाव लिइरहेका छौं,' परराष्ट्रका कामु सचिव शंकरदास बैरागीले कान्तिपुरसँग भने । थप प्रभावकारी कूटनीति सञ्चालनको एक पाटोका रूपमा यसलाई पनि परिवर्तन गरेर चुस्त बनाउन लागेको उनले जानकारी दिए ।
सरकारले अहिले सबै महादेशमा आफ्नो दूतावास स्थापना गरिसकेको छ । 'राजदूत को जान्छ र ऊ कति शक्तिशाली छ, त्यसका आधारमा सहप्रमाणीकरण गरिएको अवस्था छ,' एक राजदूतले भने, 'मैले विविध कारणसहित यो मुलुक हेर्न ठीक हुन्छ अर्कोबाट राम्रो हुँदैन, खर्च पनि बढी हुन्छ । पूरा कारण र तर्कसहित पठाउँदा पनि सुनुवाइ भएको छैन ।' मलेसिया र सिंगापुर जोडिएका मुलुक हुन् तर थाइल्यान्डबाट हेरिन्छ । त्यस्तै पाकिस्तानबाट इराक हेरिन्छ, जबकि कुवेतबाट हेर्न सकिन्छ । 'अब पहिलेको जस्तो साना मुलुकबाट ठूला मुलुक हेर्न नमिल्ने भन्ने शीतयुद्धकालीन अवस्था छैन । विश्वमा धेरै परिवर्तन भइसकेका छन् तर हाम्रो सोचाइ उस्तै छ,' ती राजदूतले भने ।

सुदूर पश्चिम १३ दिनदेखि बन्द



कैलाली/कञ्चनपुर, भदौं १ । १३ दिनदेखिको बन्दका कारण सुदूर पश्चिमको जनजीवन नराम्ररी प्रभावित बनेको छ ।अखण्ड सुदुरपश्चिम पक्षधर र थारु कल्याणकारी सभाले गरेको दोहोरो बन्दको कारण यस भेगकै जनजीवन चौपट बनेको हो ।कैलाली–कञ्चनपुरलाई थारुवान राज्य बनाउनुपर्ने माग गर्दै थारु कल्याणकारीसभाले बन्दको आह्वान गरेको हो भने सुदुरपश्चिमका सात पहाडी जिल्ला अखण्ड राखिनुपर्ने माग गर्दै अखण्ड सुदुरपश्चिम पक्षधरले बन्दको आह्वान गरेका हुन् ।बन्दका कारण सुदूरपश्चिमकै ९ जिल्लामा यातायात र शैक्षिकसंस्था ठप्प बनेका छन् । पसल भने आंशिकरुपमा सञ्चालनमा छन् ।बन्दका कारण भारतबाट आउने यात्रु, दैनिक मजदुरी गरी जिविका चलाउने मजदुर र सर्वसाधारण बढी मारमा परेका छन् ।लगातारको बन्दका कारण कैलाली–कञ्चनपुरसहित पहाडी जिल्लाहरुमा इन्धन, खाद्यान्न र ग्यांसको अभाव भएको छ ।यसैबीच, सोमबार धनगढीमा थारु कल्याणकारी सभाले आयोजना गरेको आमसभालाई विभिन्न दलका नेताहरुले सम्बोधन गरेका छन् ।वैद्य माओवादीका सचिव देव गुरुङ, रानाथारु संघर्ष समितिका संयोजक मालामती राना, नेपाली काँग्रेसका सभासद तेजुलाल चौधरी लगायतले सम्बोधन गरेका थिए ।थरुहट पक्षधरको सभा अवरोध गर्न अखण्ड सुदूरपश्चिम पक्षधरले ठाउँमा ठाउँमा प्रदर्शन गरेका थिए ।केही ठाउँमा दुई पक्षबीच दोहोरो झडप समेत भयो भने प्रहरीले थुप्रै सेल अश्रुग्यास प्रहार गरेको थियो ।

संविधानको मस्यौदा बनाउन अझै केही दिन लाग्ने


काठमाडौं, श्रावण ३२ । संविधानसभाअन्तर्गतको मस्यौदा समितिले संविधानको मस्यौदा बनाउन अझै केही दिन लाग्ने जनाएको छ ।विवादित विषयमा सहमति जुट्न नसकेपछि समितिले मस्यौदा लेखनको काम निर्धारित समयमा नसक्ने जनाएको हो ।संविधानसभाले समितिलाई सोमबारसम्म मस्यौदा तयार पार्ने जिम्मेवारी दिएकोथियो ।तर शीर्ष नेताहरुले संघीयताको सिमांकनलगायतका विषयमा सहमति जुटाउन नसकेका कारण मस्यौदा समितिसमेत प्रभावित भएको हो ।
समितिको सोमबारको बैठकपछि सभापति कृष्णप्रसाद सिटौलाले मस्यौदा लेखनको काम सम्पन्न गर्न अझै केही दिन लाग्ने जानकारी दिए ।
                                       त्यसैगरी नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले असन्तुष्ट पक्षहरुसँग छलफल गरी सबैका सुझाव समेट्ने गरी काम गरिने बताए ।उनले प्रारम्भिक मस्यौदामाथि आएका सुझावलाई समेट्न र असन्तुष्ट पक्षहरुसँग वार्ता गरी मस्यौदा तयार पार्न थप केही समय लाग्ने बताए ।संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले तयार पारेको प्रतिवेदनमाथि संविधानसभामा छलफलपछि मस्यौदा समितिलाई संविधानको विधेयक तयार पार्ने जिम्मेवारी दिइएको थियो ।समितिलाई पाँच दिनभित्र विधेयक तयार पार्न संविधानसभाले निर्देशन दिएको थियो । समितिलाई दिइएको समय सीमा सोमबार सकिँदै छ ।