Taja Samachar Nepal

Taja Samachar Nepal
News

Thursday, January 21, 2016

गोली हानेपछि आत्मरक्षाका लागि जवाफ फर्कायौं’

काठमाडौं : मोरङको पुरानो सदरमुकाम रंगेलीमा बिहीबार युवा संघले गर्ने मधेस जागरण कार्यक्रम मधेसी मोर्चा र युवा संघका लागि प्रतिष्ठाको विषय बन्यो ।

रंगेलीमा युवा संघले कार्यक्रम गरेरै छाड्ने अड्डी कसेपछि मधेसी मोर्चा आफ्नो क्षेत्रमा हुन लागेको कार्यक्रमलाई बिथोल्ने भन्दै निषेधको राजनीतिमा उत्रियो ।


युवा संघका सयौं कार्यकर्ता र हजार भन्दा बढी प्रहरीको सुरक्षाबीच इलाका प्रहरी कार्यालय रंगेली नजिकै भएको कार्यक्रम बिथोल्न मोर्चाका हजारौं कार्यकर्ता सडकमा उत्रिए ।

मोर्चाका कार्यकर्ताहरु घरेलु हतियारले सुसज्जित भएर पानी ट्यांकीदेखि बसपार्कतर्फको बाटो हुँदै युवा संघको कार्यक्रमस्थलतर्फ आएपछि घटना हिंसात्मक भएको प्रहरीको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि आउने समाचार गएपछि मोर्चाले त्यो कार्यक्रम बिथोलिछाड्ने घोषणा गरेर बन्द आह्वान गरेको थियो ।

मधेसी मोर्चाले गरेको यातायात बन्द र हड्तालबीच युवा संघले बुधबार रातिबाटै तयार पार्न थालेको कार्यक्रमस्थलमा बिहीबार बिहानैबाट मोर्चाका कार्यकर्ता पस्न खोजेका थिए ।

तर, प्रहरी र युवा संघका कार्यकर्ताले कडा सुरक्षा गरेपछि मोर्चा र प्रहरीबीच रंगेली बजार र त्यस आसपासका क्षेत्रमा झडप भयो ।

मोरङ प्रहरीका अनुसार पटक पटक युवा संघको कार्यक्रमस्थलमा पस्न खोजेपछि उनीहरुलाई रोकिएको थियो ।

प्रतिष्ठाको लडाइँमा पराजित नहुनका लागि युवा संघका केन्द्रीय अध्यक्ष राजीव पहारीसहितका कार्यकर्ताहरु बुधबारबाटै रंगेली क्षेत्रमा खटिएका थिए ।

कार्यक्रमस्थल तथा रंगेली बजारमा युवा संघका कार्यकर्ता लाठीसहित खटिएका थिए । तर स्थानीप प्रशासन र प्रहरीको सक्रियताले बुधबार पनि सम्भावित झडप टरेको थियो ।

पटक पटक रोक्दा पनि मोर्चाका कार्यकर्ताले कार्यक्रम बिथोल्ने उद्घोषसहित सुरक्षा घेरा तोड्न खोजेपछि झडप शुरु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी तारिणीप्रसाद लम्साल आत्मरक्षाका लागि बाध्य भएर गोली चलाउनुपरेको बताउँछन् ।

उनका अनुसार मोर्चाका कार्यकर्ताहरु खुकुरी, लाठी, भाला र तीर बोक्दै अघि बढेपछि झडप हुन पुगेको हो ।

उनका अनुसार रंगेलीको पानी ट्यांकीदेखि बसपार्कको बाटो हुँदै युवा संघको कार्यक्रमस्थलतर्फ मोर्चाका कार्यकर्ता आएपछि गोली चलाउनुपरेको हो ।

‘प्रहरीमाथि कटुवा पेस्तोलबाट मोर्चाका कार्यकर्ताले चार राउन्ड गोली हाने’, उनले अन्नपूर्ण अनलाइनसँग भने, ‘अन्य घरेलु हतियार भाला, तीर, खुकुरी, लाठी र भालासहित आएपछि मानवीय क्षति रोक्न तथा आफ्नो पनि जीवन रक्षाका लागि प्रहरीले गोली चलाएको हो ।’

प्रहरीसँगको झडपका क्रममा रंगेलीकै ६२ वर्षीया द्रौपदी चौधरीको ज्यान गएको छ । प्रहरीले मोर्चाका कार्यकर्ताले उनलाई पनि प्रदर्शनमा सहभागी गराएको जनाएको छ ।

तर, मोर्चाले भने उनी प्रदर्शनमा सहभागी नभइ छिमेकीकहाँ भएको एक पूजा कार्यक्रममा सहभागी हुन जाँदै गरेको अवस्थामा प्रहरीबाट मारिएको दाबी गरेको छ ।

रंगेलीमा भएको प्रहरीसँगको झडपकै क्रममा बरडंगा–२ का ४२ वर्षीय महादेव ऋषिदेवको पनि गोली लागेर ज्यान गएको छ ।

गोली लागेर घाइते भएका उनलाई बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि भर्ना गराएपछि मृत्यु भएको हो ।

त्यसैगरी रंगेलीकै छिमेकी गाविस डाइनियामा प्रदर्शनमा उत्रेका मोर्चाका अर्का कार्यकर्ताको पनि ज्यान गएको छ ।

झडपका क्रममा डाइनिया निवासी शिवु माझीले ज्यान गुमाएका हुन् । घटनाका क्रममा मोर्चाका ६ जना भन्दाबढी कार्यकर्तालाई गोली लागेको बताइएको छ ।

संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष तथा मधेसी मोर्चाका संयोजक राजकुमार यादव भने फरक दाबी गर्छन् ।

‘हाम्रा कार्यकर्ताहरुले शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहेका थिए’, उनले अन्नपूर्ण अनलाइनसँग भने, ‘हामी निसशस्त्र अवस्थामा जुलुसमा थियौं । शान्तिपूर्ण प्रदर्शन गरिरहँदा प्रहरीले जथाभावी गोली बर्सायो ।’

मोर्चाले उग्र प्रदर्शन गरेपछि सत्तारुढ दल एमालेको भातृ संगठनले आफ्नो कार्यक्रमलाई समेत निर्धारित समयभन्दा चाँडो टुंग्याएको थियो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले प्रहरीले संयमित भएर परिस्थितिलाई नियन्त्रण बाहिर जान नदिन सुरक्षा दिएको बताए ।

उनले अवस्था अझ बिग्रिए रंगेली क्षेत्रमा आजैबाट कर्फ्यू लगाउन सकिने बताए । 

Wednesday, January 13, 2016

कतारमा पिताको हत्या भएपछि ७ सन्तानको बिचल्ली

 असोज १६ - कतार पुगेका अबिभाबकको हत्या भएपछि खोटाङका एक परिवारको बिचल्ली भएको छ ।
बैदेशिक रोजगारीका सिलसिलामा कतार पुगेका खोटाङ छितापोखरी–४ ढुसेनी का ४२ वर्षीया तिर्थबहादुर खड्काको हत्या भएपछि उहाँको ८ जनाको परिवार बिचल्लीमा परेको हो ।
कतारको सनैयास्थित पिनेल्को कम्पनीमा चौकीदारकारुपमा कार्यरत खड्काको डेढ महिनाअघि शंकास्पद हत्या भएपछि उहाँको श्रीमती सुमित्रा सहित ५ छोरी र २ छोराको बिचल्नी भएको हो ।
निम्न आर्थिक स्तर भएका खड्काको शंकास्पद हत्या भएपछि उनका ४ देखि १६ वर्ष उमेरभित्रका ७ जना छोराछोरीको पठन–पाठन प्रभाबित भएको छ ।
मृतक खड्काको जेठी छोरी पार्वता खड्का कक्षा ७ मा, माईली छोरी बिमला कक्षा ६ मा, साईली पर्मिला ४ मा, काइली बिपना ३ मा र कान्छी सपना खड्का कक्षा २ मा अध्यायनरत छन् ।
यस्तै जेठो छोरा धिराज कक्षा ३ र कान्छो छोरा हिराज कक्षा १ मा अध्ययन गरिरहेका छन् । उनीहरु छितापोखरीस्थित जनसेवा माबि र जनचेतना प्राबिमा अध्ययनरत छन् ।
तिर्थबहादुरको हत्या हुनुअघि छुट्टै बस्दै आएका उनीहरु हाल आफ्नै मुल घरमा फर्किएर बसिरहेका आफन्त प्रेम भुजेलले बताउनुभयो ।
साहुको ऋण तिर्न नसकेपछि बिदेश पुगेका खड्काको बिदेशमै हत्या भएपछि हाल उहाँका ८ जनाको परिवार बनीबुतो गर्न बाध्य भएका छिमेकी भुजेलले बताउनुभयो ।
आउँदो मंसिरमा एकैसाथ सबै ऋण तिर्ने गरी घर आउने तयारी गरिरहेका खड्काको साथमा जम्मा भएको पैसाकाकै लागि कसैले हत्या गरेको हुन सक्ने अशंका परिवारको छ ।
तीन वर्षअघि कतार पुगे यता ऋण तिर्न ६० हजार र घर खर्चका लागि १ लाख रुप्रयाँ बाहेक अन्य पैसा नपठाएका खड्काको साथमा भएको पैसाकै कारण हत्या गरिएको हुन सक्ने कतारमै बस्दै आएका उहाँका भाई राजन खड्काको अनुमान छ ।
केहीदिनअघि भएको हत्याको कारण अझै खुल्न नसकेको खड्काको शव अझै नेपाल ल्याउन नसकिएको पारिवारिक श्रोतले जनाएको छ ।

Tuesday, November 3, 2015

मधेसी मोर्चाका नेतामाथि भारतीयद्धारा नेपालमै आई हातपात

१८ कार्तिक ,वीरगन्ज । रक्सौल नाकास्थित मितेरी पुलमा धर्ना बसेर नाकाबन्दी गरिरहेका मधेसी दलका नेताकार्यकर्तालाई मंगलबार साँझ भारतीय नागरिकले हातपात गरेका छन् ।३०–४० जनाको संख्यामा रहेका भारतीयले धर्नास्थल मितेरी पुलमै गएर मोर्चाका नेता कार्यकर्तालाई गालीगलौज गर्दै हातपात गरेका हुन् ।मोर्चाको आन्दोलनका क्रममा सोमबार वीरगंजमा प्रहरीलेको गोली लागेर भारतीय युवक आशिषकुमार रामको मृत्यु भएपछि भारत रक्सौलका बासिन्दा आक्रोशित भएका छन् ।नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य शिव पटेलले रक्सौलबाट लाठी र भाटा बोकेर आएका भारतीयले धर्ना बसेका मोर्चाका नेता कार्यकर्तालाई गालीगलौज गर्नुका साथै दुव्र्यवहार गरेको उनले बताए ।
Rajnedra_Mahato_madhes_movment_413440362

सवारीसाधनमा पेट्रोलियम पदार्थ भर्न अब ब्ल्युबुक अनिवार्य

झापा। झापाका पेट्रोल पम्पबाट सवारीसाधनमा इन्धन भर्दा अबदेखि अनिवार्य रुपमा सवारी दर्ता किताब ब्ल्युबुक चाहिने भएको छ ।
पेट्रोलियम पदार्थमा भएको अनियमितता रोक्न बजार व्यवस्थापन तथा आपूर्ति व्यवस्थापन समिति झापाले सवारीसाधनमा इन्धन वितरण गर्दा पेट्रोल पम्पले सवारीधनीले आफ्नो सवारीसाधनको नवीकरण गरेको सवारी दर्ता किताब देखाएपछि त्यस्ता सवारीसाधनमा मात्र इन्धन वितरण गर्न पेट्रोल पम्पलाई NEPAL-OIL-PATHLAIYA-DEPOTनिर्देशन दिएपछि सवारीसाधनमा इन्धन भर्न ब्ल्युबुक अनिवार्य भएको हो ।
जिल्ला प्रशासन कार्यालय झापामा मङ्गलबार साँझ बसेको बैठकले आजका मितिदेखि यस्तो नियम लागू गर्न लागेको जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत राजु दाहालले जानकारी दिए । उनका अनुसार इन्धन भर्न पुगेका सवारीसाधनको ब्ल्युबुकको कैफियत लेखिएको पानामा इन्धन भरेको मिति, परिमाण उल्लेख गरेर मात्र इन्धन उपलब्ध गराउन पेट्रोल पम्पलाई निर्देशन भइसकेको छ ।
त्यस्तै ग्यास र इन्धन ओसारपसार गर्ने सवारीसाधनबाहेक अन्य सवारीसाधनमा इन्धन र ग्यास बोकेर ढुवानी गर्न नपाइने भएको छ । यसैगरी हाल सञ्चालनमा आएका लामो दूरीका सवारीसाधनलाई ५० प्रतिशतमा सिमित राखी सञ्चालनमा ल्याउने, काठमाडौँ जाने रात्रि बस २५, धनकुटा जाने दुई र ताप्लेजुङ जाने १५ वटा मात्र बस सञ्चालन गर्ने निर्णयसमेत भएको प्रशासकीय अधिकृत दाहालले बताए।

NEPAL-OIL-PATHLAIYA-DEPOT

७४ दिनदेखि घैँटेको शव अस्पतालमा

प्रहरीसँगको मुठभेडमा मारिएका गुन्डा नाइके कुमार घैँटे (कुमार श्रेष्ठ)को शव ७४ दिनदेखि अस्पतालमा छ । घटनाको छानबिन हुनुपर्ने भन्दै आफन्तले शव बुझेका छैनन् ।
गत ३ भदौमा रानीबारीस्थित घरैअगाडि मुठभेडमा घैँटेको मृत्यु भएको थियो । घैँटेका आफन्तले प्रहरीले नियोजित रूपमा हत्या गरेको आरोप लगाउँदै आएका छन् । प्रहरीले भने महानगरीय अपराध महाशाखाको प्रहरी टोलीसँग मुठभेड हुँदा मृत्यु भएको बताउँदै आएको छ ।
घटनामा घैँटेका अन्य दुई सहयोगीलाई गोली लागेको थियो । उनले प्रहरीमाथि आक्रमण गरेपछि जवाफी फायरिङमा मृत्यु भएको प्रहरीले बताएको थियो । तर, घैँटेका आफन्तले भने प्रहरीले पिछा गरेर आक्रमण गरेको आरोप लगाउँदै आएका छन् । घैँटेका आफन्त तथा केही कांग्रेस सभासद्ले घटनाको अनुसन्धानका लागि मानवअधिकार आयोगलाई दबाब दिँदै आएका छन् ।
मानवअधिकार आयोगका प्रतिनिधिसमेतको रोहवरमा शवको पोस्टमार्टमसमेत भइसकेको छ । तर, यस्तो घटनाको पोस्टमार्टम रिपोर्टमा मुठभेडमा मृत्यु भएको वा नियन्त्रणमा लिएर गोली हानेको प्रस्ट प्रमाणहरू औँल्याउन गाह्रो छ । शिक्षण अस्पतालमा विशेषज्ञ डा. हरिहर वस्तीकै नेतृत्वमा पोस्टमार्टम भएको थियो ।
हालसम्म घैँटेको शव शिक्षण अस्पतालमै छ । मानवअधिकार आयोगले कमिटी गठन गरेर छानबिन अगाडि बढाएपछि मात्र शव बुझेर दाहसंस्कार गर्ने परिवारले जनाएको छ । ‘आयोगले छानबिन थालेपछि शवको दाहसंस्कार गर्न समस्या छैन,’ घैँटेको हत्या भएको दाबी गर्दै आएका सभासद् जगदीश्वरनरसिंह केसीले भने ।
पछिल्लो समय एक अज्ञात महिलालाई घैँटेको नक्कली श्रीमती बनाएर सम्पत्ति उसको नाममा दिलाउन प्रहरी लागेको पनि केसीको आरोप छ । ‘एक महिलालाई उसको नक्कली श्रीमती बनाएर सर्जिमिन गरेको छ भन्ने मैले सुनेँ,’ सभासद् केसीले भने, ‘प्रहरीले शव जलाउन अर्काे नाटक सुरु गरेको छ ।’
आफन्तले शव बुझेनन्
  • प्रहरीसँगको मुठभेडमा मारिएका गुन्डा नाइके कुमार घैँटेको शव ७४ दिन बितिसक्दा पनि आफन्तले बुझेका छैनन्
  • प्रहरीले योजनाबद्ध रूपमा हत्या गरेको भन्दै आफन्तले आयोग बनाएर छानबिन नगरेसम्म शव नबुझ्ने बताउँदै आएका छन्
  • मानवअधिकार आयोगका प्रतिनिधिसमेतको रोहवरमा गरिएको पोस्टमार्टम रिपोर्टले ‘मुठभेडमा मृत्यु’ वा ‘नियन्त्रणमा लिएर हत्या’ भन्ने प्रस्ट प्रमाण औँल्याउन सकेन
७४ दिनदेखि घैँटेको शव अस्पतालमा

वीरगन्जमा कर्फ्यु यथावत, रामआशिषको शव परिवारले बुझ्यो

वीरगन्ज, कार्तिक १८ । सुरक्षा संवेदनशीलताका कारण स्थानीय प्रशासनले सोमबारदेखि वीरगन्जमा लगाउँदै आएको कर्फ्यु बुधबार पनि कायमै छ ।
स्थिति तनावपूर्ण बनेपछि पर्सा प्रशासनले बीरगन्जको मितेरी पूलदेखि उत्तर तर्फ पर्साको सिमानासम्मको मुख्य सडक, बाइपास सडकखण्ड, पावर हाउस चोकदेखि राधेंमाई सडकखण्ड र बीरगन्ज बजारमा कर्फ्युआदेश जारी गरेको हो ।
प्रशासनले कर्फ्यु जारी राखेपनि बिहानैदेखि बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल रहेको छ ।
मुख्य चोकहरुमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । यसैबीच सोमबार प्रहरीको गोली लागेर मृत्यु भएका भारतीय नागरिक रामआशिष रामको शव मंगलबार साँझ परिवारले बुझेका छन् ।
मोर्चाका कार्यकर्ताले मंगलबार पनि प्रदर्शन गरेका छन् । स्थानीय प्रशासनले लगाएको कर्फ्युको अबज्ञा गर्दै मधेसी मोर्चाका कार्यकर्ताले दिनभर बीरगन्जको नगवा, छप्कैया र माइस्थानमा सडक अवरुद्ध गरी प्रदर्शन गरेका हुन् ।
नगवा, छप्कैया र माइस्थानमा मंगलबार प्रहरी र प्रदर्शनकारीबीच पटक पटक झडप समेत भएको थियो ।

राजधानीमा ग्यास भित्र्याउन स्थानीयको अवरोध

काठमाडौं: स्थानीयबासीको अवरोधका कारण मंगलबार राजधानी आइपुग्नु पर्ने साढे पाँच हजार थान ग्यास सिलिन्डर उत्पादन केन्द्रमै अलपत्र परेका छन्।
 
स्थानीयबासीले सिलिन्डरमा रिफिलिङ (सिलिन्डरमा ग्यास भर्ने) स्थानकै सर्वसाधारणलाई पहिलो प्राथमिकता दिएर ग्यास बिक्री गर्नुपर्ने भन्दै अवरोध सिर्जना गरेपछि तीन उद्योगको पाँच हजार तीनसय ७० वटा सिलिन्डर उत्पादन थलोमै रोएिका छन्।
 
ग्यासको वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन सोमबार वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगममा गठन गरेको कन्ट्रोल रुमका अनुसार स्थानीयबासीको अवरोधका कारण भरिएका सिलिन्डर पनि राजधानी भित्र्याउन समस्या परेको छ । भारतले गरेको अघोषित नाकाबन्दीका कारण राजधानीसहित मुलुकभर अहिले खाना पकाउने ग्यासको चरम अभाव छ। 
 
ग्यासको अभावमा अधिकांश सर्वसाधारणको चुल्होमा आगो बल्न पनि छाडेको छ।'यस्तो अवस्थामा उपलब्ध सिलिन्डर पनि अवरोधका कारण भित्र्याउन सकेनौं', ग्यास बिक्रेता महासंघका महासचिव तथा कन्ट्रोल रुमका सदस्य चन्द्र थापाले भने,'स्थानीयबासीको अवरोधका कारण मंगलबार चाहेर पनि सिलिन्डर भित्र्याएर वितरण गर्न सकिएन्।'
 
उनका अनुसार मंगलबार चितवनको कुरिनटारस्थित भानु ग्यासको रिफिलिङ केन्द्रबाट काठमाडौं ल्याउन लागिएको पाँच सय थान सिलिन्डर स्थानीयबासीको अवरोधका कारण आउन पाएन्। उक्त उद्योगले उत्पादन गरेका थप एक हजार आठ सय थान सिलिन्डर भने मंगलबार नै कुरिनटारमा बिक्री गरे पनि थप सिलिन्डर बिक्रि गर्न घेराबन्दी गरेपछि काठमाडौंका लागि छुट्याइएको सिलिन्डर भित्र्याउन नसकिएको नेपाल एलपी ग्यास उद्योग संघका सचिव तथा कन्ट्रोल रुमका अर्का सदस्य लक्ष्मीप्रसाद महर्जनले जानकारी दिए।
 
महर्जनकाअनुसार स्थानीयबासीकै अवरोधका कारण धादिङबाट ल्याउन लागिएको सुगम ग्यासका चार हजार सात सय ५० थान सिलिन्डर पनि सोही स्थानमा अलपत्र परेका छन् । कन्ट्रोल रुमकाअनुसार राजधानीका लागि विभिन्न स्थानबाट हिँडेको दुई हजार पाँच सय ५३ वटा सिलिन्डर बाटोमा छन्। 
 
रातिसम्म राजधानी भित्र्याउने तयारी रहेको कन्ट्रोल रुमले जनाएको छ। यसअनुसार ७.१ तौल भएको सिद्धार्थ ब्रान्डको एक हजार नौ सय नौ थान सिलिन्डर र सोही तौल भएको तारा ब्रान्डको ६ सय थान सिलिन्डर राजधानी भित्रिने क्रममा छ। 
 
मंगलबार नै राजधानीमा तीन ब्रान्डका दुई हजार ८८ वटा सिलिन्डर सर्वसाधारणलाई बिक्री गरिएको छ। लोकप्रिय ब्रान्डका १४.२ तौलको पाँच सय ८८ वटा कलंकीमा र सगर ब्रान्डको ७.१ तौलको पेप्सीकोलामा र हिमाल व्रान्डको सोही तौलको ग्वार्कोस्थित गोदामबाट आठ सय थान सिलिन्डर बिक्री गरिएको छ। (ग्यास बितरण गर्न 'कन्ट्रोल रुम')
 
यसैबीच वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट आयात गरिएका ग्यासको बुलेटको परिमाणसहितको विवरण निगमलाई उपलब्ध गराउन मंगलबार सम्बन्धित उद्योगीलाई निर्देशन दिएको छ। मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले कति परिमाणमा बुलेट आयात गरिएको, ग्यास उद्योगको नाम, रिफिलिङ गर्ने मिति, बुलेटबाट सिलिन्डर उत्पादन संख्या, डिलर, बिक्रेता र वितरकको नाम, बिक्री तथा वितरण प्रणालीसम्बन्धी आवश्यक विवरण उपलब्ध गराउन उद्योगीलाई निर्देशन दिइएको जानकारी दिए। 
 
सर्वसाधारणका लागि नम्बरको व्यवस्था
निगमले सर्वसाधारणलाई ग्यास बिक्रीसम्बन्धी भरपर्दो सूचना उपलब्ध गराउन टेलिफोन नम्बरको व्यवस्था गरेको छ।
 
निगमका एलपीजी विभाग प्रमुख मुकुन्द घिमिरेका अनुसार ग्यास वितरणलाई पारदर्शी र प्रभावकारी सूचना प्रदान गर्न बिहीबारदेखि कन्ट्रोल रुम प्रभावकारी रूपमा सञ्चालनमा ल्याइनेछ। 
 
निगमले ग्यास वितरणका विषयमा सर्वसाधारणलाई सूचना प्रदान गर्न ४२६२५८६ नम्बरको व्यवस्था गरेको छ। यो नम्बर डायल गरेर २१५ नम्बर डायल गरेपछि आवश्यक सूचना सर्वसाधारणले प्राप्त गर्न गक्नेछन्।