Taja Samachar Nepal

Taja Samachar Nepal
News

Monday, October 19, 2015

राजनीतिमा म्याच फिक्सिङ छैन् !

          ३ कार्तिक २०७२, रविराज थापा - जब मैले नेपाली खेलाडीहरु (म्याच-फिक्सिङ)को अभियोगमा पक्राउ परे भन्ने जानकारी पाँए, त्यसले मलाई अत्यन्तै  मर्माहत बनायो । पहिले त  यी अल्लरे केटाहरुको मूर्खतापूर्ण व्यावहार र निर्णय प्रति रिस उठ्यो। तर अर्को तिर, जब म पनि यी केटाहरुको उमेरको थिएँ, मैले पनि यिनीहरुले जस्तै नेपाल र नेपालीको लागि खेलकुद जगतमा केही गरेर देखाउने, नेपालको नाम राख्ने र आकाशकोतारा समेत झार्न सक्ने जस्तो सपना देख्न थालेँ। मैले बक्सिङ खेलेँ, नेपालमा कसैसँग कहिल्यै हारिन। पुलिस भएँ एआईजी सम्म पुगेँ, राम्रै भयो ठिकै भयो। तर म सँगै बक्सिङ खेल्ने बक्सरहरु कही पुग्न सकेनन्, खेलकुद चलाउने र खेलकुदमा शासन  जमाउनेहरु माथी माथीपुगे तर नेपालको ओलम्पिकका होनहार खेलाडीहरु कोही मरेर गए कोही हनुमान ढोकामा चिरीमा परे। यो सबैको कारण हो गरिब खेलाडीका धनी र शक्तिशाली खेलकुदका पदाधिकारी र ठेकेदारहरु।
मेरो समकक्षी बक्सर पुष्करध्वज शाही म भन्दा पनि राम्रो बक्सर थिए, उनी नेपालका चिफ कोच भए तर कहिले अनुशासनको कारवाहीमा परे त !  कहिले निलम्वित भए!यी बिभिन्न कारणले गर्दा उनलाई जीवन प्रति निराशा छायो, उनी पछि अल्पायुमै मरेर गए । सन् २०१० मा ग्वाङजाउमा आयोजित यशिएन गेम्समा नेपालको लागि एक मात्र मेडल जितेका बक्सर दीपक महर्जन नेपाल फर्केका मात्र के थिए, उनलाई राजनैतिक पार्टीले सदस्य बनाउने देखि लिएर अभिनन्दनको लर्को लाग्यो। उनले पनि बाटो भुले, अभिनन्दनको मूतको तातोमा लण्डन ओलम्पिकलाई नै विर्षे , ओलम्पिक सम्म पुग्नै सकेनन्। त्यस पछि उनी राजनैतिक पार्टीको  सदस्यता लिने देखि अभिनन्दित हुने मै रमाउन थाले। तर हाल सालै उनको घुँडामा समस्या देखियो, अप्रेशन गर्नको लागी खर्च जुटाउन साथीभाईको घरघर ढोकाढोका चहार्ने पार्यो । यो हो नेपाली खेलाडीहरुको कथाव्यथा !
खेलाडीहरु जोसिला हुन्छन, खेलाडीहरु खेल जित्नको लागि खेल्छन, गल्ती पनि गर्छन, तर देश र राज्यले उसको गल्तीलाई अन्जान केटाकेटीले गरेको गल्ती जस्तो मानेर चेतावनी, नसिहत दिएर फेरी खेल्नमा नै प्रेरित गर्छ। किन कि त्यस्ता खेलाडी  उत्पादन गर्न धेरै खर्च र मेहनत गर्नु पर्ने हुन्छ। फुटबल खेल्दा खेलाडीले फल खेल्यो बने पनि उसलाई रेफ्रीले नसिहत स्वरुप पहेँलो कार्ड देखाउला, ठुलो फल खेले रातो कार्ड (रेड कार्ड) देखाएर ग्राउण्डवाट निकाली देला, तर उ सँधैको लागि फुटबलको खेलबाट सन्यास लेओसभन्ने चाहीँ कहिल्यै चाहँदैन। हुन सक्छ त्यो खेलाडीलाई केही समयको लागी खेल्न बाट बञ्चित पनि गर्न सक्छ। तर नेपालको जस्तो राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा नेपालको झण्डा मुनी नेपालीको लागि खेलेको  र घरखेत, परिवार लाई विर्सिएर खेलकुदको लागि जीवननै बलिदान गरेका अल्लारे केटाहरुलाई म्याच फिक्स गरेको आरोपमा हतकडी नै लगाएर देशभरि बेईजत्तिको सामना गर्न वाध्य पारिएको घटनाले मेरो मनमा रोष र बिद्रोहले  जरो गाडेको छ। मलाई लाग्छ मनमा खेलाडी हुँ भन्ने र खेलकुदको लागि समर्पित युवाको लागि यो भन्दा ठुलो अनादर, अपमान र वेईज्जती नेपालको ईतिहासमा  पहिले कहिल्यै भएको थिएन होला।
वास्तवमा भन्ने हो भने नेपालको ईतिहास नै म्याच -  फिक्सिङ बाट चलेको छ। नेपालको राजनिती म्याच -  फिक्सिङ हो। नेपाल बाट राजसंस्था हटाउने र नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाउने कुरा पनि नेपालको राजनीतिमा  हस्तक्षेप गर्ने हरुको म्याच फिक्सिङ नै त हो।
२००५ नोभेम्बरको सात राजनैतिक दल र माओवादीको १२ बुँदे संझदारी म्याच फिक्सिङ हो भनेर  कसैले भनेमा हाम्रा शीर्ष  नेताहरुले के जवाफ देलान !  उनीहरुलाई के कस्तो कारवाही होला!  यदि कसैले १६ बुँदे सहमति पनि शीर्ष  नेताहरुको म्याच फिक्सिङ हो भन्यो भने के हुन्छ। तर यहाँ हामी म्याच - फिक्सिङलाई भद्र सहमति  भन्ने गरेका छौँ!
अब यो म्याच - फिक्सिङको अपराधमा नेपालमा के कस्तो कानुनी व्यबस्था छ, त्यो म विगत ४० बर्षदेखि खेलकुदमा लागेर ओलम्पिक र अन्तरर्राष्ट्रिय खेलमा खेलिसकेको भएतापनि मलाई थाहा छैन। नेपालमा म्याच - फिक्सिङ गरेको अभियोगमा नेपालको राष्ट्रिय स्तरका खेलाडीहरुलाई हतकडी लगाएर नेपाली जनता सामुन्ने रेडियो, पत्रिका र टेलिभिजन सामु लगातार देखाईरहनु आफ्नो देशको नाममा रगत पसिना बगाएर  मेहनत गरेर नेपालको लागि खेलेका युवाहरुलाई यसरी अपमान र वेईज्जत गर्नु कहाँसम्म न्याय सँगत छ। अहिलेका यी युवाहरुलाई कारवाही  गर्नु भन्दा यसको  मूल जरो पहिल्याउनु अत्यन्त जरुरी छ ।  यसमा नेपाली खेलाडी, खेलकुद पत्रकार जगतले अनुगमन र अनुसन्धानको थालनी गर्नु वढी फलदायी  हुनसक्छ। हुनत खेलकुद पत्रकारको हैसियत र अवश्था पनि नेपपालका श्रमजिवी खेलाडीको भन्दा कुनै फरक छैन। यो कुरा ४ वर्ष नेपाल ओलम्पिक कमिटीको उपाध्यक्ष र सात वर्ष नेपाल बक्सिङ सँघको अध्यक्ष हुदा मैले देखेको, जानेको र बुझेको हो । त्यसवेला नेपालका खेलकुद जगतका वाचडग मानिने खेलकुदका संचारकर्मीहरु पनि धेरै वजेट भएको एन्फा, खेलकुद परिषद र ओलम्पिक कमिटिको सभा समारोहमा धेरै रुची राख्थे, खेलाडीको स्वार्थ भन्दा आफ्नो फाइदा हेर्थे  ।
यहाँ बुझ्नुपर्ने कुरा के छ भने यी युवा खेलाडीहरु थुनि हाल्नु पर्ने, झुण्ड्याईहाल्नु पर्ने देशद्रोही भने होईनन्।  यीनिहरुलाई देशद्रोही मानेर हतकडी लगाएर खोरमा राख्नु पर्ने हो भने, ती भन्दा ठूला देशद्रोहीहरु आज नेपालमा प्रशस्तै छन। यहाँ यीनिहरुलाई कारवाही  नै गर्नै हुन्न भनेको पनि होईन, तर जुन तरिकाले यीनिहरुको उमेर, जोश, आवश्यकताको लागि यीनिहरुले आफ्नो मर्यादा, अनुशासनलाई विर्सिएर  त्यसको सजाय दिनु गर्छ  । यीनिहरुलाई थुनेर कारवाही गर्नुपर्ने कुन फौजदारी र सरकारी मुद्दा सम्बन्धी ऐनको कुन दफाले के सजाएँ तोकेको छ यो पनि जनताले जान्न जरुरी छ।
प्रहरी सँगठन देखी निजामती कर्मचारीतन्त्रको त प्रत्येक सरुवा, बढुवा, आयोग र बिभागको नियुक्तिमा  हुने राजनैतिक पार्टीको बागवण्डा म्याच - फिक्सिङ भन्दा कम  छैन। अब खेलकुद परिषदको त कुरै भएन। हालसालैको खेलकुद मन्त्रीको राजीनाम, बिगत देखी नेपालको राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवको  नियुक्ति देखी उनीहरुलाई अनाधिकृत रुपले खेलाडी बनाएर मानव तस्करी गर्ने काम के म्याचफिक्सिङ भन्दा कम हुन्छ । उनीहरुलाई पनि कहिल्यै थुनेर कारवाही भएको नजिर छैन। राजनीतिको खेलमा म्याच फिक्सिङ लाई भद्रसहमती भनिन्छ, किन भने त्यहाँ म्याच अर्थात प्रतिष्पर्धा नै  हुँदैन, सबैका सबै सहमतीमै टुङ्गिन्छ। जति प्रतिश्पर्धा हुने हो, त्यो पार्टी भित्र  हुन्छ।  भाग खानेहरु आफु भित्र नै हुने गर्छ।
कुनै जमानामा एमालेको भागमा खेलकुद मन्त्री थिए, जीवनराम श्रेष्ठ । एमालेवाट सदस्य सचीव बने, अहिले उनको राजनीतिले बिश्राम लिएको छ । उनी आज ओलम्पिक कमिटीका अध्यक्ष हुन पुगेका छन। पछि मधेशी पार्टीका खेलकुद मन्त्री भए। उनले खेलकुद को कुनै खेल नखेले पनि मधेशी कोटामा सदस्य सचीव बनाए। उनी पछि माओवादीबाट खेलकुद मन्त्री आाए , उनले पनि माओवादीको तर्फबाट युवराज लामालाई सदस्य सचिव बनाए। उनले पनि बिभिन्न राष्ट्रिय खेलकुद संघहरुलाइ माओबादीकरण गरे,  नयाँनयाँ संघ खडा गरे माओवादीहरुलाई खेलकुदका पदाधिकारी अध्यक्ष , उपाध्यक्षा सचिव कोषाध्यक्षको पदमा भरे। उदाहरणको लागि नेपालको खेलकुद जगत ढाक्ने पूर्व ओलम्पिक कमिटिका अध्यक्ष रुक्मशम्शेर राणा देखि लिएर ध्रुबबहादुर प्रधान हुन या  जीवनराम श्रेष्ट सम्म, एन्फाका गणेश थापा देखि  राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्षहरु सीताराम  मास्के, पिताम्वर तिम्सिना, टेन्डी शेर्पा र नेपालका प्राय सबै राष्ट्रिय र अन्तरर्राष्ट्रिय पदाधिकारीहरु नेपालको खेलकुद जगतका प्रशासनिक म्याचफिक्सरहरु भन्दा बढी केही होईनन् ।
यस्ता खेलकुदका म्याचफिक्सरहरु त नेपालमा अनगिन्ती छन्। यी सबैको अन्तरर्राष्ट्रिय खेलकुद र खेलाडीको आँखाले तिनीहरुको हैशसयत र स्तर परीक्षा गर्ने हो भने यी सबै अन्तरर्राष्ट्रिय, राष्ट्रिय, राजनैतिक र प्रशासनिक म्याचफिक्सर भन्दा बढी केही होईनन भनेर टडकारो रुपले देख्न सकिन्छ। तिनीहरुले नेपालको लागि कुनै अन्तरर्राष्ट्रिय जगतमा कहिल्यै खेलेनन् र खेलेका पनि छैनन् र खेल्ने पनि छैनन्। तर दुर्भाग्य, विश्वको खेलमैदानमा खेल्ने नेपालका राष्ट्रिय स्तरका खेलाडीले जानी नजानी, वाध्यतावस यो गल्ती गरे, यसमा हतकडी र खोरमा राख्ने जस्ता कामले राष्ट्रिय अन्तरर्राष्ट्रिय खेलाडीमा पर्न जाने शारिरिक र मनोवेज्ञानिक प्रभाव वारे पनि ध्यान दिनु अति आवश्यका छ। यो सवै सरोकारवालाहरुको धर्म र कर्तव्य पनि हो ।
यसर्थ अहिले नेपालमा लोकतन्त्र छ, खेलकुद मन्त्रालय छ, राष्ट्रिय खेलकुद परिषद छ, फुटवलको राष्ट्रिय संघ एन्फा पनि छ।
 नेपाल प्रहरीके नेपालका टाष्ट्रिय खेलाडीहरुलाई हतकडी लगाएर ठुलो काम गरेँ भन्नु जनतालाई देखाउने भ्रममात्र हो  म पूर्व प्रहरी अधिकृत र पूर्ब ओलम्पिक खेलाडी, पूर्व नेपाल ओलम्पिक कमिटिको उपाध्यक्ष र पूर्व बक्सिङ संघको अध्यक्षको हैशियतले सबै सरोकारवालाहरुलाई यो प्रश्न गर्न उपयुक्त ठान्छु। देशका होनहार युवा खेलाडीले एउटा गल्ती गरे भन्दैमा उनलाई ठाडै टेलिभिजन, पत्रिकामा झ्याली पिटाएर, प्रोपगण्डा गरेर खोरमा थुन्नुको सट्टा आयोग गठन गरेर अनुगमन गर्नु बढी उपयुक्त देखिन्छ।       

Sunday, October 18, 2015

राष्ट्रपति निर्वाचनका लागि लबिङ गर्दै कांग्रेस

काठमाडौं, कार्तिक २ । सभामुख र उपसभामुख निर्वाचनमा सरकारी उम्मेदवारलाई नै समर्थन गरेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले राष्ट्रपति निर्वाचनमा भने उम्मेदवारी दिने भएको छ । राष्ट्रपतिमा समर्थन पाउन सरकारमा आउनुपर्ने एमालेको प्रस्ताव भने कांग्रेसले अस्वीकार गरेको छ ।
नयाँ संविधानको प्रावधान अनुसार कार्तिक ८ गतेभित्रसंसदले नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया शुरु गर्नुपर्नेछ । प्रधानमन्त्री निर्वाचनबाट टाढिएका प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र मधेशी मोर्चा सबैले राष्ट्रपति पदमा भने लोभ देखाइरहेका छन् ।
प्रधानमन्त्री निर्वाचनमा एक्लिएको कांग्रेसले राष्ट्रपतिका लागि दलका तर्फबाट उम्मेदवारी दिने बताइसकेको छ । यसका लागि उसले लबिङ पनि थालेको छ । अन्यथा नभएको अवस्थामा सत्तारुढ दलले त राष्ट्रपतिमा उम्मेदवारी दिने नै भैहाल्यो । यसले सत्ता र प्रतिपक्षी दुबैको तर्फबाट छुट्टा–छुट्टै उम्मेदवारी पर्ने देखिएको छ ।
तराई मधेसमा देखिएको आन्दोलनको सम्बोधनका लागि तत्काल संविधान संशोधन गर्नुपर्ने र त्यसका लागि कांग्रेसको समर्थन जरुरी पर्ने भएकाले राष्ट्रपति कांग्रेसलाई नै दिएर भएपनि सहमति गर्नुपर्ने आवाज स्वयं सत्तारुढ दलभित्रै उठेको छ ।
सभामुख निर्वाचनमा एमाओवादीले औपचारिक पत्र पठाएपछि उसकै उम्मेदवारलाई सहयोग गरेको कांग्रेसले राष्ट्रपति निर्वाचनमा अरु दलबाट आफ्नो उम्मेदवारलाई सहयोग हुने अपेक्षा गरेको छ ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेल कांग्रेसले उठाउने राष्ट्रपतिको उम्मेदवारलाई सकभर सर्वसम्मत बनाइने दावी गर्छन् । त्यसका लागि सत्तारुढ दलहरु नै पनि सकारात्मक रहेको उनको भनाई छ । सत्ता नेतृत्वकर्ता एमालेका तर्फबाट पनि घुमाउरो पारामा कांग्रेसलाई राष्ट्रपति दिन सकिने अभिव्यक्ति आइरहेको छ । तर त्यसका लागि कांग्रेस सरकारमा आउनुपर्ने शर्त छ ।
उपसभापति पौडेल भने राष्ट्रपतिका लागि शर्त स्वीकारेर सरकारमा जाने सम्भावना नरहेको बताउँछन् ।
कांग्रेसले कसलाई उम्मेदवार बनाउँछ भन्ने विषय पनि त्यत्तिकै चासोमा छ । अहिलेकै राष्ट्रपतिलाई दोहो¥याउने वा नयाँ खोज्ने भन्ने विषयमा कांग्रेसभित्र चर्चा चुलिएको छ । राष्ट्रपति मुलुक र जनता बुझेको सबैलाई मिलाएर लान सक्ने व्यक्ति हुनुपर्ने बुझाई कांग्रेसको छ । यद्यपि, व्यक्ति भने तय भइसकेको छैन ।
संविधान संशोधनसहित संविधान कार्यान्वयनको प्रमुख कार्यभार पूरा गर्न प्रमुख दलहरु मिलेनन् भने त्यसले आम जनतामा सकारात्मक सन्देश दिने छैन । मुलुक र जनताको सुखद भविष्य बनाउने हो भने दलहरुले आपसी स्वार्थ त्यागेर प्रतिष्पर्धाकै बीचमा पनि सहमतिको बाटो रोज्न सक्नुपर्छ ।

भारतीय नाकाबाट न्यूनमात्रामा इन्धन आपूर्ति

काठमाडौं, कार्तिक २ । भारतीय आयल कर्पोरेशनले मागे जति इन्धन नपठाउँदा नेपालमा पर्याप्त पेट्रोलियम पदार्थ भित्रन सकेको छैन । अघोषित नाकाबन्दीले देशका प्रमुख नाकाहरुबाट आइतबार पनि सहज रुपमा आपूर्ति हुन सकेन ।
झापाको कांकडभिट्टा–पानीट्याङ्की नाकाबाट हिजो ७१ वटा मालवाहक सवारी नेपाल भित्रिए पनि इन्धन बोकेका कुनैट्याङ्कर आएनन् ।
नेपालगञ्ज–रुपैडिहा नाकाबाट १२ वटा मात्रै पेट्रोलियम पदार्थको ट्याङ्कर नेपाल प्रवेश गरेकोमा सातवटा पेट्रोल र पाँचवटा डिजलका ट्याङ्कर छन् । त्यस्तै एउटा ग्यास बुलेट र ८० वटा मालवाहक ट्रक भित्रिएको छ ।
बिराटनगरको रानी–जोगबनी नाकाबाट चार बुलेट ग्यास र ५८ वटा मालवाहक ट्रकमात्र भित्रियो । भैरहवा–सुनौली नाकाबाट २०८ वटा गाडी नेपाल आएकामा १३८ वटा मालवाहक ट्रक र अरु पीकअप भ्यान छन् ।
यस नाकाबाट १९ वटा पेट्रोलियम पदार्थका गाडी आएकामा ११ ट्याङ्कर डिजल, ६ ट्याङ्कर पेट्रोल र २ बुलेट ग्यास छन् ।
सुनौली नाकामा भारतीय सुरक्षा बलले चेकजाँचमा निकै कडाई गरेको छ ।
उता, कैलालीको धनगढी–गौरीफन्टा नाकाबाट थोरै मात्रामा मालवाहक ट्रक र पेट्रोलियम पदार्थ बोकेको गाडी नेपाल भित्रिएको छ ।
मुलुकको प्रमुख भन्सार बीरगञ्ज–रक्सौल नाका भने लामो समयदेखि ठप्प छ । नेपालका लागि लाइफ लाइन मानिने यो नाका बन्द भएको २५ दिन भइसक्यो । नाका क्षेत्रमा रहेको मितेरी पुलमा मधेशी मोर्चाले धर्ना दिने र त्यही धर्नालाई देखाएर नेपालतर्फ इन्धनलगायतका कुनै सामग्री पनि प्रवेश नदिने भारतीय खेल जारी छ । जसका कारण देशैभर पेट्रोल, डिजल र ग्यासमा चरम अभाव देखिएको छ ।

दिल्ली गएका कमल थापा असफल, नाकाबन्दी तत्काल ‘नखुल्ने|

काठमाडौं, २ कात्तिक । भारतले आफ्नो पूर्ववत अडान दोहोर्‍याउँदै मधेस मामिलालाई तत्काल सम्बोधन गर्न आग्रह गर्दै नेपालभित्रको राजनीतिक समस्या र द्धिदशीय सीमावर्ती तनाव नसुल्झुन्जेल सुरक्षा खतराका कारण सहज ढुवानी  नुहने संकत दिएको छ ।
भारतद्वारा जारी अघोषित नाकाबन्दीसहितका मामिलामा छलफल गर्न र निकासा पहिल्याउन दिल्ली उत्रिएका उपप्रधान एवम परराष्ट्रमन्त्री कमल थापाले द्धिदेशीय पारवहन समस्या सुल्झने कुरामा सकारात्मक बन्न सकिने भएपनि तत्काल केही भन्न नसकिने प्रतिक्रिया दिए ।
मधेसमा देखिएको अशान्त गतिविधि र आन्दोलन हाम्रो आन्तरिक राजनीतिक समस्या हो। यसलाई हामी राजनीतिक तबरमा मिलाउँछौं भन्दै भारतीय सद्भाव लिने प्रयत्नमा जुटेका थापाले आइताबर भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसँग भेटवार्ता गरेका थिए ।
Birgunj_custom

तातोपानी कुण्डमा स्वदेशी तथा विदेशी पर्यटकको चाप

बेनी (म्याग्दी), २ कात्तिक । म्याग्दीको उत्तरी पर्यटकीयस्थल भुरुङ तातोपानीमा रहेको तातोपानी कुण्डमा स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ ।
बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने तातोपानीमा मौसम सुरुसँगै कुण्डमा स्नान गर्न आउने पर्यटकको चाप बढेको कुण्ड सञ्चालक प्रेम तुलाचनले बताउनुभयो ।
कालीगण्डकी नदीको किनारमा ६९ डिग्री सेल्सियसमा मूलबाट निस्किएको पानीलाई ३६ डिग्रीदेखि ३८ डिग्री सेल्सियससम्ममा तापक्रम मिलाइएको पानीमा पर्यटकले स्नान गरी मनोरञ्जन लिने गर्छन् । पर्यटकको सुविधाका लागि दुईवटा कुण्ड बनाएर स्नान गर्ने व्यवस्थासमेत गरिएको छ ।
अन्नपूर्ण पदमार्गअन्तर्गत शिख, घारा हुँदै आउने पर्यटकसमेत तातोपानी झरेर स्नान गरी नारच्याङ हुँदै मुस्ताङ पुग्ने गर्छन् भने हिमाली जिल्ला मुस्ताङ जाने पर्यटक र तीर्थयात्रीसमेत सोही कुण्ड हुँदै जाने भएकाले कुण्डमा स्नान गर्नेको सङ्ख्या बढेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष भुवन गौचनले बताउनुभयो ।
कालीगण्डकी नदी नजिकै रहेको कुण्ड कटानको जोखिममा परेपछि जिविस म्याग्दी, भुरुङ तातोपानी गाविसका साथै पर्यटन व्यवसायीले समेत संरक्षणमा सहयोग गर्ने गरेका छन् ।
कुण्डमा स्नान गरेमा विभिन्न बाथरोग, मर्केको, सुन्निएको, ग्यास्ट्रिक, गानोगोलालगायतका रोग निको हुने विश्वासमा पर्यटक आउने गर्छन् ।
उक्त कुण्डबाट हुने आम्दानीमध्ये बर्सेनि रु १० लाखभन्दा धेरै रकम स्थानीय सर्वोदय उच्च माध्यमिक विद्यालयमा खर्च हुने गरेको विद्यालयले जनाएको छ । म्याग्दीको सिंगा, मुदी, दग्नाम, शिखलगायत विभिन्न गाविसमा करिब आधा दर्जन तातोपानी कुण्ड रहेका छन् ।
तातोपानी कुण्डमा पर्यटकको चहलपहल

दशैंका लागि पोखरामा १६ हजार च्याङ्ग्रा भित्रिए

          पोखरा, कार्तिक २ । दशैंका लागि पोखरामा करिब १६ हजार भेडा, च्याङ्ग्राा भित्रिएका छन् । मुस्ताङ, डोल्पा, मुगु, तिब्बतबाट ३० करोड बराबरका भेडा च्याङ्ग्रा पोखरा ल्याएको व्यवसायीहरुले बताएका छन् ।गत वर्ष भन्दा १ हजार बढी भेडा, च्याङ्ग्रा पोखरामा भित्र्याइएको हो । हिमाली भेगमा पाइने जडिबुटी खाएर हुर्केको भेडा, च्याङ्ग्राको माग बढी हुने गर्दछ । 
दशैंको बेलामा पोखरा आसपासका क्षेत्रमा मात्रै करिब ३० करोड रुपैयाँ बराबरको भेडा, च्याङ्ग्राको कारोबार हुने गर्दछ ।
कास्कीको याम्दीमा भेडा, च्याङग्रा बिक्रीका लागि राखिएको छ भने फुलपातीको दिन पोखरा टुँडिखेलमा राख्ने गरिन्छ ।
यस बर्ष मुस्ताङ लगायतका बिभिन्न क्षेत्रबाट ल्याइएका च्याङ्ग्राको मुल्य १८ हजार देखि २५ हजारसम्म रहेको व्यापारीहरु बताउँछन् ।

नौ मन्त्री थपिए

       काठमाडौं :२ कार्तिक २०७२  एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा आइतबार नौजना मन्त्री थपिएका छन् । आफ्नै पार्टी एमालेले थप मन्त्रीका लागि नाम सिफारिस गर्न नसकेपछि प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले आइतबार शीतल निवासमा एमाओवादी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र बहुजन शक्ति पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् । 
 
आइतबार शपथ लिने मन्त्रीमा एमाओवादीका सचिव टोपबहादुर रायमाझी उपप्रधान तथा ऊर्जामन्त्री भएका छन् भने अर्का सचिव गिरिराजमणि पोखरेल शिक्षामन्त्री भएका छन् । त्यस्तै स्थायी समिति सदस्य अग्नि सापकोटा वन तथा भूसंरक्षणमन्त्री भएका छन् भने अर्का स्थायी समिति सदस्य शक्ति बस्नेतले गृहमन्त्रीको जिम्मेवारी पाएका छन् । 
 
अर्घाखाँची—१ बाट प्रत्यक्ष निर्वाचित रायमाझीले यसअघि संघीय मामिला तथा स्थानीय विकास र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी समालिसकेका थिए । महोत्तरी—१ बाट प्रत्यक्ष निर्वाचित पोखरेल यसअघि एमाओवादीका प्रमुख सचेतक थिए । उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि समालिसकेका छन् । खोटाङमा जन्मिएका 
 
अविवाहित पोखरेल मोरङका स्थायी बासिन्दा हुन् । सिन्धुपाल्चोक—२ बाट प्रत्यक्ष निर्वाचित सापकोटा यसअघि सूचना तथा सञ्चारमन्त्री भइसकेका थिए । जनजागृति माध्यमिक विद्यालय साँगाचोक सिन्धुपाल्चोकको प्रधानाध्यापकबाट राजीनामा दिएर २०४८ को निर्वाचनमा उम्मेवार भएका सापकोटा संविधानसभाका दुवै निर्वाचनमा विजयी भएका थिए । 
 
जाजरकोट—१ बाट प्रत्यक्ष निर्वाचित बस्नेत यसअघि स्वास्थ्यमन्त्री भएका थिए । माओवादी लडाकुका कमिसार रहेका बस्नेत एमाओवादीका महासचिव कृष्णबहादुर महरालाई पछाडि पार्दै गृहमन्त्री भएका हुन् । यसअघि बस्नेतकी पत्नी सत्या पहाडी पनि शान्ति तथा पुनर्निर्माणमन्त्री भएकी थिइन् । 
 
वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी पाएका गणेशमान पुन एमाओवादी युवा संगठन वाईसीएलका पूर्वअध्यक्ष हुन् । रुकुमबाट प्रत्यक्ष निर्वाचित पुन एमाओवादीका पोलिटब्युरो सदस्य छन् । मोहन वैद्य नेतृत्वको नेकपा—माओवादी परित्याग गरी एमाओवादीमा प्रवेश गरेकी रेखा शर्मा छोटो समयमा धेरै अवसर पाउने भाग्यमानी महिला नेत्री भएकी छिन् । दोस्रो संविधानसभा निर्वाचनपछि समानुपातिक तर्फबाट सभासद् बनेकी शर्मा एमाओवादीको सचेतक थिइन् । 
 
अहिले उनले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । दाङमा जन्मिएकी शर्मा सशस्त्र द्वन्द्वका बेला पति कृष्णध्वज खड्कासँगै लामो समय सैनिक हिरासतमा बसेकी थिइन् । सप्तरी—३ बाट प्रत्यक्ष निर्वाचित उमेश यादव मधेसको प्रतिनिधित्व गर्दै सिँचाइमन्त्री भएका छन् । बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्ने 
 
कांग्रेस–एमालेको प्रयासविरुद्ध एमाओवादी सभासद्हरू आन्दोलनमा रहेका बेला यादवले फालेको कुर्सी सर्वत्र चर्चा हुने विषय हो । एमाओवादीका तर्फबाट मन्त्री भएका पुन, शर्मा र यादव सरकारमा नयाँ अनुहार हुन् । बहुजन शक्ति पार्टीका नेता विश्वेन्द्र पासवान पहिलोपटक मन्त्री भएका हुन् भने मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट सिफारिस भएर मन्त्री भएका रामजनम चौधरी यसअघि पनि पटकपटक मन्त्री भइसकेका थिए । 
 
पासवान र चौधरीले राष्ट्रपतिसमक्ष शपथ लिए पनि उनीहरू दुवैलाई मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।