Taja Samachar Nepal

Taja Samachar Nepal
News

Sunday, October 18, 2015

तातोपानी कुण्डमा स्वदेशी तथा विदेशी पर्यटकको चाप

बेनी (म्याग्दी), २ कात्तिक । म्याग्दीको उत्तरी पर्यटकीयस्थल भुरुङ तातोपानीमा रहेको तातोपानी कुण्डमा स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ ।
बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने तातोपानीमा मौसम सुरुसँगै कुण्डमा स्नान गर्न आउने पर्यटकको चाप बढेको कुण्ड सञ्चालक प्रेम तुलाचनले बताउनुभयो ।
कालीगण्डकी नदीको किनारमा ६९ डिग्री सेल्सियसमा मूलबाट निस्किएको पानीलाई ३६ डिग्रीदेखि ३८ डिग्री सेल्सियससम्ममा तापक्रम मिलाइएको पानीमा पर्यटकले स्नान गरी मनोरञ्जन लिने गर्छन् । पर्यटकको सुविधाका लागि दुईवटा कुण्ड बनाएर स्नान गर्ने व्यवस्थासमेत गरिएको छ ।
अन्नपूर्ण पदमार्गअन्तर्गत शिख, घारा हुँदै आउने पर्यटकसमेत तातोपानी झरेर स्नान गरी नारच्याङ हुँदै मुस्ताङ पुग्ने गर्छन् भने हिमाली जिल्ला मुस्ताङ जाने पर्यटक र तीर्थयात्रीसमेत सोही कुण्ड हुँदै जाने भएकाले कुण्डमा स्नान गर्नेको सङ्ख्या बढेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष भुवन गौचनले बताउनुभयो ।
कालीगण्डकी नदी नजिकै रहेको कुण्ड कटानको जोखिममा परेपछि जिविस म्याग्दी, भुरुङ तातोपानी गाविसका साथै पर्यटन व्यवसायीले समेत संरक्षणमा सहयोग गर्ने गरेका छन् ।
कुण्डमा स्नान गरेमा विभिन्न बाथरोग, मर्केको, सुन्निएको, ग्यास्ट्रिक, गानोगोलालगायतका रोग निको हुने विश्वासमा पर्यटक आउने गर्छन् ।
उक्त कुण्डबाट हुने आम्दानीमध्ये बर्सेनि रु १० लाखभन्दा धेरै रकम स्थानीय सर्वोदय उच्च माध्यमिक विद्यालयमा खर्च हुने गरेको विद्यालयले जनाएको छ । म्याग्दीको सिंगा, मुदी, दग्नाम, शिखलगायत विभिन्न गाविसमा करिब आधा दर्जन तातोपानी कुण्ड रहेका छन् ।
तातोपानी कुण्डमा पर्यटकको चहलपहल

दशैंका लागि पोखरामा १६ हजार च्याङ्ग्रा भित्रिए

          पोखरा, कार्तिक २ । दशैंका लागि पोखरामा करिब १६ हजार भेडा, च्याङ्ग्राा भित्रिएका छन् । मुस्ताङ, डोल्पा, मुगु, तिब्बतबाट ३० करोड बराबरका भेडा च्याङ्ग्रा पोखरा ल्याएको व्यवसायीहरुले बताएका छन् ।गत वर्ष भन्दा १ हजार बढी भेडा, च्याङ्ग्रा पोखरामा भित्र्याइएको हो । हिमाली भेगमा पाइने जडिबुटी खाएर हुर्केको भेडा, च्याङ्ग्राको माग बढी हुने गर्दछ । 
दशैंको बेलामा पोखरा आसपासका क्षेत्रमा मात्रै करिब ३० करोड रुपैयाँ बराबरको भेडा, च्याङ्ग्राको कारोबार हुने गर्दछ ।
कास्कीको याम्दीमा भेडा, च्याङग्रा बिक्रीका लागि राखिएको छ भने फुलपातीको दिन पोखरा टुँडिखेलमा राख्ने गरिन्छ ।
यस बर्ष मुस्ताङ लगायतका बिभिन्न क्षेत्रबाट ल्याइएका च्याङ्ग्राको मुल्य १८ हजार देखि २५ हजारसम्म रहेको व्यापारीहरु बताउँछन् ।

नौ मन्त्री थपिए

       काठमाडौं :२ कार्तिक २०७२  एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा आइतबार नौजना मन्त्री थपिएका छन् । आफ्नै पार्टी एमालेले थप मन्त्रीका लागि नाम सिफारिस गर्न नसकेपछि प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले आइतबार शीतल निवासमा एमाओवादी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र बहुजन शक्ति पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् । 
 
आइतबार शपथ लिने मन्त्रीमा एमाओवादीका सचिव टोपबहादुर रायमाझी उपप्रधान तथा ऊर्जामन्त्री भएका छन् भने अर्का सचिव गिरिराजमणि पोखरेल शिक्षामन्त्री भएका छन् । त्यस्तै स्थायी समिति सदस्य अग्नि सापकोटा वन तथा भूसंरक्षणमन्त्री भएका छन् भने अर्का स्थायी समिति सदस्य शक्ति बस्नेतले गृहमन्त्रीको जिम्मेवारी पाएका छन् । 
 
अर्घाखाँची—१ बाट प्रत्यक्ष निर्वाचित रायमाझीले यसअघि संघीय मामिला तथा स्थानीय विकास र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी समालिसकेका थिए । महोत्तरी—१ बाट प्रत्यक्ष निर्वाचित पोखरेल यसअघि एमाओवादीका प्रमुख सचेतक थिए । उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि समालिसकेका छन् । खोटाङमा जन्मिएका 
 
अविवाहित पोखरेल मोरङका स्थायी बासिन्दा हुन् । सिन्धुपाल्चोक—२ बाट प्रत्यक्ष निर्वाचित सापकोटा यसअघि सूचना तथा सञ्चारमन्त्री भइसकेका थिए । जनजागृति माध्यमिक विद्यालय साँगाचोक सिन्धुपाल्चोकको प्रधानाध्यापकबाट राजीनामा दिएर २०४८ को निर्वाचनमा उम्मेवार भएका सापकोटा संविधानसभाका दुवै निर्वाचनमा विजयी भएका थिए । 
 
जाजरकोट—१ बाट प्रत्यक्ष निर्वाचित बस्नेत यसअघि स्वास्थ्यमन्त्री भएका थिए । माओवादी लडाकुका कमिसार रहेका बस्नेत एमाओवादीका महासचिव कृष्णबहादुर महरालाई पछाडि पार्दै गृहमन्त्री भएका हुन् । यसअघि बस्नेतकी पत्नी सत्या पहाडी पनि शान्ति तथा पुनर्निर्माणमन्त्री भएकी थिइन् । 
 
वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी पाएका गणेशमान पुन एमाओवादी युवा संगठन वाईसीएलका पूर्वअध्यक्ष हुन् । रुकुमबाट प्रत्यक्ष निर्वाचित पुन एमाओवादीका पोलिटब्युरो सदस्य छन् । मोहन वैद्य नेतृत्वको नेकपा—माओवादी परित्याग गरी एमाओवादीमा प्रवेश गरेकी रेखा शर्मा छोटो समयमा धेरै अवसर पाउने भाग्यमानी महिला नेत्री भएकी छिन् । दोस्रो संविधानसभा निर्वाचनपछि समानुपातिक तर्फबाट सभासद् बनेकी शर्मा एमाओवादीको सचेतक थिइन् । 
 
अहिले उनले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । दाङमा जन्मिएकी शर्मा सशस्त्र द्वन्द्वका बेला पति कृष्णध्वज खड्कासँगै लामो समय सैनिक हिरासतमा बसेकी थिइन् । सप्तरी—३ बाट प्रत्यक्ष निर्वाचित उमेश यादव मधेसको प्रतिनिधित्व गर्दै सिँचाइमन्त्री भएका छन् । बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्ने 
 
कांग्रेस–एमालेको प्रयासविरुद्ध एमाओवादी सभासद्हरू आन्दोलनमा रहेका बेला यादवले फालेको कुर्सी सर्वत्र चर्चा हुने विषय हो । एमाओवादीका तर्फबाट मन्त्री भएका पुन, शर्मा र यादव सरकारमा नयाँ अनुहार हुन् । बहुजन शक्ति पार्टीका नेता विश्वेन्द्र पासवान पहिलोपटक मन्त्री भएका हुन् भने मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट सिफारिस भएर मन्त्री भएका रामजनम चौधरी यसअघि पनि पटकपटक मन्त्री भइसकेका थिए । 
 
पासवान र चौधरीले राष्ट्रपतिसमक्ष शपथ लिए पनि उनीहरू दुवैलाई मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।

Saturday, October 17, 2015

कष्टकर बन्दै दसैँ

          काठमाडौं, १ कात्तिक यसपटकको दसैँ अभावमै बित्ने भएको छ । अलि बढी मिहिनेत गरेर भए पनि दसैँमा राम्रो खाने र राम्रो लाउने आमनेपालीको इच्छामा भारतीय नाकाबन्दीले प्रभाव पारेको हो । नाकाबन्दीका कारण उपभोग्य वस्तुसँगै पेट्रोल, डिजेल, ग्यासलगायतको आपूिर्तसमेत ठप्प छ । दैनिक उपभोग्य खाद्यान्न, गेडागुडी, खानेतेललगायत पर्याप्त मौज्दात रहेको व्यवसायीले बताएका छन् । तर, इन्धन अभावले ढुवानी हुन नसकिरहेको व्यवसायीको दुखेसो छ । दसैँमा नयाँ लुगा खरिद गर्ने धेरै उपभोक्ताको चाहनासमेत यसपटक अपुरो हुने देखिन्छ । मध्यम र निम्न वर्गीय उपभोक्तको रोजाइमा पर्ने चिनियाँ लत्ताकपडा धेरै कम आयात भइरहेको व्यवसायीले बताएका छन् । ‘चिनियाँ लत्ताकपडा ३० प्रतिशत मात्रै आइरहेका छन्,’ नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव निरज राईले भने । उनका अनुसार लत्ताकपडाको कुल बजारमा चिनियाँ सामानको बजार हिस्सा ७५ प्रतिशतभन्दा बढी छ । बहुसंख्यक उपभोक्ताले प्रयोग गर्ने चिनियाँ लत्ताकपडा थोरै आउँदा मौज्दातमा रहेका पुरान डिजाइनका कपडा बजारमा बिक्री भइरहेको उनले जानकारी दिए । ‘बजारमा चिनियाँ लत्ताकपडाको कमी त छैन, मौज्दातमा रहेका पुराना डिजाइनका कपडा बिक्री भइरहेका छन्,’ उनले भने, ‘तर, नयाँ डिजाइन खोज्ने उपभोक्ता भने मर्कामा परेका छन् ।’ भूकम्पले चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी अवरुद्ध पारेपछि व्यवसायीले भारतीय भूमि हुँदै सामान ल्याइरहेका थिए । तर, डेढ महिनादेखि सीमा क्षेत्रमा अवरोध हुँदा चिनियाँ सामान ३० प्रतिशत मात्रै उपलब्ध भइरहेको उनले बताए । पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको पनि उत्तिकै हाहाकार छ । ‘अहिले कुल मागको १० प्रतिशत मात्रै इन्धन आपूर्ति गर्न सकिएको अवस्था छ,’ आयल निगमका प्रवक्ता दीपक बराल भन्छन् । पेट्रोल, डिजेलको अभाव हुँदा सहज रूपमा आवतजावत गर्न कठिनाइ भइरहेको छ भने ग्यास नहुँदा खाना पकाउनै समस्या हुन थालेको उपभोक्ताले गुनासो गर्न थालेका छन् । ‘धेरै उपभोक्ताले खाना पकाउने ग्यास नै छैन, कसरी दसैँ मनाउने भनेर गुनासो गदै पसलमा आउने गरेका छन्,’ ग्यास विक्रेता महासंघका उपाध्यक्ष अर्जुन देवकोटाले भने । डिजेल अभावमा दसैँमा घर फर्कन यात्रुले सुविस्ता दिएर ओसार्न नसकिएको यातायात व्यवसायी बताउँछन् । ‘डिजेल अभाव हुँदा सबै गाडी चलाउन सकिएको छैन, भएकै गाडीसमेत डिजेल लिने लाइनमा बस्दा समयमै यात्रुलाई सेवा दिन गाह्रो परिरहेको छ,’ यातायात व्यवसायी सरोज सिटौला भन्छन् । इन्धन अभावको मौका छोपेर व्यवसायीले भाडादर पनि चर्को असुलेर उपभोक्तालाई थप मारमा पारेका छन् । ‘अधिकांश यात्रुबाहक बस, माइक्रो, बोलेरोलगायतले सरकारले तोकेको भाडादरभन्दा बढी रकम यात्रुबाट असुलेको पाइयो,’ नियमनकारी निकाय यातायात व्यवस्था विभागका निर्देशक वसन्त अधिकारीले भने, ‘दसैँ मनाउन घर जाने यात्रुले आरामदायी यात्रा त गर्न पाएका छैनन् नै भाडासमेत बढी तिर्नुपर्दा थप मर्कामा परिरहेका छन् ।’ दसैँमा उपभोग हुने खसी, बोकाको मासु भने मागअनुसार नै आपूर्ति भइरहेको व्यवसायीले बताएका छन् । ‘उपत्यकामा दसैँका लागि खसी, बोकाचाहिँ मागअनुसार नै आपूर्ति भइरहेको छ,’ चौपाया व्यवसायी संघका अध्यक्ष जीवन थापाले भने । शनिबार करिब २५ सय खसी, बोका बिक्री गरेको उनले जानकारी दिए । चिनियाँ सामग्री ३० प्रतिशत मात्रै उपलब्ध छन् निरज राई, सचिव नेपाल हिमालय सीमापार वाणिज्य संघ १२ वैशाखको विनाशकारी भूकम्पयता चीनसँग व्यापार गर्ने प्रमुख नाका तातोपानी खुल्न सकेको छैन । तातोपानीको विकल्पका रूपमा व्यवसायीले कोलकातासम्म जहाजमा चिनियाँ सामान ओसार्ने र त्यहाँ वीरगन्ज, भैरहवालगायतका नाका हुँदै ल्याउने गरेका छौँ । तर, भारतको बोर्डरमै अवरोध हुँदा चिनियाँ सामान बोकेका धेरै कन्टेनर कोलकातामै रोकिएका छन् । कोलकातामा कन्टेनर राख्दै ठाउँ नै नभएपछि चिनियाँ व्यापारीले नेपालमा सामान पठाउनसमेत इच्छा देखाउन छाडिसकेका छन् । चिनियाँ लत्ताकपडाको व्यापार हिस्सा नेपाली बजारमा ७५ प्रतिशत छ । मध्यम तथा निम्नवर्गीय परिवारले चिनियाँ लत्ताकपडा, जुत्तालगायत प्रयोग गर्दै आएका छन् । तर, चिनियाँ नाका ठप्प हुँदा र भारतबाट समेत सामान ल्याउन नपाउँदा करिब ३० प्रतिशत मात्रै चिनियाँ सामग्री आइरहेका छन् । यति थोरै सामान आउँदा व्यापारीसँगै आमसर्वसाधारण पनि मर्कामा परेका छन् । यद्यपि उपभोक्ताले दसैँमा नयाँ लुगा पाएका छैनन् भन्ने होइन । हामीसँग मौज्दात रहेका पुराना डिजाइनका लत्ताकपडा भने बजारमा उपलब्ध छन् । नयाँ डिजाइनका लुगा बजारमा छैनन् । पुरानो डिजाइनले पुरुषलाई त खासै फरक पर्दैन, तर बच्चा र स्त्री वर्गले भने नयाँ डिजाइनकै लुगा मनपराउने हुँदा उनीहरूलाई बढी मर्का परेको छ । दसैँमा तातोपानी नाकाबाट दैनिक २ करोड रुपैयाँ भन्सार तिरेर चिनियाँ सामग्री आउने गरेका थिए । तर, चीनतिरको नाका र भारतको बोर्डमा भइरहेको अवरोधलाई हेर्दा दसैँ, तिहारपछि मात्रै चिनियाँ सामग्री नेपाली उपभोक्तासम्म आइपुग्ने देखिन्छ । 
कष्टकर बन्दै दसैँ

आन्दोलनका नाममा लुटपाट

  १ कार्तिक २०७२ वीरगन्ज : मधेसमा आन्दोलनका नाममा लुटपाट, तोडफोड र आगलागीको घटना बढ्दै गएको छ । मधेसी मोर्चाले आह्वान गरेको बन्द र हडताल दुई महिना नाघिसकेको छ भने मुलुककै प्रमुख नाका वीरगन्ज तीन सातादेखि ठप्प छ । वीरगन्ज–रक्सौलको सीमामा रहेको मितेरी पुलस्थित दसगजा क्षेत्रमा मधेसी दलका नेता र कार्यकर्ताले असोज ७ देखि चौबीसै घन्टा धर्ना दिएर नाकाबन्दी गरेका हुन् ।
 
बन्द, हडताल र नाकाबन्दीको सबैभन्दा बढी मारमा परेका उद्योगी, व्यपारी, उद्योग र मालवाहक गाडीमा लुटपाट र आगलागी हुन थालेपछि दोहोरो मारमा परेका छन् । आन्दोलनकारीकै नाममा एक समूहले शनिबार बिहान वीरगन्ज पोखरिया सडकखण्डअन्तर्गत पर्साको बहुअर्वाभाठा गाविस ७ मा रहेको श्रीगणेश खाद्य उद्योगमा तोडफोड गर्दै धान लुटेर लगेको छ ।
 
मधेस बन्दको अवज्ञा गर्दै उद्योग सञ्चालन गर्नुका साथै रातिको समयमा ट्रकमा चामल ओसारेको भन्दै करिब तीन सयजनाको संख्यामा रहेको समूहले उद्योगको मूल गेटमा तोडफोड गर्दै गोदाममा रहेको करिब एक सय ५० बोरा धान लुटेर लगेको हो ।
 
उनीहरूले उद्योगमा रहेको ना १६ प ७२३४ नम्बरको मोटरसाइकल, जेनेरेटर, चामल कुट्ने मेसिन र फर्निचरमा तोडफोड गरेका छन् । ‘हातमा लट्ठी र फलामको रड बोकेर आएको समूह हडतालका बेला रातिराति चामल किन ओसोरेको भन्दै मेनगेटको ढोका तोडेर भित्र पस्यो’, उद्योगका कर्मचारी जाकिर हुसेनले भने, ‘उनीहरूले गोदाममा रहेको एक सय ५० बोरा धान पनि लुटेर लगे ।’
 
तोडफोड र लुटपाटका कारण उद्योगलाई झन्डै दुई लाख रुपैयाँबराबरको क्षति भएको छ । लुटपाटको खबर पाएपछि घटनास्थल पुगेका प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्नुका साथै १९ राउन्ड गोलीसमेत फायर गरेको थियो ।
 
लुटेराहरूले लुटेर लग्न थालेको धानको बोरा नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट १९ राउन्ड हवाईफायर गर्नुपरेको पर्साका प्रहरीउपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।
 
लुटेराहरूले प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले हवाईफायर गरेको उनले बताए । उनका अनुसार प्रहरी घटनास्थलमा समयमै पुगेकाले उद्योगमा ठूलो क्षति हुन पाएन । प्रहरी पुग्नुभन्दा पहिले लुटेराहरूले २०/३० बोरामात्र धान लुटेर फरार भए पनि अरू धानका बोरा प्रहरीले खोसेर उद्योगमा राखिदिएको जानकारी प्रहरीउपरीक्षक श्रेष्ठले दिए ।
 
प्रहरी पुगेपछि लुटेराहरू धानका बोरा र साइकल फालेर भागेका थिए । उद्योगनजिकको सडक र खेतबाट प्रहरीले लुटेराहरूका दुई दर्जनभन्दा बढी साइकल बरामद गरेको प्रहरीउपरीक्षक श्रेष्ठले बताए । शनिबार नै आन्दोलनकारीको एक समूहले वीरगन्जमा एउटा मालवाहक ट्रकमा आगो लगाएको छ । 
 
आदर्शनगरस्थित मनीष ट्रेडर्सको गोदामअगाडि सुपारी लोड गरी राखिएको ना ४ ख ६३५ नम्बरको ट्रकमा आगो लगाइएको हो । १०/१२ जनाको संख्यामा आएको अपरचित युवाको समूहले ट्रकमा पेट्रोल छर्केर आगो लगाएको प्रत्यक्षदर्शी भोला वर्णवालले बताए ।
 
आगलागीबाट ट्रकअगाडिको भाग जलेर ध्वस्त भए पनि ट्रकमा रहेको सुपारीमा भने क्षति पुगेको छैन । ट्रकमा लगाइएको आगो वीरगन्ज उपमहानगरपालिका कार्यालयको वारुणयन्त्रको सहयोगमा निभाइएको छ । आगो लगाउने समूहको खोजी भइरहेको प्रहरीउपरीक्षक श्रेष्ठले बताए । आन्दोलनका नाममा भारतसँग सीमा जोडिएको पर्साको ग्रामीण क्षेत्रमा पनि लुटपाटका घटना बढेको छ ।
 
सीमापारि भारतबाट डिजेल र पेट्रोल लिएर आउने गरेका मोटरसाइकल र साना गाडीहरू स्थानीय युवाहरूले रोकेर लुट्ने गरेका छन् । एक साताअघि मात्रै रक्सौलबाट डिजेल लिएर आउँदै गरेको रेडियो वीरगन्जको गाडीबाट आन्दोलनकारीले तीन ग्यालेन डिजेल लुटेर लगेका थिए ।
 
उद्योग व्यवसायमा लुटपाट र आगलागी हुनु आन्दोलनको खतरनाक रूप भएको वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक वैद्य बताउँछन् । ‘बन्द र हडतालले यसै पनि दुई महिनादेखि उद्योग र व्यपार ठप्प छ’, उनले भने, ‘अब त आगलागी र लुटपाट पनि हुन थाल्यो ।
 
क्रान्ति शाह
१ र २ ः पर्साको बहुअर्वाभाठास्थित श्रीगणेश खाद्य उद्योगमा लुटपाट गर्ने क्रममा आन्दोलनकारीले छरेका धानका बोरा ।
क्रान्ति शाह
३ ः वीरगन्जको आदर्शनगरमा आन्दोलनकारीले आगो लगाएको सुपारी लोड गरिएको ट्रक ।

केन्द्रसँग गाउँका कांग्रेसी दुःखी

१ कार्तिक २०७२ अश्राङ (गोरखा) : भूकम्प र नाकाबन्दीले गाउँको जनजीवन बिग्रँदै गएका बेला केन्द्रको राजनीति पनि बिगारेको भन्दै गाउँका कांग्रेस कार्यकर्ता केन्द्रीय नेतासँग आक्रोशित भएका छन् । उनीहरूको आक्रोश सभापति सुशील कोइराला सहमति तोडेर प्रधानमन्त्रीको चुनाव लडेर हार्नुप्रति लक्षित थियो ।
 
अहिले कांग्रेस पार्टीको घर भुइँचालोले भत्केको बोर्लाङ गाविसका पार्टी सभापति दुर्गाप्रसाद रेग्मी बताउँछन् । ‘गाउँमा वैशाख १२ गते भुइँचालो गयो, कांग्रेस पार्टीमा अहिले भुइँचालो गयो । अहिले हाम्रो पार्टीको घर भत्केको छ । अब हामी कहाँ जाने ? ’ रेग्मी भन्छन्, ‘सभापति सुशील कोइरालाले सहमति तोडेर चुनावमा उठ्नै हुँदैनथ्यो । गाउँमा बेइज्जत भएको छ ।
 
सर्वसाधारणको चित्त कसरी बुझाउने, आफ्नो चित्त कसरी बुझाउने ? सबैले तिम्रो पार्टी यस्तो र त्यस्तो भन्छन् । नानाथरी कुरा सोध्छन् । के जबाफ दिने ? कार्यकर्तालाई कसरी समाल्ने हामीले ? ’ अरू पार्टीले पनि गिज्याएको र आफ्नै तल्लो तहका कार्यकर्ताले आक्रोश पोख्ने गरेको उनले गुनासो गरे ।
 
भारतले नाकाबन्दी गरेर नेपालीलाई अत्याइरहेका बेला सबै नेता मिलेर संकटको सामना गर्नुपर्ने बेला अदृश्य शक्तिको इशारामा सभापति कोइरालाले सहमति तोडी चुनाव लडेर पार्टीलाई हराएको ताप्ले गाविसका सभापति खिलबहादुर थापाले बताए ।
 
‘नेताको मतिभ्रष्ट भएपछि गाउँका जनताको चित्त हामीले कसरी बुझाउने ? ’ थापाले भने, ‘जनताको चाहनाविपरीत, पार्टी कार्यकर्ताको भावनाविपरीत काम गरेर सभापतिले पार्टीको बदनाम गरे ।’
 
सभापति कोइरालाले चुनाव लडेपछि गाउँमा जहाँतहीं कांग्रेसको विरोधमा आवाज उठेको अ श्राङ गाउँ पार्टी सभापति भीमबहादुर थापाको भनाइ छ । ‘आफैंले गरेका हुन् कि अरूले अराएर गरेका हुन्, सभापतिले किन देश र जनताको हितविपरीत काम गरेका ? ’ थापाले भने, ‘एउटा सहमति भएको भए यस्तो सहमति छ, सहमतिअनुसार चल्नुपर्छ भन्नुपथ्र्यो । 
 
दोस्रो, चुनाव लड्नैपर्ने भए आफैं किन लडेका ? अरू पनि थिए नि ? चुनाव लडिसकेपछि जित्नुपथ्र्यो ।’ पार्टीलाई नै पत्तासाफ गराउने खेल भएको हुनसक्ने तर्क उनले गरे ।
 
अहिलेसम्म सबैको मत र माया पाएको भए पनि सभापति कोइरालाको अहिलेको कदमले पार्टी बदनाम भएको बगुवाका सीताराम भट्टले बताए ।
 
संकट परेका बेला सहमतिमा समाधान खोज्नुपर्ने समयमा जानाजान हार्ने चुनाव लडेर सभापति कोइरालाले आफ्नो र कांग्रेसको पनि बेइज्जत गरेको उनको भनाइ छ । अ श्राङ गाउँ पार्टीका पूर्वउपसभापति मेघनाथ पाण्डेले पनि अहिले जनस्तरमा उब्जिएको कांग्रेसप्रतिको वितृष्णाको चित्त बुझाउनै नसकेको गुनासो गरे ।
 
यो क्षतिपूर्ति गर्न पार्टीका केन्द्रीय नेता तत्काल जिल्ला र गाउँमा जानुपर्ने सुझाव उनले दिए । अर्का पूर्वसभापति लोकप्रसाद भन्तनाले भने प्रतिपक्षमा बस्ने कांग्रेसको यो कदम बहुदलीय परिपाटीअनुसारै भएको भन्दै कोइरालाको कदमको स्वागत गरे ।
अन्नपूर्ण
अ श्राङ २ सल्लाघारीमा भेला भएका ज्येष्ठ कांग्रेस कार्यकर्ता ।

फिलिपिन्समा ‘कोप्पु’ आँधीले जनजीवन अस्तब्यस्त

काठमाडौं, कार्तिक १ । फिलिपिन्समा कोप्पु आँधीले जनजीवन अस्तब्यस्त बनाएपछि सरकारले सर्वसाधारणलाई तीन दिनसम्म सचेत रहन अपील गरेको छ ।आँधीबाट बच्न हजारौं सर्वसाधारण सुरक्षित स्थानतर्फ लागेका छन् । आँधीका कारण हवाई र यातायात सेवा ठप्प पारिएको छ ।२ सय ५० किलोमिटरका दरले आएको आँधीले
थुप्रै घर र सवारी साधनमा क्षति पुगेको छ । आँधी तीन दिन सम्म रहने र त्यसपछि ताइवानतर्फ अघि बढ्ने मौसमविदहरुले बताएका छन् ।दुई बर्षअघि आएको आँधीबाट प्रभावितहरुकै जनजीवन सामान्य बन्न नसकेका बेला यस आँधीका कारण सर्वसाधारण थप मारमा परेका छन् ।