Taja Samachar Nepal

Taja Samachar Nepal
News

Tuesday, September 29, 2015

वार्ता थाल्न मोर्चाका तीन सर्त

काठमाडौं–मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ताको वातावरण बनाउन प्रमुख तीन दलको वार्ता टोलीसँग तीनवटा सर्त राखेको छ।सिंहदरबारस्थित फोरम लोकतान्त्रिकको संसदीय दल कार्यालयमा भएको द्विपक्षीय वार्तामा प्रमुख तीन दलको वार्ता टोलीका सदस्य वनमन्त्री महेश आचार्य, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एमाले प्रमुख सचेतक अग्निप्रसाद खरेलसामु मोर्चाले सर्त राखेको हो ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले मोर्चाले राखेको सर्त पूरा गरेपछि मात्रै औपचारिक रूपमा वार्ता अघि बढाउने बताए । 'मधेस आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्नुपर्ने र पीडित परिवारलाई राहत दिनुपर्ने तथा घाइतेको उपचार गर्नुपर्ने र आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने सर्त राखेका छाैं,' भण्डारीले नागरिकसँग भने ।

भण्डारीले तीन सर्त पूरा गरे आन्दोलनरत दलले उठाएका मागका विषयमा प्रवेश गर्न सकिने बताए।  दुई घन्टाभन्दा बढी समय चलेको वार्तामा गच्छदार, भण्डारीसहित फोरम गणतान्त्रिकका महासचिव सिपी सिंह, रामजनम चौधरी, केशव झालगायत नेताको उपस्थिति थियो । मृतक परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय भने यसअघि नै सरकारले गरिसकेको छ ।

बैठकमा मोर्चाले तराई–मधेसको सीमांकनको विवाद संघीय आयोगमार्फत नभई संविधान संशोधनवाट टुंग्याउनुपर्नेमा पुनः जोड गरेको छ । त्यसैगरी, समावेशी समानुपातिक, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तय गर्नुपर्ने मागलाई पनि संविधान संशोधनमार्फत गर्नुपर्ने मोर्चाको भनाइ छ ।

संघीय प्रदेशको सीमांकनबाहेक अन्य विषयलाई प्रमुख तीन दलले संविधान संशोधनमार्फत टुंग्याउने पटकपटक प्रतिबद्धता जनाइसकेका छन् । असोज १५ गते सुरु हुने व्यवस्थापिका संसदको हिउँदे अधिवेशनमै सो संशोधन प्रस्ताव लैजाने दलहरूले जनाएका छन् । वार्ताको वातावरण बनाउनका लागि सरकारले सेना फिर्ता गर्ने निर्णयसहित कफ्र्यु र दंगा क्षेत्र घोषणाको निर्णयलाई क्रमशः फिर्ता गर्दै गएको छ ।

'वार्ता टोली गठन भएपछि पहिलोपटक दुइटा मोर्चासँग आजै हाम्रो कुराकानी भएको छ,' वार्ता टोली सदस्य श्रेष्ठले नागरिकसँग भने, 'वार्ताको वातावरण बनाएपछि मुद्दामा प्रवेश गरौंं भन्ने कुरा उहाँहरूबाट आएको छ, भोलि (बुधबार) तीन दलको बैठक बसेर केही कुरा सम्बोधन गर्ने तयारीमा लागिपरेका छौं ।' उनका अनुसार मुख्य गरी वार्ताको वातावरण बनाउनुपर्ने भन्दै अगाडि सारेका सर्तका बारेमा प्रमुख तीन दलबीच छलफल हुनेछ ।

गच्छदार नेतृत्व मोर्चासँग छलफल गर्नुअघि तीन दलको वार्ता टोलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि वार्ता गरेको थियो । ठाकुरसँग वार्ता र छलफल गर्न तीन दलको टोली सानोठिमीस्थिति उनको निवासमा पुगेको थियो ।

'मोर्चाका अन्य घटकसँग छलफल गरेर निर्णय दिन्छु भनेर उहाँ रौतहट (गौर) जानुभयो,' श्रेष्ठले भने, 'मोर्चा घटक अन्य दलसँग छलफल गरेर भोलि (बुधबार) नै काठमाडौं फर्कने बाचासहित उहाँ जानुभएको छ ।' बुधबार हुने आमसभालाई सम्बोधन गर्न ठाकुर मंगलबार गौर गएका हुन ।

नेपाली वैज्ञानिक लुजेन्द्र ओझाले मंगल ग्रहमा पानी भएको पत्ता लगाए

बुधबार १३ असोज, २०७२ वैज्ञानिकहरुले मंगल ग्रहको सतहमा देखिएका गाडा धर्साहरु पानी हुनसक्ने आफूहरुले विश्वास गरेको बताएका छन्।
नेपाली मूलका एकजना युवा वैज्ञानिक लुजेन्द्र ओझासमेत संलग्न अनुसन्धानबाट निकालिएको त्यस्तो निचोडलाई मंगल ग्रहबारे भएको अनुसन्धानमा महत्वपूर्ण उपलब्धि समेत मानिएको छ।
अमेरिकी अन्तरिक्ष निकाय नासाको भूउपग्रहबाट प्राप्त तथ्यांकहरुले सतहमा देखिएको त्यस्तो चरित्र त्यहां रहेका नुनको थुप्रोहरुसंग सम्बन्धित रहेको देखाउंछ।त्यस्तो नुनले पानीको चिसिने र बाफ बन्ने विन्दुहरु परिवर्तन गर्नसक्ने र त्यसका कारण पानी बग्न सक्ने अवस्थामै रहिरहने विश्वास गरिएको छ।
नेपाली मूलका वैज्ञानिक लुजेन्द्र ओझा र उनका साथीहरुले पानीको तरल अवस्था अर्थात् 'लिक्विड वाटर'सम्बन्धी उक्त विवरणहरु नेचर जियोसाइन्स भन्ने जर्नलमा प्रकाशित गरेका छन्।पानी हुनुको अर्थ हुनेछ त्यहां जीवाणुको पनि सम्भावना छ जसले मंगल ग्रहमा जीवनको संकेत गरेको ठानिएको छ।
जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीमा विद्यावारिधी गरिरहेका ओझाले नासाको मार्स रिकनसेन्स अर्बिटर भनिने अन्तरिक्ष यानबाट प्राप्त तथ्यांकहरु प्रस्तुत गरेका छन्।उक्त यानमा क्रिजम भनिने उपकरण छ जसले सतहमा भएका पदार्थहरुको चरित्र पत्ता लगाउन सक्छ।त्यसले, मंगलको गर्मी याममा, गाडा धर्साहरु आउने जाने गर्ने चारवटा स्थानहरु हेरेको थियो।रिकरिङ स्लोप लिनिया भनिने ती धर्साहरु मंग्रह ग्रहबारे अध्ययन गरिरहेका वैज्ञानिकहरुलाई नौलो विषय होइन तर त्यो बग्ने पानीसंग सम्बन्धित होला भन्ने पुष्टि भने भइसकेको थिएन।
ओझाका अनुसार, पहिलेका अनुसन्धानबाट पनि ती धर्साहरु मंगलमा रहेको थाहा भए पनि त्यसको रासयनिक चरित्रबारे पत्ता लाग्न सकेको थिएन जुन काम अहिले भएको छ।

नेपालले रोक्यो भारतीय तरकारी र फलफूल

काठमाडौं–अत्यावश्यक एलपी ग्यास र पेट्रोलियम पदार्थ रोकेर तत्काल सड्ने र कुहिने तरकारी, फलफूललगायत सामान मात्र नेपालतर्फ पठाउने भारतीय रणनीति विफल पार्न नेपाली भन्सारले कठोर रणनीति अपनाउन थालेका छन्।सरकारको निर्देशनमा मंगलबारबाट भारतले पठाएका तरकारी, फलफूलजस्ता तत्काल सड्ने वस्तु भन्सारमै रोकिएका छन्। नयाँ संविधानको विरोधमा मधेसकेन्द्रित दलले जारी राखेको हडताल र विरोधलाई बहाना बनाएर भारतले ६ दिनदेखि खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थ नेपाल निकासीमा रोक लगाउँदै आएको छ । औद्यागिक कच्चा पदार्थ र तयारी वस्तु भने रोकिएको छैन।

उसले भारतीय व्यापारीलाई फाइदा पुग्ने गरी तरकारी, फलफूलजस्ता तत्काल कुहिने वस्तु बोकेका कन्टेनर मात्र नेपाल पठाउँदै आएको छ। 'भारतले अति आवश्यकीय वस्तु पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास आयतमा विभिन्न बहानाले बन्देज लगाएकाले अन्य सामान (कुहिने) को पनि भन्सार क्लियरेन्स नगर्न भन्सार नाकाका अधिकारीलाई निर्देशन दिइएको छ,' अर्थ मन्त्रालयका एक उच्च अधिकारीले मंगलबार नागरिकसँग भने, 'भारतले नाकाबन्दी नगरेको देखाउन तत्काल आवश्यक नभएका कुहिने र सड्ने वस्तु मात्र पठाउने नियत राखेकाले यस्तो निर्देशन दिइएको हो ।'

ती अधिकारीले पेट्रोलियम पदार्थ बोकेका ट्यांकरसँगै अन्य वस्तु बोकेका कन्टेनर आए मात्र भन्सार क्लियरेन्स गरिने जानकारी दिए । पेट्रोलियम पदार्थ र ग्यास रोकेर अन्य वस्तु मात्र छाड्ने काम गरिए नेपाली भन्सारले पनि विभिन्न बहाना लगाएर क्लियरेन्स दिनेछैनन् । यस्तो निर्देशन भारतसँग जोडिएका प्रमुख र छोटी सबै भन्सार नाकाका अधिकारीलाई दिइएको ती अधिकारीले जानकारी दिए।
यो निर्देशन मंगलबारबाटै कार्यान्वयनमा आइसकेको छ । भारतीय व्यापारीले मंगलबार दिउँसो केही छोटी नाकाहरुबाट यस्ता वस्तु छुटाउने प्रयास गरेकामा नेपाली भन्सारले रोकेको ती अधिकारीले जानकारी दिए। भन्सार उच्च स्रोतअनुसार मंगलबार भैरहवा नाकाबाट तरकारी, फलफूल मात्र पठाउन खोजिएकोमा स्थानीयको समेत अवरोधले रोकिएको छ । मेची भन्सार कार्यालयबाट १६ वटा कन्टेनर नेपाल छिरेका छन् जसमा औद्यागिक कच्चा पदार्थ र तयारी वस्तु मात्र छन् ।

यस्तै, कैलाली नाकाबाट मंगलबार ११ वटा कन्टेनर नेपाल भित्रिएका छन् जसमा सबै औद्यागिक सामग्री छन् । भारतले सोही नाकाबाट तीन ट्रक फलफूल तथा तरकारी पठाउन खोजेकोमा भन्सारले क्लियरेन्स गरेन ।

नेपालगन्ज भन्सारबाट पनि १३ वटा कन्टेनरमा औद्यागिक सामग्री नेपाल पठाइएको छ । अन्य नाकाबाट आन्दोलनकारीको अवरोधले कुनै कन्टेनर छिर्न पाएका छैनन् । पेट्रोलियम तथा ग्यास भने कुनै नाकाबाट पनि पठाइएको छैन ।

यसअघि, व्यापारी दबाबमा भारतीय अधिकारीले वीरगन्जबाहेक अन्य नाकाबाट आलु, प्याज, फलफूल, माछा, तरकारीजस्ता तत्काल कुहिने र सड्ने सामान बोकेका मालबाहक साधन छाड्ने गरेका थिए । 'उनीहरुले आफ्नो मात्र स्वार्थ पूर्ति गर्न खोजेकाले यस्ता वस्तुको आयात नखुलाउने निर्देशन दिइएको हो,' ती अधिकारीले भने ।

ती अधिकारीका अनुसार भैरहवा नाकाबाट सोमबार ५० वटा मालबाहक कन्टेनर छाडिएकामा एक टं्याकर तेल र ३ बुलेट ग्यास मात्र थियो । नेपालगन्जबाट आइतबार राति नेपाल पक्षको दबाबपछि ६ टं्याकर तेल छाडिएको थियो ।
'भारतीय अधिकारीले नाकाबन्दी नभएको देखाउन र आफ्ना व्यापारीको फाइदाका लागि मात्र केही कन्टेनर छाडेका हुन्,' ती अधिकारीले भने, 'सबैभन्दा आवश्यक पेट्रोलियम पदार्थ नछाड्नुले उनीहरुको नियत प्रस्ट हुन्छ ।'

भन्सार नाकाहरुमा तेल बोकेका टं्याकर सबैभन्दा अगाडि भए पनि उनीहरुलाई पछाडि पठाएर कुहिने वस्तु बोकेका कन्टेनर छाड्ने गरिएको छ । अहिले पूर्वको मेची, विराटनगरको रानी भन्सार, वीरगन्जको रक्सौल, भैरहवाको सुनौली र नेपालगन्जको रुपैडिहा नाकामा हजारौंका संख्यामा तेल, ग्यास र अन्य मालसामान बोकेका कन्टेनर लाममा अलपत्र छन् ।

भारतले लगाएको नाकाबन्दीका कारण नेपालभर पेट्रोलियम पदार्थ अभाव सुरु भएको छ भने सरकारले पनि ठूलो मात्रामा राजस्व गुमाइरहेको छ । भन्सार नाकाहरुबाट अन्य समयमा दैनिक औसत ५० करोड रुपैयाँ बराबरको राजस्व उठ्ने गरेको थियो । तराईमा आन्दोलन सुरु भएपछि राजस्व ३० करोडमा झरेको थियो भने भारतले नाकाबन्दी लगाउन सुरु गरेको पाँच दिनयता राजस्व असुली ५ करोडमा सीमित भएको छ ।

Monday, September 28, 2015

राजनितिक विशलेषक सिके लालले भने:आन्दोलन तब सम्म गर्नोस जव सम्म सम्पुर्ण नेपाल र काठमान्डौमा पनि मधेसीको कब्जा होस|

आश्विन ११ | जनकपुरमा खचाखच उपस्थितका बिच आन्दोलनकारीलाई चर्चित राजनितिक विशलेषक सिके लालले  भने– आन्दोलन अलग मधेसका लागि होइन र मात्र मधेसका लागि पनि होइन, यो तब सम्म गर्नोस जव सम्म सम्पुर्ण नेपाल र काठमान्डौमा पनि मधेसीको कब्जा नहोस । उनले यो पनि भने– भारतलाई आँखा चिम्लेर विश्वास नगरौं, २०११ देखि अहिले सम्म राज्य र मधेसी बिच तिन तिन पटक आफ्नै सक्रियतामा आफै साक्षी बसेर सम्झौता गराएका हाम्रा छिमेकी  ती सम्झौता कार्यान्वयन गराउन किन सकेनन, त्यसैले यो पनि उस्को लागि अन्तिम इज्जतको लडाई हो, यसमा उस्को इज्जत बचाँउ तर धोकाहुने तिर पनि सचेत रहौं । उनले भने–आठ कलास पास ओली र १० कलास सम्म पढेका बामदेवले मधेसीकोे मांग केहो बुझन नसक्नु उनको कम पढाइ लेखाई र अयोग्यताकै प्रमाण हो । किनकी मधेसीको मांग के हो भन्ने कुरा म २५ वर्ष देखि लेख्दै आएको छु । ओली र गौतमलाई मधेसीसंग गरिएका सम्झौता कसैसंग पढाएर बुझन आग्रह गरे |



चलिरहेको मोटसाईकलमा आगो

नेपालगंज १२, २०७२ नेपालगंज बाट पोखरा जादै गर्दा भालुवाङ पुलमा एकासी भे3प 5351नं. को पल्सर मोटरसाईकलमा आगो लागेको छ मोटरसाईकल धनि अस्पाक अंन्सारी पोखरा जादै थिए| आगो लागेको आफुले थाहा नपाएको बताए|सो आगो पैट्रोलको जरकिन बोक्दा साईलेन्र बाट लागेको जानकारी प्राप्त भएको छ|



Photo: Sagar Thapa

 
Photo: Sagar Thapa

नाकाबन्दीप्रति भारतीय असन्तुष्ट

पानीट्यांकी (भारत)- नयाँ संविधान जारी भएलगत्तैदेखि चिढिएर नेपालतिर नाकाबन्दी गर्ने आफ्नै सरकारको कदमसँग भारतीय नागरिक असन्तुष्ट छन्। नेपालसँग नाका जोडिएका क्षेत्रका भारतीय नागरिकले सरकारको पछिल्लो कदमलाई 'बेइज्जतिपूर्ण' भन्दै विरोध गरेका छन्।

भारत पश्चिम बंगाल तथा बिहार राज्यका नेपाली सीमावर्ती क्षेत्रका विद्यार्थी, युवा अभियन्ता तथा कतिपय राजनीतिक कार्यकर्तासमेतले आफ्नै सरकारको आलोचना गरेका छन्। अहिलेसम्म संगठित रूपमा नाकाबन्दीविरुद्ध भारतको नागरिक पंक्तिमा आवाज उठेको छैन। तर, यस्तै अवस्था जारी रहे संगठित रुपमै आवाज उठ्नसक्ने अनुमान भारतीय नागरिककै छ। 'रोटीबेटी' मात्रै नभई दैनिक जीवन गुजारामा पनि दुवै पक्षका जनता एकअर्कासँग सम्बन्धित छन्। सीमा नाकामा हुने यस्तो अवरोधले वारिपारि दुवैतिरको जनजीवन नराम्ररी बिथोलिएको बताउने उनीहरु सरकारले यसपटक 'बढी नै गरेको' ठान्दैछन्।

'भारत र नेपालको आपसी सम्बन्ध विशिष्ट खालको छ,' सोमबार पानीट्यांकीमा भेटिएका बिहार किसनगन्जका शिक्षक अनिल सहनीले नागरिकसँग भने 'तर भारतीय सरकारको पछिल्लो कदमले सम्बन्ध राम्रो पार्न सघाउँदैन।' झापा भद्रपुरमा आफ्ना धेरै नातेदार रहेको बताउने उनले नेपालको आन्तरिक मामिलामा भारतले दबाब नदिनु राम्रो हुने बताए। 'नेपाली राजनीतिमा भारतीय हस्तक्षेप छ भन्ने दुवैतिरका नागरिकलाई थाहा छ,' उनले भने, 'तर नाकाबन्दी गरेर, सन्धि–सम्झौता बिर्सेर भारतले नेपाली जनतालाई दुःख दिनु राम्रो होइन।'
नाकाबन्दीविरुद्ध सोमबार काँकडभिट्टामा राष्ट्रवादी नागरिक मञ्चको अगुवाइमा भएको प्रदर्शन। तस्बिर : राजु

साताभन्दा लामो समयदेखि नाकामा नेपालतिर आउने अत्यावश्यक उपभोग्य सामान बोकेका साधन रोकिएका छन्। अरुबेला निर्धक्क आवतजावत गर्ने सर्वसाधारण लामो र झन्झटलाग्दो सुरक्षा घेरा छिचोल्न बाध्य छन्। 'यस्तो व्यवहारसँग हामी आफैँ पनि दुःखी छौं,' रानीगन्ज ग्राम पञ्चायतका पूर्व जनप्रतिनिधि सिद्धान्त बर्मनले भने, 'नेपालजस्तो हितैषी छिमेकीलाई यसरी दुःख दिँदा उसलाई केही घाटा छैन, बरु हामीलाई धेरै बेफाइदा छ।' मार्क्सवादी कम्युनिष्ट पार्टीका कार्यकर्ता बर्मन नागरिक पंक्तिमा उत्पन्न आक्रोशले अन्ततः भारतीय संस्थापनलाई राम्रो नहुने बताउँछन्। 'भारतले यति कमजोर र लज्जास्पद कूटनीति देखाउन हुँदैन,' उनले भने, 'जतिसक्दो चाँडो नाका खोलेर असल छिमेकीको व्यवहार देखाउनुपर्छ।'

बाघडोग्रास्थित उत्तर बंगाल विश्वविद्यालयका स्नातक विद्यार्थी प्रिन्सकुमार सिंह आफ्नै सरकारसँग रुष्ट छन्। राजनीतिशास्त्रका विद्यार्थी उनी नेपालको आन्तरिक मामिलामा छिमेकको हस्तक्षेप कूटनीतिक मर्यादाविपरीत हुने बताउँछन्। 'केही साना नेपाली मिडियाले गोर्खाल्यान्डको पक्षमा लेख्दा टाउको दुखाउने भारतीय अगुवा अहिले नेपालको मामिलामा पूरै हस्तक्षेप हुँदा पनि नबोल्नु विरोधाभाष हो,' उनले भने, 'हामीलाई जत्तिकै उनीहरुलाई पनि आफ्नो देशप्रति गर्व छ, यो कुरा हाम्रो सरकारले भुल्नु हुँदैन।'

त्यसो त नेपाली ग्राहककै भरमा चलेका सीमावर्ती भारतीय बजारका व्यवसायी त आफ्नै सरकारले गाँस खोसेको अनुभूतिमा छन्। पानीट्यांकीमा मोटरपार्टस् तथा मोटरसाइकल मर्मत केन्द्र चलाएर बसेका सफल बर्मन एक सातायता ९५ प्रतिशत व्यापार चौपट भएको बताउँछन्। 'दिनमा कम्तीमा ५० जनाभन्दा बढी बाइक बनाउन आउँथे, दोकानमा भीडभाड भइरहन्थ्यो,' सातायता ज्यादै फुर्सदिलो बनेका उनले भने, 'आफ्नै सरकारले गाँस खोसिरहेको छ।'

उनीजस्ता दर्जनौं ग्यारेज सञ्चालकको हालत उही छ। 'यहाँका दर्जनौं ग्यारेजको नियमित ग्राहक नेपाली नै हुन्,' उनले भने, 'नाकामा अवरोध भएपछि सबैको व्यापार सकिएजस्तै भएको छ।'

त्यसो त भारतीय नाकाका खाद्य सामग्रीका पसल पनि नेपाली ग्राहककै भरमा चलेका छन्। नेपाली बजारभन्दा तुलनात्मक रूपमा सस्तो पाइने भएपछि नेपाली ग्राहक उतै झुम्मिन्थे। अझ दशैं, तिहारजस्ता चाडपर्वको मुखैमा त यहाँका बजार नेपाली ग्राहकले भरिन्थ्यो तर अचेल यस्तो दृश्य हराएको छ।

भारतीय कदमविरुद्ध नेपाली नाकामा झन् आक्रोश चुलिँदो छ। यहीक्रममा पूर्वी काँकडभिट्टा नाकामा सोमबार प्रदर्शन भएको छ। भारतले अत्यावश्यक वस्तु तथा (पेट्रोलियम) इन्धन आयातमा लगाएको नाकाबन्दीलाई नेपालको आन्तरिक मामिलामाथिको हस्तक्षेप भन्दै राष्ट्रवादी नागरिक मञ्चको अगुवाईमा प्रदर्शन गरिएको हो।

'देशभक्त नेपाली एक हौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, भारतीय विस्तारवादको विरोध गरौँ, अघोषित नाकाबन्दी खुला गर, अन्तर्राष्ट्रिय मार्ग अवरोध गर्न पाइँदैन,' जस्ता चर्का नाराबाजी गर्दै अपराह्न ४ बजे र्याषली प्रदर्शन भएको हो।

काँकरभिट्टा बसपार्क, गुराँसपथ, शान्ति पथ, बाहुनडाँगी रोड, पूर्व प्रगति टोल, मेचीडाडा, नेपाल—भारत जोड्ने मेची पुलको नेपालतर्फ, इलाका प्रहरी कार्यालय, भन्सार परिसर हुँदै र्यााली मेची भन्सार कार्यालयको यात्रु शाखाअघिको खुला स्थानमा कोणसभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै मञ्चका अध्यक्ष भुपाल शिवाकोटीले भारतले अघोषित नाकाबन्दी जारी राखेर सीमामा कडाइको विरोध गरेका थिए।

एमाओवादीका पाँच नेतासँग स्पष्टीकरण

काठमाडौं (अन्नपूर्ण): एमाओवादीले आफ्ना पाँच नेतासँग स्पष्टीकरण मागेको छ। एमाओवादीको सोमबार बसेको केन्द्रीय समिति बैठकले स्थायी समिति सदस्य लोकेन्द्र बिष्ट, पोलिटब्युरो सदस्य हेमन्तप्रकाश वली, पोलिटब्युरो सदस्य प्रभु साह र केन्द्रीय सदस्य रामकुमार शर्मा तथा रामरिझन यादवसँग स्पष्टीकरण लिने निर्णय गरेको हो।
 
पार्टीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएर खेतीपातीमा लागेका बिष्टलाई स्पष्टीकरण सोधेर पार्टीमा फिर्ता गराउने वातावरण बनाउने निर्णय गरिएको प्रवक्ता दीनानाथ शर्माले बताए। उनका अनुसार सांस्कृतिक विचलनको आरोप लागेका वलीलाई भने स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ।
 
संविधानमा हस्ताक्षर नगरेका साहलाई आत्मालोचना गर्न लगाई स्पष्टीकरण सोधिने भएको छ। शर्मा र यादवलाई भने स्पष्टीकरण सोधेर गल्ती महसुस गरी आएमा पार्टीमा स्थान दिने निर्णय गरिएको प्रवक्ता शर्माले बताए। 
साह, यादव र शर्माले पार्टी परित्याग गरेका बाबुराम भट्टराईलाई प्रमुख अतिथि बनाएर मंगलबारदेखि तराई मधेसमा कार्यक्रम संयोजन गरिरहेका छन्।'अराजक बन्दै गएको पार्टीलाई व्यवस्थित र अनुशासित बनाउन स्पष्टीकरण र कारबाहीको प्रक्रिया अगाडि बढाइएको हो', शर्माले भने। 
 
आगामी कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको बैठकले काठमाडौं, इटहरी, कोहलपुरसहित चार स्थानमा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम तय गरेको छ। प्रशिक्षणमा अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महरा सहभागी हुनेछन्।