Taja Samachar Nepal

Taja Samachar Nepal
News

Tuesday, September 22, 2015

असन्तुष्टलाई वार्तामा ल्याउन कोइरालाको पहल

नयाँ संविधान जारी भएपछि पहिलोपटक असन्तुष्ट तराई केन्द्रीत दलका नेताहरुलाई भेटेर प्रधानमन्त्री सुशील कोइरालाले वार्ताको पहल गरेका छन्।
नयाँ संविधान कार्यन्वयन भएको तेस्रो दिन, मंगलबार, प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत तराई केन्द्रीत दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरी उनीहरुलाई वार्ताबाट निकास खोज्न आग्रह गरेका छन्।
मंगलबार दुईवटा तराई केन्द्रीत मोर्चाका नेताहरुसँग छलफल गरेका प्रधानमन्त्रीले नयाँ संविधान संशोधन मार्फत उनीहरुका माग सम्बोधन गर्न सकिने भन्दै वार्ताको वातावरण बनाउन आग्रह गरे।
आन्दोलनकारी दलहरुले तराईका जिल्लामा लगाइएको कर्फ्यू र परिचालन गरिएका थप सुरक्षाकर्मी फिर्ता लिनुपर्ने अडान दोहोर्याएपछि प्रधानमन्त्रीले आन्दोलनलाई हिंसात्मक र आक्रामक हुनबाट रोक्न आग्रह गरेका थिए।
संविधान जारी भएपछिको अवस्थामा नयाँ चरणको आन्दोलन घोषणा गर्न मोर्चासम्बद्ध नेताको बैठकमा भाग लिन सप्तरी जाने क्रममा रहेका तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग मंगलबार बिहान उनकै पार्टी कार्यालयमा पुगेर प्रधानमन्त्री कोइरालाले छलफल गरेका हुन्।
बुधवार राष्ट्रसंघीय महासभामा भाग लिन न्युयोर्क जान लागेका उनले समानुपातिक समावेशीता, जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारण र प्रदेशका सीमांकनका बारेमा उठेका माग वार्तामार्फत सम्बोधन गर्न सकिने बताएका थिए।
उक्त भेटमा सहभागी नेपाली काँग्रेसका नेता एवं वन मन्त्री महेश आचार्यले प्रधानमन्त्रीले वार्ता र सहमतिमा जोड दिएको बताए।
उनले राज्य र आन्दोलनकारी दुवैका तर्फबाट मूठभेड हुने वा बल प्रयोग गर्नुपर्ने परिस्थिति रोकियोस् भन्नेमा दुवै पक्ष सहमत भएको जनाए।उनले भने, “वार्तामा बसेर समस्याको समाधान खोजौँ, अब संविधानमा गर्न सकिनेसम्म सुधारहरु के हुन् त्यसमा छलफल गरौँ र साझा धारणा बनाएर जाऔँ भन्ने हो।”
उक्त भेटमा अध्यक्ष ठाकुरले तराईमा भइरहेको आन्दोलनका क्रममा सुरक्षाकर्मीले दमन गरिरहेको भन्दै त्यहाँ देखिएका समस्याको राजनीतिक समाधानबारे प्रमुख ३ दलको साझा मार्गचित्र सहित आउन आग्रह गरेका थिए।
तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयश त्रिपाठीले ४० भन्दा बढी आन्दोलनकारीको ज्यान गइसकेको र ६ सय भन्दा बढी घाइते हुँदासमेत सरकारले राजनीतिक समाधान नखोजेको आरोप लगाए।
उनले भने, “अझै पनि सेना परिचालन गरिएको छ, राजनीतिक समाधान खोजिएको छैन। त्यसका लागि सुरुमा तीन दल आफैँ एकत्रित हुनुस्, विवाद छ भने मिलाउनुस्, पहिले एमाले र एकीकृत माओवादीसँग कुरा गरेर हामीसँग वार्ता गर्नुस्।”
यस अघि मंगलबार दिउँसो प्रधानमन्त्री कोइरालाले, नेकपा एमालेका अध्यक्ष केपी ओली र एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलाई साथ राखेर मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र उनले नेतृत्व गरेको मोर्चामा आवद्ध नेताहरुसँग छलफल गरेका थिए।
तत्कालै संविधान संशोधन गरी आन्दोलनरत दलहरुका माग नसमेटे स्थिति विग्रन सक्ने भन्दै चाँडै निस्कर्षमा पुग्न आफूले प्रमुख दललाई आग्रह गरेको गच्छदारले बताए।फोरम लोकतान्त्रिकको पार्टी कार्यालय पुगेका प्रमुख नेताहरुले संविधान घोषणा गर्नुअघि नै गच्छदारसँग सहमतिको नजिक पुगिएको भन्दै चाँडै सहमति जुट्नेमा आफूहरु आशावादी भएको बताएका छन्।
फोरम लोकतान्त्रिकसहित ३ दलले जारी गतिरोध अन्त्य गर्न राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जाने कार्यक्रम रद्द गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
भारतले तराईमा जारी आन्दोलनको राजनीतिक समाधान खोज्न दबाब दिंदै गर्दा नेताहरुले पछिल्लो सक्रियता बढाएका छन्।
सोमबार भारतीय विदेश मन्त्रालयले ५ हप्ता यता तराईमा भइरहेका आन्दोलनका कारण नेपालमा सामान ढुवानी गरिरहेका भारतीय कम्पनीहरुले सुरक्षा चिन्ता व्यक्त गरेको जनाएपछि नेपालमा भारतीय कदमबारे अनेकौं अडकलबाजी भएका छन्।

महोत्तरीको जलेश्वरस्थित तीन सिमा नाका बन्द

काठमाडौँ, ५ भदौ - भारतीय पक्षले सुरक्षा व्यवस्थामा कडाइ गर्ने नाममा महोत्तरीको जलेश्वरस्थित तीन सिमा नाका बन्द गराएको छ। 

भारतीय पक्षले मूल भन्सार कार्यालय, सम्सी छोटी भन्सार नाका र मटिहानी नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ। ती भन्सार नाकामा सर्वसाधारण र सवारी साधनमा रोक लगाइएको छ। 

नेपालमा संविधान निर्माण भएपछि नेपाली भू-भागमा हिंसात्मक घटना बढेको कारण देखाउँदै भातरले सिमा नाका बन्द गराएको हो।





Monday, September 21, 2015

भारतको सुरक्षा चिन्ताबारे ‘कुटनीतिक छलफल हुने’

पछिल्ला दुई दिनमा संविधान निर्माण र तराईमा जारी तनावबारे भारतले दुईवटा कडा विज्ञप्ति जारी गरेपछि त्यसबारे कुटनीतिक तहमा छलफल गर्ने सरकारका एकजना मन्त्रीले बताएका छन्।
आइतबार संविधान घोषणा भएको बिषय, उसकै शब्दमा जानकारीमा लिएको व्यहोराको विज्ञप्ती निकालेको भारतीय विदेश मन्त्रालयले हिजो पुन: तराईमा चलिरहेको आन्दोलनका कारण नेपालको सीमावर्ती क्षेत्रमा आफ्ना ढुवानी कम्पनी र ब्यवसायीहरुको सुरक्षाबारे चिन्ता ब्यक्त गरेको छ।
त्यसबारे बीबीसीलाई प्रतिक्रिया दिदैँ वाणिज्य तथा आपूर्ती मन्त्री सुनिलबहादुर थापाले नेपालभित्र भारतीय यातायातलाई सुरक्षाको अनुभूति दिन सरकार प्रतिबद्ध रहेको बताए।
नयाँ संविधानको स्वागत नगरी उक्त बिषय आफ्नो जानकारीमा रहेको बताएको भारतीय विदेश मन्त्रालयले हिजो साँझ अर्को विज्ञप्ती निकाल्दै संविधान घोषणा भएपछि तराइका जिल्लामा भएका हिंसाप्रति चिन्ता व्यक्त गरेको थियो।
विरोध प्रदर्शन
नेपालको राजनीतिक नेतृत्वलाई तराईको तनाव सम्बोधन गर्न तत्काल कदम चाल्न ध्यानाकर्षण गराएको उल्लेख गर्दै भारतले आफ्नो सल्लाहको सुनुवाई भएको भए गम्भीर घटना रोक्न सकिने उल्लेख गरेको छ।
तराईमा जारी आन्दोलनका कारण भारतका ढुवानी र यतायात व्यवसायीले सुरक्षा चिन्ता सहित गुनासो गरिरहेको भारतले बताएको छ।
वाणिज्य तथा आपूर्ती मन्त्री सुनीलबहादुर थापाले पछिल्लो वक्त्वयमा उठाइएका चासोबारे सरकारले भारतसँग कुटनीतिक तहमा छलफल गर्ने बीबीसीलाई बताए।
तराईमा आन्दोलनरत पक्षलाई नसमेटेर संविधान घोषणा गरिएकोमा असन्तुष्टि व्यक्त गरिरहेको भारतले नेपालमा देखिएका समस्या राजनीतिक प्रकृतिको भएको भन्दै बल प्रयोग गरी त्यसलाई हल गर्न नसकिने बताएको छ।उनले भने, “विगतमा यस्तो समस्या हुँदा हामीले कुटनीतिक बाटो प्रयोग गरेका थियौं। अब पहिले हामी आफैले त्यसलाई ब्यवस्थापन गर्न खोज्छौं। अर्को हामीले प्रयोग गर्ने भनेको कुटनीतिक पहल नै हुनेछ।”
नेपाली अधिकारीहरुले असन्तुष्ट पक्षलाई पनि वार्तामा ल्याउन पहल भैरहेको भन्दै उनीहरुका चासो संविधान संसोधन मार्फत संसोधन गर्न सकिने बताउँदै आएका छन्।
आपूर्तीमन्त्री थापाले भारतीय आपूर्तीकर्ताको सुरक्षा चासो सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए।
उनले भनाई थियो, “सुरक्षाको कारण भनेकोले हामी त्यसमै केन्द्रित भएर उहाँहरुको सुरक्षाको विषयमा सम्झौता नगरिकन रक्सौलदेखि काठमाडौं ल्याउन हामीले ब्यवस्था मिलाउनु पर्छ। हामी त्यो गरिनै रहेका छौं र सुरक्षा थप बलियो पार्न गृहकार्य गर्नेछौं।”
संविधान निर्माणमा आफ्नो माग सम्वोधन नभएको भन्दै हालै भएका आन्दोलनका क्रममा ४० भन्दा धेरैको ज्यान गइसकेको छ।
नयाँ संविधान जारी भएकोमा भारतले स्वागत नगरेकोमा प्रमुख दलका नेताहरुले सार्वजनिक असन्तुष्टि आइरहेका बेला भारतको पछिल्लो विज्ञप्तीलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
ढुवानी जस्ता विषयमा चिन्ता जाहेर गरेर भारतले तराइको आन्दोलनलाई तत्काल सम्बोधन गर्न दबाब दिन चाहेको देखिन्छ।

ताप्लेजुङमा एम्वुलेन्स सहित तिनवटा गाडीमा तोडफोड

ताप्लेजुङ ५ असोज –ताप्लेजुङमा सोमवार राती एउटा एम्वुलेन्स सहित तिनवटा सवारी साधनमाथी
तोडफोड भएको छ । विरामी पु¥याएर पाचथर फिदिम वाट ताप्लेजुङ तर्फ आईरहेको नेपाल ग्रामिण सेवा मञ्चको मे १ च १९२६ नम्वरको एम्वुलेन्समा सोमवार राती तोडफोड भएको हो । ताप्लेजुङको दोखुमा पर्ने ल्याङ्वामा अज्ञात समुहद्धारा तोडफोड भएको वताईएको छ ।
तोडफोडबाट एम्बुलेन्सको अगाडिको भाग क्षतिग्रस्त हुनुका साथै गाडीका विभिन्न भागमा क्षति पुगेको संस्थाका अध्यक्ष दिनेश अधिकारीले वताएका छन् । यस्तै ताप्लेजुङ सदरमुकाम फुङ्लीङको माथिल्लो वैंकलाईनको रोडमा समेत दुई वटा जिपमा तोडफोड भएको छ । मे १ ज १९४६ र ना १ ज ३२१५ नम्वरको जिपमा तोडफोड भएको प्रहरी नायव उपरिक्षक शान्तिराज कोईरालाले जानकारी दिनुभयो ।
यि दुई वटा जिपका अघाडीका सिसा फुटेका छन् । यि दुईवटै जिप पार्किङ गरेर राखिएको अवस्थामा तोडफोड भएको हो । संघीय लिम्बुवान पार्टी नेपालले आवाहान गरेको बन्दकै समयमा गाडीमा तोडफोड भए पनि सो पाटीले तोडफोडको
घटनामा आफुहरुको कुनै संलग्नता नरहेको बताएको छ । संघीय लिम्बुवान पार्टी नेपालका जिल्ला उपाध्यक्ष ईन्द्र श्रेष्ठले बन्दको समयमा एम्बुलेन्स, प्रेस, शव वाहन, कुटनीतिक नियोगका सवारीसाधनलाई निर्बाधरुपमा सञ्चालन हुन दिएकाले तोडफोडमा आफ्नो पार्टीको सहभागिता नरहेको बताए ।
यता तोडफोडमा संलग्नको खोजी कार्य भईरहेको प्रनाउ कोईरालाले वताउनुभएको छ । यस्तै आईतवार देखिनै संघिय लिम्वुवान पाटी लगाएतका दलहरुले गरेको आमहड्तालका कारण ताप्लेजुङ सहित पुर्वि पहाडी जिल्लाको जनजिवन प्रभावित वनेको छ । ऐतिहासिक पृष्ठभुमी र पहिचानका आधारमा लिम्वुवान राज्यको माग गर्दै आमहड्तालको आव्हान गरिएको वताईएको छ ।

एमाले सांसद राज कुमार गुप्ताको घरमा पेट्रल बम प्रहार

वीरगन्ज, ५ असोज । मधेसी दलका कार्यकर्ताले कर्फ्यू अवज्ञा गरेर प्रदर्शनका क्रममा सोमबार साँझ पर्सा क्षेत्र नम्बर–३ का एमाले सांसद राज कुमार गुप्ताको घरमा पेट्रल बम प्रहार गर्दै तोडफोड र आगजनी गरेका छन् ।
उनीहरुले वीरगन्ज श्रीपुरमा अवस्थित सांसद गुप्ताको घरमा प्रदर्शनकारीहरले तोडफोड र आगजनी गरेका हुन् ।
करिब ५०जनाको संख्यमा रहेका प्रदर्शनकारीहरुले शुरुमा सभासद गुप्ताको घरमा बाहिरबाट तीनवटा पेट्रोल बम प्रहार गरेका थिए ।
त्यसपछि उनीहरुले मेनगेट तोडेर घरभित्र प्रवेश गरी ना १५ प ९४८४ नम्बरको मोटरसाइकल, एलइडी टिभी , दुईवटा साइकल , सोफा , बच्चका खेलौना , दुर्इवटा साइकल लगायतका सामन बाहिर निकालेर आगजनी गरे । उनीहरुले घरका सजावटका सामनहरु पनि तोडफोड गरे ।
तोडफोड भएको खबर पाएर घटनास्थलमा प्रहरी पुगेलगत्तै प्रदर्शनकारीहरु फरार भएका थिए । उनीहरुलाई लखेटने क्रममा प्रहरीले तीन राउण्ड रबरको गोली र एक सेल अश्रू ग्याँस प्रहार गरेको थियो । त्यस्तै उनीहरुले नेपाल पत्रकार महासंघ पर्सा शाखाको भवनमा पनि सोमबार साँझ तोडफोड गरेका छन् । वीरगन्जको मूर्ली बगैंचामा अवस्थित महासंघको भवनमा सोमबार साँझ ६ बजे तिर १५/२० जनाको संख्यामा गएका व्याक्तिहरुले तोडफोड गरेका हुन् ।
तोडफोडबाट भवनको झायालका सबै शिशाहरु फुटेका छन् । यस्तै उनीहरुले महासंघको साइनबोर्ड झिकेर आगजनी पनि गरेका छन्

चन्द्र बहादुर डाँगीको शबलाई नेपाल पठाउन प्रयासरत

सन्दर्भ स्व. चन्द्र बहादुर डाँगी

कुनै लिखित सम्झौता विना आफ्नो भतिजा दोलख डाँगीसंग काठमाडौबाट प्रवेशाज्ञा नचाहिने बाटो (काठमान्डौ – मुम्वई – सिउल (द. कोरिया) – नादी (फिजी) – अपिया (पश्चिम सामोआ) भएर यहाँ २०१५ मार्चको मध्यतीर आईपुगे। दोलखका अनुसार नेपालबाट ल्याउने ६ महिना पछि सर्कस सकिन्छ अनि नेपालै फर्काउने दुईजनाको हवाई टिकट दिने, यहाँ बस्दा अवधीको भोजन निःशुल्क उपलब्ध गराउने र सो अवधीको रकम यू एस डलर २६,००० दिने मौखिक संझौता भएको हो। सो मौखिक संझौता गराउन पहल कदमी लिई छलफलमा सहभागी हुनेहरूमा ईटहरी निवासी थानेश्वर गुराँगाई, लमजुङ निवासी मैते गुरूङ, आईते गुरूङ र स्वयं दोलख थिए। सो वापत सर्कस मालिक ब्रुनो लोयाल (Bruno Loyale) ले १,००० डलर पकेट खर्च वापत पेश्की स्वरूप पठाईदिए अनि शुरू भयो उनीहरूको यात्रा। उनीहरु यहाँ आईपुगे पछि यहाँ आएको दुई महिना पछि मात्र २०१५ मे महिनाको मध्यतीर मेरो भेट उनीहरूसंग भएको हो। केहीसमय यहीं बसेर अगस्तको पहिलो हप्तामा सर्कस देखाउन अमेरिकन सामोआ तर्फ गएका थिए। सोही क्रममा चन्द्र बहादुर डाँगी विरामी भई निधन भयो। अनि अघिल्लो हप्ता स्व. डाँगीको शब यहाँ (पश्चिम सामोआ) ल्याई सुरक्षित राखिएको छ। सर्कस मालिक ब्रुनो शबलाई नेपाल पठाउन प्रयासरत छन। तर केही कठिनाईहरू अझैपनि छ सायद सबै प्रक्रिया मिलेमा अनि झन्झट नभएमा नेपाली समय अनुसार शनिवार (असोज ९ गते) राती ०९:५५ बजे हङकङबाट ड्रागन एयर मार्फत नेपाल आईपुग्नेछ। 


तर विडम्वना के छ भने सर्कस मालिकले मौखिक संझौता अनुसार रकम दिन आनाकानी गरिरहेका छन। हिजो उनीसंग दोलख र मैतेको साथमा मेरो कुरा भए अनुसार दोलखलाई फर्कने हवाई टिकट र पकेट खर्च १,००० डलर मात्र दिन सक्छु। किनभने मैले उनको ओखती उपचार वापत ७,८०० डलर खर्च गरेको छु। अनि मैले सर्कसबाट खास आम्दानीपनि गर्न सकेको छैन त्यसैले मैले गर्न सक्ने पनि यत्तिनै हो। म अरू केहि गर्न सक्दिन। तर दोलखले ओखती खर्च बापतको रकम कट्टा गरि बाँकी पाउनु पर्ने जिकिर गर्छन, जुन कुरो जायज पनि छ। यो कुरो हामी दुवै जनाले हिजो जोडदार रूपमा राख्‍दा आफू यस भन्दा बढी केही गर्न नसक्ने भन्छन। यो केशलाई अब प्रहरीमा र यहाँको सरकारलाई रिपोर्टिंग गर्छु भनेर दोलखले कडा रुपमा प्रस्तुत भए।

आज निज सर्कस मालिक ब्रुनोले मलाई एक ईमेल लेखि केही रकम बढाउन सक्ने तर्फ ईंगित गरेका छन अनि भेटका लागि समेत आमन्त्रण गरेका छन।

-Yogendra Dahal Chetri
https://www.facebook.com/ybchhetri?fref=ts

नयाँ संविधान यथार्थ जानकारी गराउन नेपाली काँग्रेस जनतामा जाने

काठमाडौँ, ४ असोज / नयाँ संविधानमा भएका सबै विषयको यथार्थ जानकारी गराउन प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस जनतामा जाने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको काँग्रेस केन्द्रीय समितिको बैठकले जारी भएको नयाँ संविधानका उपलब्धिलाई जनस्तरसम्म पु¥याउन सकेमात्र संविधानको कार्यान्वयन सफल हुने ठहर गरेको हो ।
काँग्रेसले संविधानका सकारात्मक उपलब्धि जनसमक्ष जानकारी गराउन सबै दलले पहल गर्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो । असन्तुष्टका स्वर सुनिएका क्षेत्रमा संविधानका बारेमा यथार्थ बोध नभएको हुनसक्ने भन्दै काँग्रेसले संविधानमा भएका समावेशी हकअधिकारका बारेमा जानकारी गराउने निर्णय गरेको छ ।
काँग्रेसले सहमति, सहकार्य, एकता र मेलमिलापबाट समस्त असन्तुष्ट पक्षलाई पनि सम्बोधन गर्नका लागि पहल गर्ने र नेतृत्व लिने निर्णय गरेको छ । त्यस्तै बैठकले समग्र प्रक्रियाबाट अहिले पनि तराई मधेस तथा थारु समूहमा भएका असन्तुष्टिलाई अझै वार्ता र संवादबाट सहमतिमा ल्याउन सकिने निष्कर्ष निकालेको छ । साथै संविधान संशोधनमार्फत पनि कतिपय माग सम्बोधन गर्न सकिने र त्यसका लागि पहल गर्ने निर्णय गरेको छ ।