Taja Samachar Nepal

Taja Samachar Nepal
News

Saturday, September 19, 2015

मधेसीलाई फेरि आह्‍वान

काठमाडौं: प्रमुख तीन दलका शीर्ष नेताहरूले संविधान अपरिवर्तनीय दस्ताबेज नभएको तथा संवाद र सहमतिबाट परिमार्जन गर्दै जान सकिने भन्दै संविधानसभाबाहिर रहेका दलहरूलाई आइतबार हुने घोषणासभामा सहभागी हुन आग्रह गरेका छन्।
 
संविधान घोषणा हुने अघिल्लो दिन शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाएमाले अध्यक्ष केपी ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त पत्रकार सम्मेलन गरी संविधानलाई संशोधन गरेर जान सकिने भन्दै मधेस केन्द्रित दलहरूलाई वार्तामा आउन अनुरोध गरेका हुन्। 
 
'संविधानमा देखिएका केही असन्तुष्टि आपसी एकता, मेलमिलाप र वार्ताबाट समाधान गर्न सकिन्छ,' पत्रकार सम्मेलनमा प्रधानन्त्री कोइरालाले भने, ‘हामी अहिले पनि सहमतिको प्रयासमा छौं। यसलाई सबैले अवसरका रूपमा मनाऔं। यो एउटा प्रक्रिया मात्रै हो। जहिले पनि संशोधन गरेर जान सकिन्छ।' एमाले अध्यक्ष केपी ओलीले पनि मधेसी दलहरूले उठाएका अधिकांश मागहरू सम्बोधन भइसकेको र अझै केही बाँकी रहे संशोधन गरेर अघि बढ्न सकिने बताए। 'संविधान असंशोधनीय दस्ताबेज होइन', ओलीले भने, 'यो परिवर्तनीय दस्ताबेज हो। छिमेकी मुलुक भारतमा हेर्नुस्, संविधानसभाले संविधान पारित गरेपछि पनि सयौंपटक संशोधन भएको छ।'
 
संविधानसभाबाट बाहिरिएर आन्दोलनरत तराईका दलहरू संविधान घोषणासभामा सहभागी भए रूपान्तरित संसद्ले आवश्यकताअनुसार संशोधन गर्न सक्ने नेताहरूले बताए। 'संविधानले धेरै विषय समावेश गरेको छ, असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन। केही विषयमा कसैको असहमति हुन सक्ला,' ओलीले भने, 'प्रदेशको सीमांकनका विषयमा अहिले केही असन्तुष्टिहरू आएका छन्। यसमा सुधार गर्न हामी तयार छौं।'
 तीनै नेताहरूले तराईमा जारी आन्दोलनका क्रममा उठाइएका अधिकांश माग पूरा भएको जिकिर गर्दै अब पनि आन्दोलन गर्छु भन्नु संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान नै नचाहनु भएको टिप्पणी गरे। 
 
'मधेस आन्दोलनमा विषेशगरी तीन विषय उठाइएका थिए', एमाओवादी अध्यक्ष दाहालले भने, 'आन्दोलनमा उठाइएका मागमध्ये नागरिकता, निर्वाचन क्षेत्र, समानुपातिक समावेशिक सिद्धान्तको माग सम्बोधन भइसकेको छ । अब आन्दोलन गर्नुको कुनै औचित्य छैन।'
 
उनले मधेसी दलहरूले उठाएका अधिकांश माग पूरा भएको र वार्ता गर्न तयार छौं भन्दा पनि अस्वीकार गर्नु तर्कसंगत नभएको बताए । संघीयता संस्थागत भएको, धर्म निरपेक्षता कायम भएको, गणतन्त्र संस्थागत भएको संविधानमा असन्तुष्टि हुनुपर्ने आधार नभएको उनले बताए। 
 
'धेरै विषय संस्थागत गरेर राजनीतिक संक्रमण अन्त्य भएको छ,' दाहालले भने, 'प्रदेशको संख्या अहिले ७ छ, भोलि बढेर १० र १४ पनि हुन सक्ला, घट्न पनि सक्छ।'
 
शीर्ष नेताहरूले आन्दोलनरत दलहरू जति छिटो वार्तामा आउँछन्, त्यति नै छिटो संविधान संशोधन हुने पनि बताए। शीर्ष नेताहरूले संविधान जारी हुन २४ घन्टा मात्रै बाँकी रहँदा जारी गरेको लिखित प्रतिबद्धतासहितको विज्ञप्तिमा समस्याको समाधान वार्ताका माध्यमबाट गर्न सकिने भन्दै संविधान संशोधनका लागि तयार रहेको उल्लेख गरेका छन्। 
 
‘संविधानमा आवश्यक संशोधन गरी अझ परिष्कृत र सबल बनाउन सक्छौं । यस तथ्यलाई मनन गरी कुनै पनि समस्याको समाधान शान्तिपूर्ण रूपमा वार्ता र समझदारीले गर्त तथा संविधान घोषणाको ऐतिहासिक उत्सवमा सहभागी हुन हामी संविधानसभाबाट बाहिरिएका र संविधानसभाभन्दा बाहिर रहेका सबै राजनीतिक दल तथा नेताहरूलाई हार्दिक आह्वान गर्दछौं', कोइराला, ओली र दाहालले संयुक्त रूपमा हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कतिपय विषयहरूलाई रूपान्तरित व्यवस्थापिका संसद्बाट सम्बोधन गर्न सकिने तर्फ सबैको ध्यान आकर्षित गर्न चाहन्छौं।'
 
तीन दलले आइतबार संविधान घोषणा भएको दिन स्वदेश र प्रवासमा रहेका सबैलाई स्वागत गरेर उत्सवका रूपमा मनाउन आह्वान गरेका छन्। 'संविधान पारित भई जारी हुन लागेको यस सुखद अवसरमा सम्पूर्ण नेपाली जनतालाई विविध किसिमले खुसीयाली, उत्सव र समारोह मनाउन हामी हार्दिक अपिल गर्दछौं', विज्ञप्तिमा छ, 'असोज ३ गते साँझ दीपावली गर्न र ४ गते जनसभालगायतका विविध कार्यक्रमसहित संविधान घोषणाको उत्सव मनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको स्वागत गर्न आह्वान गर्छौं।'

 
दलहरूले विविधतामा एकता, सात प्रदेशसहित समानुपातिक समावेशी सिद्धान्तमा आधारित संघीय प्रणाली, शक्ति पृथकीकरण, समानुपातिक प्रतिनिधित्वसहितको मि िश्रत निर्वाचन प्रणाली, समावेशी लोकतन्त्र, अधिकारसम्पन्न स्थानीय तह, जनउत्तरदायी कार्यपालिका, दुई सदनात्मक व्यवस्थापिका र स्वतन्त्र न्यायप्रणाली संविधानका विशेषता भएको विज्ञप्तिमा उल्लेख गरेका छन्। 
 
'पूर्ण प्रेस स्वतन्त्रता र सनातनदेखिको धर्म संस्कृतिको संरक्षण र धार्मिक स्वतन्त्रताको प्रत्याभूतिसहित धर्म निरपेक्षताको व्यवस्था गरिएको छ', विज्ञप्तिमा छ, ‘कुनै पनि नेपालीले नागरिकताबाट वञ्चित हुनु नपर्ने र आमा वा बाबुको नामबाट सहजै नागरिकता प्राप्त हुने प्रावधान छ। 
 
मौलिक हकमा जनताका सामाजिक न्याय, समानता र स्वतन्त्रतासम्बन्धी हकहरू व्यवस्थित छन्। महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू र मुस्लिम समुदायका हकहितका लागि आयोगहरू गठन हुने व्यवस्था छ।'
 
दलहरूले राजनीतिक स्थायित्व, सुशासन र समृद्धिको दिशामा राज्य निर्देशित भएको, राष्ट्रिय सुरक्षा र नेपाली जनताको एकतालाई महत्व दिइएको, स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरिएको, संघीयताको सिद्धान्त र मान्यताअनुरूप जनताको जीवन सुखी र सम्पन्न बनाउन संघ, प्रदेश र स्थानीय तहका बीच अधिकारको व्यवस्थित रूपमा बाँडफाँट गर्दै सहयोगात्मक र समन्वयात्मक संघीयता अंगीकार गरिएको जस्ता विशेषताहरू नयाँ संविधानमा भएको उल्लेख गरेका छन्।
 
उनीहरूले संविधानसभामा लामो बहस र छलफलपछि सबैले गौरव गर्न सक्ने लोकतान्त्रिक संविधान बनेको दाबी पनि गरेका छन्।यसैबीच प्रमुख तीन दलले संविधान घोषणाको भोलिपल्ट सोमबार दिउँसो एक बजे काठमाडौंको टुँडिखेलमा सयुक्त सभा गर्ने भएका छन्।

क्रोएशियाबाट आप्रवासीहरु हंगेरीतर्फ

क्रोएशियाले आफ्नो देशमा रहेका आप्रवासी तथा शरणार्थीहरुलाई हंगेरीतर्फ पठाउन आरम्भ गरेको छ।
ती मानिसहरु रहेका बसहरुको पहिलो खेप सिमा क्षेत्रमा पुगेको छ भने तिनीहरुलाई हंगेरीयालीहरुले ठूलो प्रहरी तथा सैनिक उपस्थितिमा नयां बसहरुमा हालेर लगिरहेका छन्।
यसअघि क्रोएशियाले स्थिति आफ्नो नियन्त्रणभन्दा बाहिर पुगेकोले त्यस्तो कदम चाल्नु परेको बताएको थियो।
क्रोएशियाका प्रधानमन्त्री जोरान मिलानोभिचले आफ्नो देश आप्रवासीहरु थुप्रने स्थान हुन नसक्ने भन्दै त्यहां ओइरो लागेकाहरुलाई अगाडि बढ्न सघाउने बताए।
त्यहांबाट तिनीहरुलाई हंगेरीयालीले आफूहरुको बसमा चढाएर लगेका छन् तर तिनीहरुको आगामी गन्तव्य कता हुने हो त्यो स्पष्ट छैन।आप्रवासीहरु सवार कम्तीमा २० वटा बसहरु हंगेरीको सिमानामा लगिएको छ।
विवरणहरुका अनुसार क्रोएशियाबाट आएका आप्रवासीहरुलाई हंगेरी प्रवेश दिंदा त्यहां ठूलो संख्यामा सैनिक उपस्थिति थियो।
हंगेरीका प्रधानमन्त्री भिक्तोर ओर्बानले आफ्नो देशले क्रोएशियासंगको सिमानामा पनि धारिलो तारबार बनाउन शुरु गरेको यसअघि बताएका थिए।
उनले भने, "क्रोएशियाले आफ्नो असल र कमलो मन देखाएको छ, तर अब हामीले हाम्रा छिमेकी र युरोपेली संघलाई हामीसँग सोच्न सक्ने दिमाग पनि भएको देखाउनु छ। वर्तमान संकटको अवस्था हामीलाई हाम्रो चासो र सुरक्षाको हितमा के छ भनेर राम्ररी थहा छ।"
यो हप्ता केहL अघि हंगेरीले सर्वियासंगको सिमानामा तारबार लगाएपछि सर्वियाले आप्रवासीहरु क्रोएशियातर्फ पठाउन वाध्य भएको बताएको थियो।
गत दुई दिनमा उत्तरी युरोप जान खोज्ने झण्डै तेह्र हजार आप्रवासीहरु क्रोएशिया प्रवेश गरेपछि सो देशले सर्वियासंगको आफ्नो आठवटा मध्ये सातवटा सिमानाकालाई बन्द गरिदिएको छ।

क्रोएशियाको अर्को छिमेकी राष्ट्र स्लोभेनियाले सो देशले युरोपेली संघको नियमहरु उल्लंघन गरेको आरोप लगाएको छ।
युरोपेली संघको नियम अनुसार शरणार्थीहरुले आफू प्रवेश गरेको पहिलो देशमा शरणाका लागि निवेदन दिनुपर्छ।
तर थुप्रै आप्रवासीहरुले हंगेरी, क्रोएशिया र स्लोभेनिया जस्ता साना र तुलनात्मक रुपमा गरीब इयु राष्ट्रहरुमा शरणा नखोजेर जर्मनी र अष्ट्रियातर्फ जाने चाहना देखाउने गरेका छन्।
बाल्कन्स राज्यहरु भएर उत्तरतर्फ अघि बढिरहेका आप्रवासीहरुको ठूलो संख्याले युरोपेली संघमा संकट सिर्जना गरिदिएको छ।
ती मध्ये धेरै सिरिया, इराक र अफगानिस्तानमा जारी द्वन्ध बाट भागेकाहरु छन्।

सऊदी एम्बेसी बाहिर बिरोध रयाली

 काठमाडौं, असोज ३, भारतको नयाँदिल्ली स्थित साउदी दूतावासका कर्मचारीले  दुई नेपाली महिलालाई तीन महिनादेखि याैन शाेषण गरेका कुरालाइ  लिएर भारतीय महिला पार्टी ले सऊदी एम्बेसी बाहिर बिरोध रयाली  प्रदर्शन गरेका छन| उनिहरुले दोषी लाइ भारत फर्काई सजाय दिन माग गरेका छन | सऊदी एम्बस्सीले सो आऱोप गलत भएको बयान दिएका छन |

भारतको नयाँदिल्लीस्थित साउदी दूतावासका कर्मचारीले यी दुई महिलालाई तीन महिनादेखि याैन शाेषण गरेका थिए । उनीहरुले आफ्नो सामूहिक बलात्कार भएको बयान दिएका थिए । दार्जिलिङ घर भएकी एक नेपाली भाषी युवतीले यी दुई महिलाको उद्धारमा मद्दत गरेकी थिइन् । उनीहरूलाई एक साताअघिमात्र दिल्लीबाट उद्धार गरी नेपाल ल्याइएको हो ।


Friday, September 18, 2015

भारतको सबै सुझाव मान्नुपर्छ भन्ने छैनः मन्त्री सिंह|

काठमाडौं, असोज २ । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिहंले त्याग र निष्ठाको राजनीति गर्नुहुने विर गणेशमान सिहंको जतिनै चर्चा गरे पनि कमि हुने बताएका छन ।गणेशमान सिहंको १८ औं स्मृती दिवसका अवसरमा सोभा भगवतीमा रहेको शलिकमा माल्यार्पण कार्यक्रममा उनले गणेशमान युगौंसम्म अमर रहने बताए । उनले संविधान जारी
हुने दिन नजिकिदै गइरहेका बेला भारतले दिएको सुझाब सबै मान्नु नपर्ने समेत बताए ।मुलुकको अनुकुलता हेरी ठिक–बेठिक छुट्याएर अघि बढ्ने र भारतले दिएको सबै सुझाब मान्नु नपर्ने उनको जिकीर थियो । गणेशमान सिहं फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उनले नयाँ संविधान जारी हुने समयमा देशभर दिपावली गर्न समेत सुझाव दिए ।

मधेसीलाई समेट्न मोदीको आग्रह

काठमाडौं: संविधान जारी हुन ४८ घन्टामात्र बाँकी रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसपूर्व नै आन्दोलरत ‘मधेसी’ को समस्यामाथि कुनै न कुनै रूपमा सम्बोधन गर्न राष्ट्रपति, प्रधानमन्त्रीलगायत प्रमुख नेताहरूसँग आग्रह गरेका छन्।
 
विशेष दूत एवं भारतीय विदेश सचिव एस जयशंकरमार्फत शुक्रबार पठाइएको सन्देशमा ४० जनाको ज्यान जाने गरी मधेसमा भएको आन्दोलनको बेवास्ता गरी संविधान जारी गर्दा त्यसले स्थायित्व सुनिश्चित नहुने र त्यो अशान्तिको असर भारतमा पनि पर्ने भन्दै मोदीले चासो व्यक्त गरेका हुन्।
 
राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, फोरम लोकतान्त्रिक नेता विजय गच्छदारसँग अलगअलग तथा मधेसी मोर्चाका नेताहरूसँग समूहगत भेटघाटमा जयशंकरले भारतको चासोबारे अवगत गराउँदै नेपालको परिस्थितिबारे नेताहरूको धारणा बुझेका थिए। (ओली र जयशंकरबीच बालकोटमा के कुरा भयो ?)

प्रधानमन्त्री कोइरालाले अन्तिम समयसम्म सहमतिका लागि सम्भव भएजति प्रयास गर्ने र त्यो हुन नसके संविधान जारीपछि पनि आन्दोलनकारी शक्तिका उचित मागलाई सम्बोधन गर्ने जयशंकरलाई बताए। तर संविधानसभाबाट पारित विधेयकमा सबै सदस्यहरूले हस्ताक्षर गरिसकेको अवस्थामा प्राविधिक तथा संवैधानिक रूपमा आइतबारपूर्व संविधानमा कुनै थपघट हुने सम्भावना नरहेको विज्ञहरू बताउँछन्।


 
भारतीय विदेश सचिवसमक्ष राष्ट्रपति रामवरण यादवले संविधान जारी गर्नुपूर्व सबै आन्दोलनरत पक्षसँग वार्ता गर्न आफूले पटकपटक सुझाव दिएको तर आफू त्यसमा सफल नभए पनि संविधानसभाको दुई तिहाइ बहुमतले संविधान पारित गरिसकेपछि हस्ताक्षर गर्नुबाहेक आफूसँग कुनै विकल्प नरहेको बताएका थिए।
 
एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष दाहालले भने संविधान प्रक्रियागत ढंग र ९० प्रतिशतभन्दा बढी सदस्यको सक्रिय समर्थनमा आएकाले त्यसमा कुनै किसिमले प्रश्न नउठाउन भारतीय विदेश सचिवसँग आग्रह गरेका थिए। मधेसीहरूलाई समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न जयशंकरले राखेको सुझावमा ओलीले कटाक्ष गर्दै भने, 'भारतजस्तो प्रजातान्त्रिक मुलुकले त्यो उदाहरण प्रस्तुत गर्‍यो भने हामीलाई अनुसरण गर्न सहज हुनेछ।'
 
त्यस्तै एमाओवादी अध्यक्ष दाहालले भारतले तराईको मात्र शान्ति र प्रगतिभन्दा समग्र नेपालकै शान्ति र प्रगतिबारे कुरा गर्नु एउटा असल मित्रका नाताले बढी श्रेयस्कर हुने जयशंकरसँग बताए।
 
मोर्चाका नेताहरूले आफूलाई बाइपासगरी संविधान जारी गरिएकामा निर्णायक आन्दोलन गर्ने र त्यसमा भारतको सहयोग अपेक्षित रहेको बताएपछि जयशंकरले शनिबार फर्केपछि प्रधानमन्त्री मोदीलाई यसबारे जानकारी गराउने बताए।


Thursday, September 17, 2015

पत्रकार डेकेन्द्र थापाको मुद्दामा पुनरावेदन अदालत सुर्खेतले जिल्ला अदालत दैलेखको फैसलालाई सदर गरेको छ ।

१ असोज, सुर्खेत । एघार वर्षअघि माओवादीबाट हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्र थापाको मुद्दामा पुनरावेदन अदालत सुर्खेतले जिल्ला अदालत दैलेखको फैसलालाई सदर गरेको छ ।यसअघि जिल्ला अदालत दैलेखले अभियुक्तहरुलाई अधिकतम दुई वर्षसम्म कैद सजाय सुनाउने फैसलालाई नै पुनरावेदन अदालतले सदर गरिदिएको छ ।
दुवैपक्षले पुनरावेदन गरेको यो मुद्दामा सुनुवाई गर्दै न्यायाधीशद्वय रमेशराज भण्डारी र राजेन्द्र पोखरेलको संयुक्त इजलासले यसअघि जिल्ला अदालत दैलेखले गरको फैसलालाई सदर गरेको हो ।
गएको वर्ष मंसिर २१ गते जिल्ला अदालत दैलेखले डेकेन्द्रको हत्यामा संलग्न रहेको ठहर गर्दै पाँच जना माओवादी कार्यकर्तालाई कैद सजाय सुनाएको थियो ।जिल्ला अदालतको फैसलामा अभियुक्तहरु हरिलाल पुन, निरकबहादुर घर्ती र जयबहादुर शाहीलाई दुई–दुई वर्ष कैद सजाय तोकिएको थियो ।
यस्तै माओवादी कार्यकर्ताहरु लक्षिराम घर्तीलाई एक वर्ष ६ महिना र वीरबहादुर केसीलाई एक वर्षको कैद सजाय हुने जिल्ला अदालतले फैसला गरेको थियो । सोही फैसलालाई पुनरावेदन अदालतले समेत सदर गरेको छ । उनीहरु सबैलाई सर्वश्वसहित जन्मकैदको माग गरिएको थियो ।


Wednesday, September 16, 2015

८ दशमलव ३ म्याग्नेच्युडको भूकम्पका

सान्टियागो, भदौ ३१ । दक्षिण अमेरिकी देश चिलीमा ठूलो भूकम्प गएको छ । ८ दशमलव ३ म्याग्नेच्युडको भूकम्पका कारण राजधानी सान्टियागोमा भवनहरुमा क्षति पुगेको छ ।सान्टियागोदेखि करिब २ सय ४६ किलोमिटर उत्तर–पश्चिमको तटीय क्षेत्रमा भूकम्प गएकाले सुनामी आउने चेतावनी दिइएको छ । प्यासेफिक सुनामी वार्निङ सेन्टरले सूनामीको
चेतावनी दिएको हो ।अहिलेसम्म मानवीय क्षतिको खबर आएको छैन । भूकम्पको केन्द्र पृथ्वीको सतहदेखि पाँच किलोमिटरमात्र तल रहेको बताइएको छ ।अमेरिकी अधिकारीहरुका अनुसार बुधबार स्थानीय समय अनुसार साँझ ७ः५४ मा भूकम्प गएको हो