Taja Samachar Nepal

Taja Samachar Nepal
News

Tuesday, September 15, 2015

भतिजी पर्ने खोटाङकी एक युवतीसँंग शारीरिक सम्पर्क भएपछि हत्या

काठमाडौं: नाताले भतिजी पर्ने खोटाङकी एक युवतीसँंग शारीरिक सम्पर्क भएपछि जन्मिएको बच्चा मारेको अभियोगमा प्रहरीले कोटेश्वर बस्ने हीराधन राईलाई पक्राउ गरेको छ। 
 
खोटाङबाट पढ्न आएकी ती युवती र राई एउटै कोठामा बस्दै आएका थिए। उनीहरूबीच कोठामा सँगै बसेपछि शारीरिक सम्पर्कसमेत भयो। गर्भवती युवतीलाई छाडेर राई वैदेशिक रोजगारका लागि कतार गए।
 
युवतीले बच्चा जन्म दिइन्। दुई वर्षको छोरालाई पालनपोषण गर्दै आएकी ती युवती काममा जान्थिन्। आइतबार पनि बच्चा राईको जिम्मा लगाएर युवती काममा गईन्। साँझ घर फर्कंदा छोरा घाइते अवस्थामा देखेर राईलाई सोध्दा सुटकेसबाट लडेर घाइते भएको जबाफ दिए। उपचारका लागि दुईवर्षे बालकलाई मीनभवनस्थित सिभिल अस्पताल लगिए पनि सिभिलले वीर अस्पतालमा उपचारका लागि रिफर गर्‍यो। 
 
उपचारकै क्रममा बालकको मृत्यु भयो। युवतीले बालकको अस्वभाविक मृत्यु नभएर हत्या भएको किटानी जाहेरी दिइन्।महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डीएसपी दानबहादुर कार्कीका अनुसार अनुसन्धानका क्रममा बालकको सुटकेसबाट खसेर घाइते नभएर राईले कुटपिट गरेको पत्ता लाग्यो। 
 
'बालकको मृत्यु हुनेबित्तिकै फरार राई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याउँदा त्यहाँ आएका उनलाई पक्राउ गरियो', डीएसपी कार्कीले भने। राईले बच्चालाई कुटपिट गरेको स्वीकार गरे। राईविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको जानकारी कार्कीले दिए।



शिवको आराधनासहित हिन्दु नारीहरुले महान चाड तीज आज

काठमाडौं, भदौ ३० । बुधबार ब्रत बसेर भगवान शिवको आराधनासहित हिन्दु नारीहरुले महान चाड तीज मनाइरहेका छन् ।
सखीहरुद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास ब्रतलाई हरितालिका तीज भनिएको हिन्दू धर्ममा पाइन्छ ।हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि
श्री महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरुले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले महादेव स्वामी पाऊँ भनी निर्जल ब्रत बसेको हुनाले यसलाई हरितालिका ब्रत भन्ने गरिएको पुराणमा वर्णन गरिएको छ ।हिन्दू नारीहरुको महान् धार्मिक पर्वका रुपमा लिइने हरितालिका ब्रतमा पतिको लामो आयुको कामना गरी निराहार बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरुप दीप, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर ब्रत तोड्ने परम्परा छ ।परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दू नारीहरु निराहार र निर्जल बसी यस दिन भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको ब्रत बस्ने गर्दछन् ।भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।
                 दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने ब्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रुपमा मीठामीठा परिकार खाने चलन छ ।तीजको दर खान विशेष गरी माइतीले छोरी–चेलीलाई बोलाउने र विवाहित महिलाले आफ्नो अटल सौभाग्यका लागि छोरीचेलीलाई चुरापोते प्रदान गर्नेजस्ता चलन पनि यस पर्वमा गरिन्छ । यस चाडलाई नारी स्वतन्त्रताको प्रतीकका रुपमा पनि लिने गरिन्छ ।सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको काठमाडौंको पशुपति, दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका शिव मन्दिरहरुमा बिहानैदेखि घुँइचो लागेको छ ।शिवको आराधनासहित महिलाहरुले तीज गीतको भाकामा आफ्ना वर्र्षभरिका पीडा पोख्दै गीत गाउने र नाच्ने गर्दछन् । यस अवसरमा सरकारले महिलाका लागि बिदा पनि दिने गरेको छ ।

Sunday, September 13, 2015

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव


काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको बेला त्यस्तो दाबीलाई बल पुग्ने गरी केही दिनअघि वीरगञ्जमा एक डरलाग्दो घटना भएको रहस्य खुलेको छ । 
घटना भदौ १९ गतेको हो । जुन दिन समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई आन्दोलनकारीहरुले पानीमा डूबाउन र चित्तामा जलाउन खोजेपछि बबण्डर भएको  थियो । लाशमाथि राजनीति गर्ने उद्देश्यका साथ पुगेका अध्यक्ष यादवलाई उनका कार्यकर्ताले बालबाल बचाएर त्यहाँबाट भगाएका थिए । यदि फोरमका कार्यकर्ता त्यहाँ थिएन भने सो दिन उपेन्द्रको समेत ज्यान जानसक्ने दृश्य देखिएको थियो । 
सो दिन प्रहरीको गोलीबाट वीरगञ्जमा मारिएकाहरुको शवयात्रा आयोजना गरिएको थियो । नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको शव वीरगञ्ज २२ विन्दबासिनीको तिलावे पुलमा दाहसंस्कार गर्ने कार्यक्रम तय भएको थियो । हजारौ स्थानीयका बीच बिहान १० बजे अस्पताल क्षेत्रबाट सुरु गरिएको शवयात्रा राति साढे ७ बजे मात्र तिलावे पुलको घाटामा पुर्याइएको थियो । 
शवयात्रा अस्पताल क्षेत्रबाट घाटसम्म पुग्नलाई त्यति धेरै ढिलो हुनुको पछाडि संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको डिजाइन रहेको थियो । प्रदीप यादवले आफ्ना पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई बोलाएर भाषण गरी त्यहाँ राजनीति गर्न खोजेका थिए । उपेन्द्र पूर्वको जिल्लामा पार्टी कार्यक्रममा व्यस्त थिए । तर जव शवयात्रामा हजारौ मानिसहरु सहभागी हुने खबर पाए सोही मासलाई क्यास गर्न साँझसम्म भएपनि वीरगञ्ज आउने कार्यक्रम तय भयो र आन्दोलनको जस लिन उपेन्द्र वीरगञ्ज पुगेर सोझै घाट पुगे । उपेन्द्र पुगे लगत्तै पूर्व डिजाइन अनुसार दाहसंस्कार सुरु भयो । 
शवयात्रामा सहभागी धेरैलाई उपेन्द्र आउने कुरा थाहा थिएन, न त यादवको मोर्चा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा सहभागी अन्य पार्टीका नेताहरुलाई नै । लाश जल्न थालेपछि उपेन्द्र तत्काल बनाईएको स्टेजमा चढे र माईक लिएर भाषण गर्न थाले । त्यत्तिकैमा आक्रोशित प्रदर्शनकारील्े लासको राजनीति गर्ने ? घाटमा पनि भाषण गर्ने ? त गद्दार होस् भन्दै उपेन्द्रको माईक खोसे । कसैले उपेन्द्रलाई पानीमा डुबाएर मारिदिऊ भन्दै तान्न थाले भने कसैले जलिरहेको चितामै हालेर उपेन्द्रलाई पनि जलाउनुपर्ने भन्दै अर्कोतर्फबाट तान्न थाले । शवयात्रामा सहभागी मधेशी जनता एकैपटक आफूविरुद्ध खनिएपछि उपेन्द्र यादव निकै धेरै डराएका प्रत्यक्षदर्शीले बताए । त्यसपछि आफूमाथि अप्रिय घटना हुनसक्ने र आन्दोलनमा घूसपैठ भएको ठानेका उपेन्द्रले तत्काल आफ्ना कार्यकर्तालाई भीडबाट निकाल्न आग्रह गरे । निकै अत्तालिएका आफ्ना अध्यक्षलाई फोरमका कार्यकर्ताले घेरा हालेर बल्लतल्ल त्यहाँबाट निकाले र उपेन्द्र त्यहाँ थप सम्बोधन नै नगरी वीरगञ्जमा गएर सुरक्षित स्थानमा बसे । फोरम निकट स्रोतका अनुसार वीरगञ्ज पुगेर उपेन्द्रले आफ्ना स्थानीय नेता तथा कार्यकर्तालाई आफूमाथि नै ज्यान नै लिनसक्ने प्रयास कसरी भयो ? भनेर सातो लिएका थिए । कार्यकर्ताले आन्दोलन नियन्त्रणभन्दा बाहिर गएको र अपरिचितहरुको बाहुल्यता बढेको भन्दै आन्दोलनको क्रममा जस्तोसुकै अप्रिय घटना हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । 
सो घटनापछि प्रदीप यादव समेत आन्दोलनमा सक्रिय छैनन् । वीरगञ्जमा आन्दोलनको कमाण्ड गरेका उनले प्रदर्शन नै नियन्त्रणबाहिर गएको र त्यसको जस आफूले लिन नसक्ने भन्ने लागेपछि अहिले निकै निस्क्रिय अवस्थामा रहेका स्रोतको भनाई छ । बल्लतल्ल उपेन्द्रले ज्यान जोगाए पनि सो घटनाबाट मधेशको आन्दोलन कसरी अगाडि बढिरहेको छ र कुन रुपमा अनियन्त्रित बनिरहेको छ भन्ने कुरा यो घटनाले प्रष्ट पार्ने विश्लेषकहरुको भनाई छ । 

Saturday, September 12, 2015

दमौलीमा आइतबार पनि बिहानैदेखि प्रदर्शन

दमौली, भदौ २७ । तनहुँको दमौलीमा आइतबार पनि बिहानैदेखि प्रदर्शन भएको छ । प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको बिरोधमा स्थानीय प्रदर्शनमा उत्रिएका हुन् ।
मानुका पूर्णबहादुर आलेको मृत्युको बिषयमा प्रहरीले छानविन नगरेको भन्दै शुक्रबार गरिएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर व्यास नगरपालिका–१ का रोशन दुराको मृत्यु भएपछि आइतबार बिहानैबाट प्रदर्शन थालिएको हो ।
प्रदर्शनकारीले दमौली बजारमा राजमार्ग अवरुद्ध गरी प्रहरीबिरुद्ध नाराबाजी गरेका हुन् । प्रदर्शनको कारण जिल्लामा यातायात र शैक्षिकसंस्था ठप्प बनेको छ ।
गत सोमबार आदिकवि भानुभक्त क्याम्पस प्रांगणमा झुण्डिएको अवस्थामा मृत भेटिएका पूर्णबहादुर आलेको मृत्यु प्रकरणमा पुनः पोष्टमार्टम र निष्पक्ष अनुसन्धानको माग गर्दै दमौलीमा प्रदर्शन हुँदै आएको छ ।बन्दका कारण पोखराबाट आएका सवारी साधन थर्पुमा र काठमाडौंबाट गएका सवारी साधन डुम्रेमा रोकिएका छन् ।शनिबार दिनभर रोकिएका गाडी प्रहरीले राती ८ बजेमात्र संचालनमा ल्याएको थियो ।
यसैबीच, गत बुधबार प्रहरीले प्रहार गरेको अश्रुग्यास लागेर गम्भीर घाइते भएकी व्यास २ दमौलीकी ७८ वर्षीया सुनिमाया श्रेष्ठको पनि गए राति मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

Friday, September 11, 2015

जनकपुरमा प्रहरीको गोली लागी तीनजनाको मृत्यु..!!(वीडियो सहित )

      जनकपुर, भदौ २५ । जनकपुरमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीचको झडपका क्रममा शुक्रबार प्रहरी चलाएको गोली लागी तीनजनाको मृत्यु भएको छ ।जनकपुरको मिल्स एरियामा भएको झडपमा प्रहरीको गोली मृत्यु हुनेहरुमा जनकपुर जमुनियाँका १६ वर्षीय निक्कु यादव र महेन्द्रनगरका सञ्जय चौधरी रहेका छन्यस्तै, पिरारी चोकमा प्रहरीको गोली लागेर सिमरजोडाका १३ वर्षीय किशोर दिलिप यादवको मृत्यु भएको छ । गोली लागी घाइते भएका पाँचजनालाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

      प्रदर्शन नियन्त्रण गर्न प्रहरीले एक सय राउन्डभन्दा बढी अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायरसमेत गरेको थियो
यसैबीच, धनुषा जिल्ला सुरक्षा समितिको बैठकले जनकपुरलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । प्रदर्शन हिंसात्मक बनेपछि सुरक्षा समितिले सेना परिचालन गर्ने तयारी पनि गरेको छ ।
      यसअघि, प्रदर्शनकारीले धनुषाधाम नगरपालिकास्थित प्रहरी बिटमा आगजनी गरेका थिए । गाउँ–गाउँबाट लाठीसहित आएका प्रदर्शनकारीले जनकपुरमा भेला भइ प्रदर्शन गरेका हुन् ।आन्दोलनका कारण सुरक्षा अवस्था कमजोर बन्दै गएपछि जनकपुरमा शुक्रबार बिहान ६ बजेदेखि कर्फ्यु लगाइएको छ । आन्दोलनकारीले भने कर्फ्यु उल्लंघन गरेरै प्रदर्शन गरेका हुन् ।



तनहुँमा प्रहरीले गोली चलाउदा एकको मृत्यु : नौ घाइते

तनहुँ, २६ भदौ / पूर्णबहादुर आलेको मृत्युको अनुसन्धान गर्न माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच शुक्रबार साँझ यहाँ झडप हुँदा एक जनाको मृत्यु भएको छ । उक्त घटनामा परी नौ प्रहरी र तीन आन्दोलनकारी गरी १२ जना घाइते भएका छन् ।प्रहरीको गोली लागी व्यासनगरपालिका वडा नं १ भादगाउँ निवासी १८ वर्षीय रोशन दुराको मृत्यु भएको हो । गोली लागी सख्त घाइते भएका दुराको पोखरास्थित मणिपाल अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।
दुईपक्षीय भिडन्तमा परी प्रहरी नायब निरीक्षक राजेन्द्रप्रसाद वाग्ले, प्रहरी सहायक निरीक्षक मानबहादुर थापा, रमेश खरेल र कृष्ण परियार, प्रहरी हवल्दार सुशील भण्डारी, हरिबहादुर कुमाल र प्रहरी जवानतर्फ चन्द्रबहादुर प्रजा, सुनिल गुरुङ र सन्तबहादुर कुँवर घाइते भएका छन् ।त्यसैगरी आन्दोलनकारीतर्फ व्यासनगरपालिका– ११ निवासी किरण गुरुङ सख्त घाइते भएकाले उपचारका लागि पोखरा पठाएको छ भने एक शिशुको उपचारपछि घर फर्काएको छ । आन्दोलनकारीलाई शव बुझेर परीक्षण गर्न आग्रह गरेका छौँ प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भन्नुभयो– “भीडलाई उत्तेजित नगर्न र शान्त वातावरण सिर्जना गर्न सुरक्षा निकायबीच छलफल भइरहेको छ ।”उहाँले भन्नुभयो–“आज बिहानैदेखि सर्वपक्षीय छलफल भइरहेको छ पीडितको मागप्रति प्रहरी प्रशासन संवेदनशील रहेकाले आन्दोलनको नाउँमा उग्र रुप नलिनसमेत आग्रह गरिएको छ ।
व्यासनगरपालिका वडा नं ७ मानुड घर भई हाल व्यास– १ मा दिदीसँग बसेर दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय आलेको गत आइतबार मृत अवस्थामा भेटिएपछि हत्या गरिएको भन्दै ६ दिनदेखि निरन्तर रुपमा आन्दोलन गर्दै आएका छन् ।
आलेको हत्याको आरोपमा प्रहरीले दुई युवती र एक युवकलाई अनुसन्धानका लागि पक्राउ गरिसकेको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रेमशङ्कर चौधरीले बताउनुभयो । शङ्कास्पद अवस्थामा मृत भेटिएका आलेको विषयलाई लिएर चर्किएको आन्दोलनका क्रममा शुक्रबार दमौलीस्थित सेतीमादी दैनिकको कार्यालयमा भएको ढुङ्गा प्रहारबाट कार्यालयका झ्यालका सिसाहरु फुटेको छ ।


कैलालीका विद्यालयहरु दुई महिना देखि बन्द,कसले सुन्ने पिडा ?(भिडियोसहित)


कैलाली, भदौ २६ । एक महिना यताको बन्द, प्रदर्शन र कर्फ्युको कारण कैलालीको टीकापुर लगायत आसपासाका गाविसका बिद्यार्थीको पठनपाठन चौपट बनेको छ ।
अभिभावकले पटक पटक बन्दकर्ता र स्थानिय प्रशासनसंग बिद्यालय खुलाउन आग्रह गर्दा समेत दुबै पक्षबाट सुनुवाई भएको छैन ।
साउनको पहिलो साताबाट वर्षे विदा दिएका कैलालीका विद्यालयहरु झण्डै दुई महिना पुग्न लाग्दा समेत खुल्न सकेका छैनन् ।
सदरमुकाम धनगढीमा कर्फ्युको समय घटाएसंगै बन्द बिद्यालय खुलेका त छन् तर डरका कारण बिद्यालयमा बिद्यार्थीको उपस्थिती ज्यादै न्यून रहेको छ ।
अभिभावक पनि छोराछोरीलाई बिद्यालयसम्म पठाउन डराउछन् । जिल्लामा सद्भाव कायम गरी बन्द बिद्यालय संचालनमा ल्याउन अभिभावको आग्रह छ ।(भिडियो रिपोर्ट)